आँपको बगैंचामा जीवन दर्शन

समयमा वर्षा भएको सालमा असारको बाइस पच्चिसतिर लघुवाको फाँटमा रोपाइँ सकिन्थ्यो । संयोगले त्यसै समयमा रिडीतिर आँप पाकेर भरेली हुन्थ्यो । अनि डोका बोकेर लघुवाको फाँटबाट थप एक लर्कन तल रिडीतिर आँप बटुल्न जान्थे जाँगर हुने खस्यौलेहरू । हामी केटाकेटीहरू पनि आफू सुहाउँदो थैलो बोकेर दगुर्थ्यौं  । लेकमा बसेर पनि बेसीकाले भन्दा धेरै आँप खान्थे खस्यौलेहरू ।  

असारको अन्तिम हप्ताको समय । म भरखरै किशोरावस्थामा प्रवेश गरेको थिएँ । हामी करिब आठ नौ जना खस्यौलीका निवासीहरू आँप बटुल्न रिडीतिर लाग्यौं । आँप खान बेसी झरेको कुरकुरे लेकाली किशोर म । त्यहाँ सबैको ध्यान आँपमा मात्र हुन्छ होला भन्ने सोच थियो मेरो । परन्तु मेरो सोचाइ अधुरो थियो । त्यहाँ आँपको बगैंचामा जीवन र जगतका कुरा सुनेर म दङ्ग परेको थिएँ । आँपका लोभीहरू सबै अनपढ हुन्छन् भनेको त कहाँ हुनु नि ! 

साँझ भर्खरै गोधुलिको समय सकिंदै थियो । वातावरण शान्त थियो । रत्तिभर बतास नचलेको हुँदा आँपका दानाहरू झर्ने नामै लिंदैनथे । रुख चढ्ने हिम्मत थिएन । कुनै कुनै रुखमा अरिङ्गालको गोलो हुने हुँदा हिम्मत हुनेले पनि नीच मार्नुबाहेक अर्को उपाय थिएन । हामी कहिले रात छिप्पिएला र हावा चलेर आँप झार्ला भनेर प्रतीक्षा गरिरहेका थियौं ।

त्यहाँ एकजना ब्राह्मण सबैको चाखका केन्द्र बनिरहेका थिए । वनारसबाट आचार्य पास गरेका रे । पूर्वीय दर्शन र वेदान्तमा पारङ्गत रे । उनी कहिले कुनै किस्सा भन्थे र आफै हाँस्थे । कहिले अर्को किस्सा भन्थे र बररर आँसु झार्थे । ‘लौ तपाईं त रुन पो थाल्नुभयो त बाजे !’  एउटा मगर किशोर करुणाशील हुँदै बोल्दथ्यो । पण्डितजीले थोरै टाउको उठाउँथे र फेरि गाउँथे,

‘कौन रोता है किसी और कि ख़ातिर ऐ दोस्त
सबको अपनी ही किसी बात पे रोना आया
कभी ख़ुद पे कभी हालात पे रोना ।।  

गीत गाउँदा गाउँदै भावुक भए उनी । 
पढ्दापढ्दैको समयमा बाबुले विवाह गरिदिए । पढेर घर फर्केपछि नोकरी खोज्न काठमाडौंतिर जाने विचार नभएको होइन । किन्तु प्यारीको मायाले आज आज भोलि भोलि गर्दागर्दै यौवन घर्केर गयो । परिहास गर्न सिपालु मगर युवकले भने, ‘बाजेको दर्शनशास्त्र मल सोहोर्ने, बन्चरो चलाउने, गाई गोरु स्याहार्ने र कान्ला खुर्केने काममा खुबै उपयोग भएछ ।’ 

