कांग्रेस १४औँ महाधिवेशनः मतदान गर्ने समय चार घण्टा थप

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा दुई हजार ८०९ मत खसेको छ । कांग्रेसको मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ः४५ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया