चिसोसँगै सुरु भयो भक्काको मौसम

विराटनगर। चिसो बिहानी होस् वा साँझ तराईका चोकहरूमा मौलिक खान्की देखा पर्छ– भक्का। खासगरी राजवंशी समुदायका महिलाहरूले यो परिकार बनाएर बिक्री गरिरहेका हुन्छन्। अचेल अरू समुदायले पनि सिको गर्न थालेका छन्।

सामान्यतयाः जाडो महिना लागेसँगै तराईका गाउँ, ठाउँ र सहरहरूमा पनि देखिने यो खाजालाई स्वास्थ्यबर्द्धक मानिन्छ । अचेल अरू मौसममा पनि कतैकतै देखिन थालेको छ । चिसो मौसममा तात्तातो भक्काको स्वादका पारखी चोकहरूतिर भक्का बनाएर बेच्ने स्थानमा झुम्मिरहेका हुन्छन् । 

चिसो मौसम सुरु हुनासाथ खाजाका रुपमा भक्काले आकर्षित गर्ने गरेको पारखी विराटनगर ४ की देवी गुरागाईँ बताउँछिन् । ‘चिसो मौसममा अचारसँग तात्तातो भक्का खानुको आनन्द विशेष छ’ उनले भनिन् ।

तराईका जिल्लाहरूमा यो लोकप्रिय खाजा हो । अचले भने यो मौलिक परिकार काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरूसम्म विस्तार भइसकेको छ ।

यतिमात्र होइन, संसारका विभिन्न मुलुकमा पुगेका नेपालीहरु, अझ तराईका बासिन्दाले आयोजना गर्ने उत्सव र कार्यक्रमहरुमा पनि यसले स्थान पाउन थालिसकेको छ ।

भक्का मूलतः राजवंशी समुदायको मौलिक सांस्कृतिक खानेकुरा हो । राजवंशीहरुले प्रत्येक वर्ष झापामा यसलाई ‘भक्का दिवस’ को रुपमा मनाएर अझ परिचित गराउने गरेका छन् ।

‘कोचिला गाभुर फन्ट’ को अग्रसरतामा यो दिवस २०७४ सालदेखि मनाउन थालिएको हो । दिवस मनाउने क्रममा झापाको बिर्तामोडमा राजवंशी कला संस्कृति झल्काउन समुदायका प्रतिनिधिहरू सांस्कृतिक पहिरनका साथ भेला हुने गरेका छन् ।

मंसिर महिना लागेसँंगै घर गाउँमा नयाँ चामल भित्र्यान्छ । भक्का विभिन्न जातका चामलको पिठोबाट बनाइन्छ । वासमती चामलको बनाउँदा मगमग बासना आउने गरेको राजवंशी समुदायका सदस्य बताउँछन् ।

राजवंशी समुदायमा भक्का बनाउने चलन सुरु भएदेखि छरछिमेकीलाई निम्तो गरेर रमाइलो गर्दै खाने चलन पनि सुरु भएको हो ।

कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्व छ । जाडो मौसममा राजवंशी समुदायमा छोरी–चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने चलन छ । छोरी–चेलीलाई चिसो छल्न हप्ता–दस दिनका लागि माइत बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाएर खुसी बनाएर घर पठाउने चलन रहेको विराटनगर, कन्यामार्गकी महाबती राजबंशी बताउँछिन् ।

भक्का खाजाको रुपमा पनि, खानाको रुपमा पनि खान सकिन्छ । भक्का खाँदा कसले धेरै खान सक्छ भन्दै प्रतिस्पर्धासमेत हुने गरेको राजवंशी समुदायका अगुवा बताउँछन् ।

सजिलोसँग बुझ्नका लागि भक्का भनेको बफ्याइएको चामलको पिठोको परिकार हो । यो स्वादिष्ट मात्र होइन स्वास्थ्यबर्द्धक पनि हुन्छ । झापाका राजवंशी समुदायले छोरीको बिहेमा कोसेलीस्वरुप मिठाई पठाउने चलन छ । त्यसमा भक्काको परिकार अनिवार्यजस्तै हुन्छ । पूर्वका कतिपय स्थानमा व्यावसायिक रूपमा भक्का पसल पनि सञ्चालन हुने गरेको छ । (नेपाल न्यूज बैंक)

प्रतिक्रिया