अहिले महसुस हुन्छ, पण्डितजी कति ठीक थिए । स्वान्त सुखायको सानो संसार । घर,गोठ, खेत, बारी र वनको शान्त जगत थियो त्यो । गाउँ, बेसी र इष्टमित्रको सान्निध्यको जिन्दगी । वृद्ध आमाबाबु, समाज र  राष्ट्रको दायित्व पूरा गरेर गए उनी । कसैको एक सुको नखाइकन अभिमानहीन स्वाभिमानमा बाँचेको जिन्दगी । उनको मन झरिलो थियो । 

पढेलेखेका मान्छे भएर पनि गाउँ  छाडेनन्, ठिकै गरे । खेतीपाती र पशुपालन गरेर बसे, बहुतै ठीक गरे । वृद्ध बाबुआमालाई छाडेर कतै गएनन, साह्रै सराहनीय काम गरे । परन्तु ती सबै गतिविधिबिच पनि आफ्नो प्रतिभालाई  प्रस्फुटन गराउन सकिन्थ्यो । विदेशमा पढेर आर्जन गरेको  प्रतिभाको आभा न उनको जन्मस्थलले देख्न पायो न त देशले । केले छेक्यो उनलाई ? सायद त्यो छेकबार उनले गाएको गीतको  ‘किसी बात’ भित्र लुकेर बसेको थियो । के होला त्यो ‘किसी बात’ ? 

मगर युवकले प्रश्न गरे, ‘बाजे ? दु:ख के हो ?’ वनारसीले भने, ‘दु:ख सुख खोज्न जाँदा  चढ्ने भर्‍याङ हो । दु:खी मानिस हृषिकेशव मन्दिरको भर्‍याङ चढ्दै जान्छ र भगवानसँग सुख माग्छ । चाहे यस संसारको होस या परलोकको । सन्तान सुख, सुस्वास्थ्य र धनको सुख माग्छ मान्छे । भगवानकहाँ माग्न जाँदाअलिकता गम्भीर, निन्याउरो र टिठलाग्दो अभिनय गर्छ मान्छे । मानौं, भगवान झुक्याएर फाइदा उठाउन सकिने लाटो पात्र हो ।’ 

एकजना अधबैंसे नारीले प्रश्न गरिन्, ‘त्यसो भए सुख के हो त गुरु ?’ गुरुले थोरै टाउको उठाएर भने, ‘तपाईं नै  भन्नुस् न सुख के हो ?’  नारी सोझी र निमुखा प्रतीत हुन्थिन् । उनी केहीबेर सोचमग्न भइन् । फेरि तल सुसाइरहेकी कालीगण्डकीतिर हेर्दै बोलिन्, ‘मेरो विचारमा त सुख एक पिँध नभएको लोटा हो, कहिल्यै नभरिने । यस जगतमा मानिसलाई सुख दिन गाह्रो छ । ईश्वर पनि थाक्छ ।’ 

अँध्यारो बाक्लो हुँदै थियो । कुन सिरफिरे केटाले आँप झार्ने इरादाले अग्लो हाँगामा ढुङ्गा प्रहार गरेछ । अरिङ्गाल एकाएक  खनिएर आयो । मान्छेहरूको भागाभाग भयो । हेर्दाहेर्दै पण्डितजीको नाक सुन्निएर लौका जत्रो भयो । उनले कान समाते ।  कालीतिर हेर्दै किरिया खाए, ‘अब रातीराती आँपको गेडाका खातिर दगुर्दै बेसी झर्ने छैन ।’ तर अर्को साल फेरि मनले मानेन रे । कसैले सोध्यो रे, ‘के भयो प्रतिज्ञा ?’  उनले भनेका थिए रे,  ‘मन मान्दैन । यी खुट्टा आफै अघि बढे । लपलपे जिब्रो चञ्चल भयो ।  आफ्नै बारीमा ऋतु अनुकूलका फलहरू नभएको कहाँ हो र ? परन्तु मनुष्य आफूसँग जे छ, त्यसमा सन्तोष मान्दैन । जे छैन त्यही समात्न फाल हालेर जान्छ । म यहाँ आँप बटुल्न मात्र होइन, अनुभव बटुल्न पनि आउँछु । म आँपको मात्र होइन अनुभवको पनि आसक्त छु ।’ उनी आफैमाथि हाँसे रे । र यसैगरी ज्यानले सकुन्जेल बेसीतिर धाइरहे ।

