नेता चुन्दै निजी क्षेत्र : यसरी भिड्दैछन् वरिष्ठ उपाध्यक्षमा तीन व्यवसायी

काठमाडौं। निजी क्षेत्रको छाता संस्थामध्येका एक नेपाल उद्योग वाणिज्य महासङ्घमा यतिबेला चुनावी चहलपहल चलिरहेको छ। मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासङ्घमा हुने निर्वाचनलाई चासोका साथ हेरिएको छ। यतिबेला वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने नेतृत्व नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभाले तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुन्दैछ । चैत २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनका लागि महासङ्घले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । 

वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासङ्घको अध्यक्ष हुनेछन् भने बाँकी पदमा निर्वाचन हुनेछ । जसमा वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा हुने निश्चित जस्तै देखिएको छ । वरिष्ठ उपाध्यक्षमा महासङ्घका एसोसिएट उपाध्यक्ष रामचन्द्र सङ्घई, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। रामचन्द्र सङ्घई हाल महासङ्घमा एसोसिएट उपाध्यक्ष र अञ्जन श्रेष्ठ वस्तुगत उपाध्यक्ष छन्। उमेशलाल श्रेष्ठ भने यसअघिको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसँग पराजित भएका थिए। 

सङ्घई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ छन्। साथै अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन्। उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन्। एसोशिएटतर्फको अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारमा उपाध्यक्षमा भरतराज आचार्य छन्। 
       
महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक÷एक जना सदस्य निर्वाचित हुनेछन् । जसका लागि कोशी प्रदेश सदस्यका लागि टङ्कप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिएका छन्। मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेश सदस्यका लागि कृष्णप्रसाद अवाल र सविन श्रेष्ठले उम्मेदवारी दिएका छन्। 

गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी परेको छ । त्यस्तै कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्लको उम्मेदवारी छ । संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एक जना निर्वाचित हुनेछन् । 

वस्तुगत सङ्घतर्फको सदस्यमा १४ जनाका लागि २८ जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर सङ्घ सदस्यमा १८ जनाका लागि ३२ जनाको उम्मेदवारी परेको छ भने एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।
       
शनिबार बसेको महासङ्घको बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई मतदान केन्द्र तोकेको छ । चैत २९ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्मको समय तोकिएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । त्यसैले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि चैत ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

“वरिष्ठ उपाध्यक्षका लागि ५० प्रतशितभन्दा बढी मत चाहिन्छ । तीन जना उम्मेदवारमध्ये पहिलो चरणमा कुनै पनि उम्मेदवारले त्यस्तो मत प्राप्त गर्न सक्नुभएन भने बढी मत ल्याउने दुई उम्मेदवारबीच अर्को चरणको निर्वाचन हुनेछ । पहिलो चरणको निर्वाचनमै कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएमा स्वतःविजयी हुनेछन्”, निर्वाचन अधिकृत रमणकुमार कर्णले भने।  
       
महासङ्घका अनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा–एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीन वटा मतदान केन्द्र तोकिएका छन् । जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको महासङ्घले जनाएको छ । 

प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र भने पहेलो रङको हुनेछ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन जनासम्म मतदान र मतगणना प्रतिनिधि राख्न सक्नेछन् ।
       
नेपाल उद्योग वाणिज्य महासङ्घको विधान २०४९ (छैटौँ संशोधन) अनुसार निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप एक मत प्राप्त गर्नुपर्नेछ । पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत र थप एक मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच पुनःनिर्वाचन हुने व्यवस्था छ । पुनःनिर्वाचन हुँदा दोस्रोपटक हुने निर्वाचनमा बढी मत प्राप्त गर्ने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ । 

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला नगर सङ्घको ५० प्रतिशत, वस्तुगत सङ्घ सदस्यको २० प्रतिशत र एशोसिएट सदस्यको ३० प्रतिशत मतभार रहन्छ । महासङ्घका अनुसार वस्तुगततर्फ एक सय २३, जिल्ला नगर उवासंघतर्फ एक सय २१, एसोसिएटतर्फ एक हजार ७६२ र द्विराष्ट्रिय सदस्य २० छन् ।
       
चुनावमा होमिएका सबै उम्मेदवारले मुलुकको अर्थतन्त्र सुधार र निजी क्षेत्रलाई अझ बढी व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने विषयलाई चुनावी एजेन्डा बनाएका छन् । महासङ्घको भिजन पेपर २०३० कार्यान्वयन पनि सबै उम्मेदवारको एजेन्डामा परेको छ ।
       
नेपालको तीनखम्बे अर्थनीतिअनुसार खुला बजार नीति अवलम्बन गर्ने र अर्थतन्त्रको विकासमा निजी क्षेत्रकोतर्फबाट महत्वपूर्ण योगदान गर्ने संस्थाका रुपमा महासङ्घ छ । राससका अनुसार, महासङ्घले सरकारले तर्जुमा गर्ने आर्थिक, मौद्रिक तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित कानुन तथा नीतिनिर्माण, संशोधन र खारेजी प्रक्रियामा समयसापेक्ष परामर्श दिने गरेको छ ।

प्रतिक्रिया