त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ। भन्सारबाट बाहिरिईसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो।

सुनसहित पक्राउ पर्नेमा इजिप्टका नागरिक सरिफ मोहमद लासिम रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डिआईजी अर्जुन चन्दले बताए।

क्लोज सर्किट (सीसी) क्यामेरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ।

उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन्। विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ।

शनिबार राति सोही विमानमा आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा पक्राउ गरिएको डिआईजी चन्दले बताए। “उनले सुनलाई अर्ध ठोस बनाएर ल्याएका थिए, अघिल्लो घटनामा जस्तै ज्याकेटभित्र राखेर उनले सुन ल्याएका थिए”, चन्दले भने।

यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो। कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो।

सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ। समितिले यी प्रकरणका आरोपीहरुको हाल बयान लिइरहेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया