तिन स्रष्टाले जमाए गजल मुशायरा

काठमाडौँ। 
कोही छ जो मलाई खुब तड्पिएको हेर्छ
मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ ।

सक्दैन रोक्न आँखा जेजे देखेको हेर्छ
ऊ बुद्धको नयनमा आँधी चलेको हेर्छ ।

गजलकार रश्मि असफलले यी शेर वाचन गरिरहँदा राष्ट्रिय नाचघरको प्रेक्षालय वाहवाहमय बनेको थियो। ‘वान्स मोर’ भन्दै श्रोताहरू गजलका शेरहरूमा झुमिरहेका थिए।

रश्मिपछि आँचलकुमार शर्मा जोसिए यी शेरमार्फत-

कुवा हुन्थ्यो र जल कन्चन हुने गर्थ्यो कुनै बेला
कुवामै जूनको मापन हुने गर्थ्यो कुनै बेला ।

‘नजिक बस्ने बहानामा नआऊ जिस्किँदै’ भन्थिन्
नियम केही त उल्लङ्घन हुने गर्थ्यो कुनै बेला ।

हरेक शेरमा तालीको गडगडाहटले प्रेक्षालय गुञ्जायमान थियो। श्रोताहरूको मुग्धताबाट अर्का गजलकार उचालिए यी शेरमार्फत-

हजार बाजी जितेर आएँ प्रहार तिम्रो नकार्न सक्थेँ
झुकेर आयौ र जित्न पाएँ नजर जुधाए म हार्न सक्थेँ ।

यो शून्यता जो तिमीबिनाको म आँसुभित्रै बिताउन सक्छु
मुसुक्क हाँसी गरे बिदाई म मर्न सक्थेँ र मार्न सक्थेँ !

नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत गरेको छ।

सोही कार्यक्रममा प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिएको छ।

यसका अलावा १० जना गजलकारका १० वटा उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता भुवन निस्तेजले वाचन गरेका थिए।

यसअघि गजल मुशायरा- १ मा डा. प्रदीपकुमार मैनाली, आवाज शर्मा र शान्ति शर्मा प्रस्तुत भएका थिए भने गजल मुशायरा- २ मा राधा कणेल, अनजान यात्री र मिलनकुमार ढुङ्गानालाई प्रस्तुत गरिएको थियो।

प्रमुख अतिथि गजलकार करुण थापाले अब नेपाली गजल रदिफ, काफिया र लयभन्दा माथि उठेर भाव र शिल्प परिष्कारतर्फ बढेको भन्दै खुसी व्यक्त गरे।

‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने गर्दै आएको छ भने बहर बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षण पनि दिँदै आएको छ।

साथै, निकट भविष्यमा ‘गजल आइडल’ आयोजना गर्ने योजनासमेत बनाइरहेको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए।

आागामी १८ चैतमा दोस्रो साङ्गीतिक मुशायराको समेत आयोजना हुने जनाइएको छ।

यस कार्यक्रमका प्रायोजक रूपमा ग्लोबल आइएमई बैँक, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड, नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट तथा मिडिया पार्टनरमा युनिभर्सल टेलिभिजन र अनलाइन पार्टनर साहित्य पोस्ट छन्।  

प्रतिक्रिया