पण्डितजीका छिमेकी मित्र थिए एकजना मगर सज्जन । ‘जहाँ गुलियो, त्यहीँ बाहुन भुलियो’ भन्ने उखान हाल्दै बाहुनलाई जिस्क्याएर नथाक्ने उनी पनि गुलियो आँपको लोभले बेसी झरेका थिए । उनी पनि प्रतिज्ञा गर्नमा बिछट्ट सिपालु थिए । प्रत्येक बिहान प्रतिज्ञा गर्थे उनी, ‘अबदेखि त मरे पनि जाँड खान्न ।’ किन्तु जब साँझ पर्दथ्यो, उनी आफैलाई लोप्पा खुवाउँदै बुढीको सामुन्ने बटुको थाप्न जान्थे । उता मगर्नी काकी मुसुमुसु हाँस्दै भन्थै थिइन्, ‘यो लाहुरेले अठार चोटी कान समातिसक्यो ।’ सोझो चित्तका वयोवृद्ध मगर लाहुरेले भने, ‘साँझ पर्‍यो कि मनै मान्दैन बाजे ।’ उनी अगाडि बोल्दै गए, ‘महादेव पनि पार्वतीलाई भन्छ रे, आब धतुरो खान्न । तर आदत से मजबुर भएपछि के लाग्छ ?’  

त्यो अरिङ्गाले घटनाले मलाई अघिल्लो वर्षको घटना याद दिलायो । लेकका मान्छे आँप खान बेसी झर्दाको पहिरन अर्कै हुन्थ्यो । व्यक्तित्वमा विवशता र पराजित मानसिकताको लक्षण देखिने । अरु बेला रिडी जाँदा आउँदा  ‘आउनुस् चिया खाएर जानुस्’  भन्ने पसलेहरूले आँप बटुल्न जानेलाई वास्तै गर्दैनथे । पसलेहरूले माइती जान लागेकी चेली, ससुराली जान लागेको  ज्वाईं, मेला भर्न जान लागेको पर्यटक, गण्डकी स्नान गर्न जान लागेको तीर्थालु र घाट जान लागेको मलामीलाई सजिलै चिन्थे । 

हाम्रो आँप बटुल्न जाने मुख्य बेसी रिडी हो । सहायक बेसीको रूपमा यदाकदा डम्मकले पनि आकर्षित गर्थ्यो । अघिल्लो वर्षकै त कुरा हो । आमाले ‘डम्मक आँप खान जाम्’ भनेर मलाई पनि लिएर जानुभयो । अँधेरी रात थियो । वर्षा ऋतुको समय । सिमसिम पानी परिरहेको थियो । आमा र म एउटा ठूलो आँपको फेदमा थियौं । यदाकदा फ्यात्तफुत्त दाना झरिरहेका थिए । मैले कुनै आँप चुस्थें र कुनै थैलोमा राख्थें ।

अलि उतातिर अरुहरू पनि आँप बटुलिरहेका थिए । यस्तैमा पचास गज पर बाघ करायो । मान्छेहरू हाहाहुहु गर्दै यत्रतत्र भाग्न थाले । आमाले भन्नुभयो, ‘आतुरी गर्दै भाग्नु हुँदैन । धार्जे राख्नुपर्छ ।’  हामी एकजना परिचितको पिढीमा गएर  बस्यौं । आमाले, ‘भित्र को हुनुहुन्छ ? म खस्यौली तल्लो डाँडाकी कान्छी । यहाँ नजिकै बाघ कराइरहेको छ ।’ भनेर परिचय दिनुभयो । भित्रबाट आवाज आयो, ‘आँप खान आएको त होला । बेस्सरी खाएर जानू ।’ शब्द मात्र आयो, तर ढोका खुलेन । 

