चार हजार २९६ मत खस्यो, मतदान गर्ने समय राति १०.३० बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय दोस्रो पटक थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म थप गरिएकोमा उक्त समयलाई बढाएर १०.३० बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । राति ९ बजेसम्म चार हजार २९६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
चार हजार २९६ मत खस्यो
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा चार हजार २९६ मत खसेको छ । कांग्रेसको ११.४५ बजेदेखि सुरु भएको मतदानमा अहिले राति ९ बजेसम्म चार हजार २९६ मत खसेको हो ।

जम्मा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार ३८२ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ९१४ मत खसेको हो । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

प्रतिक्रिया