धरानमा फागुन ५ मा ‘गोर्खा वारियर’ प्रिमियर

काठमाडौँ। आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’को फाुगन ५ गते धरानमा प्रिमियर हुने भएको छ। गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेको संघर्ष र पीडालाई समेटिएको यो फिल्ममा मिलन चाम्सको निर्माण तथा निर्देशन छ।

निर्देशक मिलनले पूर्व ब्रिटिस र वर्तमान ब्रिटिस सैनिकको उल्लेख्य बसोबास रहेको धरानमा हुने प्रिमियरमा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व ब्रिटिस सैनिकहरु सहभागी हुने बताए। उनका अनुसार प्रिमियरमा एक दर्जन भन्दा बढी विभिन्न जातजातिको जातीय पोशाक र बाजागाजासहित ‘गोर्खा वारियर’ को ब्यानर बोकी ¥याली पछि प्रिमियर हुनेछ।

निर्देशक मिलनले धरान पछि अन्य सहरमा पनि प्रिमियर गरिने जानकारी दिए। यो फिल्मको गत भदौ २४ गते बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा अन्तर्राष्ट्रिय प्रिमियर गरिएको थियो। फिल्म ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवाडको प्रारम्भिक मनोनयनमा परिसकेको छ।

नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन भाषामा निर्माण भएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया