देवानन्दले रुचाएको नेपाली मःम विश्वकै स्वादिष्ट परिकारको सूचीमा

 

काठमाडौं । अमेरिकी टेलिभिजन च्यानल सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानाको सूचीमा समावेश गरेपछि मःमको ख्याती विश्वभर चुलीएको छ । 

संसारकै स्वादिष्ट ३५ वटा परिकारमध्ये मःम पनि परेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकको रुचीको परिकार नै मःम भएको सीएनएनले जनाएको छ । 

मःमलाई विश्वमा डम्प्लिङ परिकारको बर्गमा राखिएको छ, जसलाई यात्रा गर्दासमेत सहजै खान सकिने भन्दै सीएनएनले बखान गरेको छ । सूचीको पहिलो नम्बरमा चीनको डम्प्लिङ जिआओलङबा छ भने इटालीको राभोइली, चीनको सिचुआन स्पाइसी वन्टोन आदि परेका छन् । 
नेपालमा पाइने मःमका अहिले अनेकौं प्रकार छन् । झोंल मःम, कोथे मःम, चिल्ली मःम, फ्राइ मःमदेखि ओपेन मःम र बेल मःमसम्म पाइन्छन् । जाडो याममा झोंल मःमको ख्याती बढदै गएको छ । 

chicken-momos-500x500

नेपालमा मःम खाने चलन कहिलेदेखि सुरु भयो भन्नेबारे कतै उल्लेख भएको पाइदैन । चीनबाट आएको यो परिकार त्यसबेला नेपालमा  प्रख्यात भयो, जब दलाइ लामासँगै तिब्बती शरणार्थीहरु भागेर नेपाल र भारतमा बस्नथाले । 

जाउलाखेलको तिब्बती शरणार्थी शिविरमा तिब्बतीहरु लाम्चो आकारको म्होम्हो खान्थे । त्यसबेलासम्म काठमाडौंमा मःमको खासै विक्री बितरण हुँदैनथ्यो । 

सन् १९७१ मा बलिउडका नायक देवानन्दको चर्चित चलचित्र ‘हरेकृष्ण हरेराम’को छायाँकन तिब्बती शरणार्थीमा भएको थियो । ब्रेकको बेला नायक देवानन्दलाई एक पटक तिब्बती शरणार्थीहरुले म्होम्हो चाख्न दिएछन् । 

देवानन्दलाई म्होम्हो कुन हदसम्म मन परेछ भने उनले हरेक दिन त्यही परिकार मगाउन थालेछन् । छायांकन हेर्न झुम्मीएका दर्शकमाझ देवानन्दले खाने पदार्थबारे जिज्ञासा बढदै गयो । मासुको किमा राखिएको र पिठाले बेरिएको विशेष परिकार नेपालीले पनि चाख्न थाले, त्यो विस्तारै लोकप्रिय हुँदै गयो । 

म्होम्होजस्तै लाम्चो हैन, सानो डल्लो आकारको मःमचा काठमाडौं र ललितपुरमा बेच्नेक्रम सुरुभयो । सालको पातको टपरीमा सानो आकारका मःमचाका डल्ला खाने क्रम बढदै गयो । चिसोमा पोसीलो र स्वादीलो मःमचा विस्तारै खाजाघरको प्रमुख परिकार बन्नपुग्यो ।

अहिले मःमचा अपभ्रंस हु्ँदै मःम मात्र हैन, मोमो नै भएको छ । मःमका अनेक ब्रान्ड खुलेका छन् । मोमो किङदेखि शानदार मःमसम्म, बोता मःमदेखि मःम हटसम्म प्रख्यात छन् । नेपालीको सहज र सस्तो परिकार नै मःम भएको छ, जुन जाडो याममा खानुको मजा बेग्लै । सीएनएनकै सूचीमा परेपछि अब नेपाली मःमको विदेशमा ब्रान्डीङ गर्न सकिने भएको छ । 

प्रतिक्रिया