द्वन्द्व पीडितलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने बताएका हुन् ।

उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको भन्दै राम्रोसँग क्षतिपूर्ति दिएर भएपनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए ।

उनले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको भन्दै व्यवसाय र मानव अधिकार, जलवायु परिवर्तन र मानव अधिकार, भ्रष्टाचार र मानव अधिकार, दिगो विकास लक्ष्य र मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्ष मगरले नेपालमा ३० प्रतिशत नागरिकमा मात्रै खोपको पहुँच पुगेको भन्दै सरकारले खोपको मात्रमा वृद्धि गर्दै सबै नागरिकको पहुँचमा पुर्याउनु पर्ने बताए ।

प्रतिक्रिया