त्यो शब्दमा हेलामिश्रित उपहास थियो । त्यहाँ पिढीवालाको व्यक्तित्वले हाम्रो व्यक्तित्वलाई नराम्रोसँग कुल्चिदियो । हिजो मात्र भेट हुँदा ‘कहिलेकाहीँ डम्मकतिर पनि झर न’  भनेको मुखले आज तिरस्कार गर्‍यो । माइतीबाट घर आउँदा बाटामा भेट भएको अलि परको गाउँलेलाई सानो डल्लो कुरौनी दिँदाकी डाँडाकी कान्छी र उनको गाउँमा रातबिरात आँप बटुल्न जाने कान्छीको व्यक्तित्वमा ठूलो भिन्नता थियो । त्यो अँध्यारो रातमा मैले कसरी मानिसको व्यक्तित्वको उत्थान र पतन हुन्छ भन्ने कुरा बुझेको थिएँ । 

आसक्तिले निम्त्याएको लघुताभासले मनमा असहनीय चोट पनि दियो । किन्तु आसक्ति त्याग्न पनि त सहज छैन । मैले त्यसै दिन  ‘बेसीको आँप र लेकको पाहुना’  शीर्षकमा हात्तीमार कापीमा सानो निबन्ध  लेखेको थिएँ । त्यो कापी कता हरायो, होसै भएन । 

रिडीको बगैंचामा जीवनबारे छलफल चल्यो । कसैले लाहुरेलाई सोध्यो, ‘उहिलेको समय राम्रो कि अहिलेको समय राम्रो लाहुरे बा ?’  लाहुरे बा इतिहास र पुराणका जानकार थिए । भने, ‘उहिलेका राजा असल भएको भए नरसिंह अवतार किन चाहिन्थ्यो । उहिलेका क्षत्री असल भएको भए परशुराम अवतार किन चाहिन्थ्यो । उहिलेका मानिस असल भएको भए रामको बनिवास किन हुन्थ्यो । उहिलेका पुरोहित असल भएको भए सिद्धार्थ किन बुद्ध बनिरहनु पर्थ्यो । उहिलेको युगमा सबै शुभ नै शुभ भएको भए किन सुकरात र लाओत्सु आउँथे । धर्मराज युधिष्ठिर सच्चा सत्यवादी भएको भए किन ऐन मौकामा झूट बोल्थे ? यो संसारमा उस बखतमा पनि असल र खराब दुबै प्रवृत्ति थिए । अहिलेको संसार पनि असल र खराबको सङ्गम हो ।’

बिहानीपख फाट्टफुट्ट आँपका दाना झर्न थाले । तल गण्डकीमा लास जलिरहेको थियो धिपधिप । आगो देखेर मान्छेहरू कुरा गर्थे, ‘को होला ? उमेर पुगेको मान्छे होला कि सानी बालिका होला ?’ चिताको नजिकै  कोही बालक रोएको धीमा आवाज सुनिन्थ्यो, ‘आमा, हे मेरी आमा !’  मानिसहरू द्रवीभूत भएर त्यतै एकोहोरो आँखाले हेरिरहे । तर त्यसै बखतमा एक झस्को हावा आएर बरर आँप झारिदियो । 

शोकाकुल मानिसहरू तँछाडमछाड गर्दै दाना टिप्न दगुरे । त्यहाँ मुख्य काम आँप बटुल्नु हुन्थ्यो भने दया र करुणा सहायक काम । अरु बेला गण्डकी नुहाउन र भगवान हृषिकेशवको दर्शन गर्न कुद्दै आउने मानिसहरू आँप बटुल्ने साइतमा त्यता लाग्नु सम्भव थिएन । नुहाउन गए अरु भरिला र आफू रित्तो फर्कनु पर्थ्यो । 

पण्डितजी गम्भीर थिए । उनी खासै आँपको गेडाका लागि दगुरादगुर गरिरहेका थिएनन् । उनले भने, ‘जहाँ लालच, त्यहाँ लघुताभास । मलाई यहाँ बगैंचाको डिलमा उभिएर गण्डकीतर्फ हेर्दा सन्तोषको अनुभूति हुन्छ । यहाँ मभन्दा कयौं गुना योग्य र विद्वान मानिसहरू खरानी भए । जीवन छँदा धनमत्त भएर उन्मादी हुनेहरू यहाँ रित्तो हात पसारिनुपर्छ । म यस भूमिमा आँप बटुल्न मात्र होइन, विरहका कुरा सुन्न र सुनाउन पनि आउँछु । म यहाँ जीवनको अन्तिम परिणति महसुस गर्न पनि आउँछु ।’ 

उज्यालो भयो । अब भारी बोकेर उकालो लाग्नुपर्छ । सबैले आआफ्नो भारी मिलाउन थाले । त्यसै बखतमा एउटा दर्दनाक दृश्य देख्नुपर्‍यो । काली गण्डकीमाथि बाटोको डिलमा थोरै दुबो उम्रेको ढिस्को थियो । त्यहाँ अकस्मात  गठिलो देह भएकी सुन्दरी निर्वस्त्र उत्तानो पल्टेको देखियो । हेर्दाहेर्दै त्यहाँ बिस पच्चिसजना मानिस जम्मा भए । लाग्दथ्यो, उनी पूर्ण स्वतन्त्र थिइन् । प्रकृतिले जे दिएको थियो, सर्वाङ्ग देखाइरहेकी थिइन् उनी। 

उनका आँखा तेजिला थिए । ओठमा व्यङ्ग्यमिश्रित मुस्कान थियो । चर्म चक्षुले हेर्दा त्यो हर्कत भयानक अश्लीलता थियो । सभ्यताको बन्धनको निर्मम उल्लंघन थियो त्यो । लज्जाहीनताको पराकाष्ठा । परन्तु त्यो तथाकथित ‘सभ्य समाज’  नाङ्गो भएको घटना हो । उनी कुनै युवकको नाम लिएर चिच्याइरहेकी थिइन् । ‘ल हेर् ! हेर्न खोज्थिस् हैन ? ल छाम्  छाम्न खोज्थिस् हैन ? म भाग्दा तैँले जबर्जस्ति समातेर हेरिस् र अरुलाई पनि हेराइस् । म रुँदा लुछिस्। मैले भो भो भन्दा मलाई लुटिस् । आज ई हेर् म खुला छु । ल आ, के के गर्नु छ गर् ।  आज म पोखिएकी छु ।’

 परन्तु पीडित युवतीको सरेआम विद्रोहमा न पीडक उपस्थित थियो, न त त्यो ती युवतीको इलाका नै थियो । सायद नियतिले त्यही विद्रोह गर्ने शक्ति दिनका लागि उनलाई पागल बनाएको थियो । पागल अर्थात अति यथार्थवादी । पागलपन अर्थात कथित सभ्यताको आवरणभित्र लुकेर परपीडन र शोषण गर्ने प्रवृत्तिविरुद्ध सर्वाङ्गीण ललकार । परन्तु त्यहाँ कसैले पनि उनको उद्धार गर्ने आवश्यकता सम्झेन ।  हाम्रा सार्वजनिक स्थानहरू, तीर्थस्थलहरू र घाटहरूको वरिपरि आज पनि भिन्नरूपमा यस्ता दृश्यहरू छरपस्ट देखिन्छन् । अझै पनि अपहेलितहरू, बलात्कृतहरू, अनेकौं प्रलोभनको बसमा परेर धोका पाएकाहरू र परित्यक्तहरूको नियति यस्तै देखिन्छ । 
 

प्रतिक्रिया