विश्वासको मतले निम्त्यायो विश्वासको संकट

प्रचण्डसँग भेटेपछि सभापतिले अडान फेरेकामा कांग्रेसजन चकित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको प्रत्यक्ष वार्तालापपछि के कारणले नीतिगत निर्णय उल्लंघन गर्न वाध्य भए भनेर यतिबेला कांग्रेसवृत्तमा तातो बहस भैरहेको छ। 

गएको शनिबार संसदीय दलको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भनेर निर्णय नै गरेको थियो नेपाली कांग्रेसले आफ्नो नीतिगत अडान स्पष्ट गर्दै। 

हिजो सोमबार सभापति शेरबहादुर देउवाको नयाँ निवासमै पुगेर प्रधानमन्त्री दाहालले विश्वासको मत पाउन याचना गरेपछि नेपाली कांग्रेसले विश्वासको मत दिने कि नदिने भनेर स्पष्ट हुन केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरिरहेको छ। यसै उदेश्यले कांग्रेसको संसदीय दलको बैठक समेत जारी छ।

सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। यसबारे यसअघि पार्टीका अरु नेता र सभापतिका निकटतम सहयोगी समेत अनभिज्ञ रहेको थाहा भएको छ।

 संसद् भवनको ल्होत्से हलमा केहीबेर अघिदेखि बैठक चलिरहेको जानकारी प्राप्त भएको छ। बिहान बसेको पार्टीका शीर्ष नेता र पदाधिकारीहरूको बैठकमा सभापति देउवाले दाहाललाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गरेका थिए। तर, त्यसबारे नेताहरूबीचमा मतभेद भएपछि त्यसको निर्णय कार्यसम्पादन समितिबाट लिने गरी शीर्ष नेताहरूको बैठक सकिएको थियो। सभापति देउवाले सरकारलाई विश्वासको मत दिने निर्णय गर्न लागेपछि युवा नेताहरूले विरोध गरेका छन्। देउवा पक्षकै नेताहरूले पनि पार्टी अहिलेको राजनीतिक परिवेशबमोजिम प्रमुख प्रतिपक्षको भूमिकामा रहनु उपयुक्त हुने सल्लाह दिएका छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विश्वासको मत दिन नहुने अडान लिएका छन् भने केन्द्रीय समिति र केन्द्रीय समितिबाहिर रहेका युवा नेताहरूले पनि विश्वासको मत नदिन सुझाएका छन्।

युवा नेताहरूको दबाबकै कारण मंगलबार बिहान शीर्ष नेताहरूका बीचमा छलफल गरेर संसदीय दलबाट निर्णय गरेर सरकारलाई विश्वासको मत दिने तयारीमा रहेका सभापति देउवाले शीर्ष नेताहरूमाझ सहमति जुटाउन सकेनन्।  

बिहान बसेको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकमा सभापति देउवा र उनीपक्षीय पदाधिकारीहरू, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पनि विश्वासको मत दिनुपर्ने पक्षमा बोलेका थिए। तर बैठकमा महामन्त्री थापा र शर्माले पनि विश्वासको मत दिन नहुने पक्षमा अडान लिएका थिए।

देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सकारात्मक रहेको सन्देश दिएलगत्तै कांग्रेसमा त्यसको चर्को विरोध भइरहेको छ। देउवा पक्षकै नेताहरूले त्यसको आलोचना गरिररहेका छन्।

देउवानिकट केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले अहिले माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनु महाभुल हुने बताए। निर्वाचनअघि मैले ‘गठबन्धन भुल हुन्छ’ भनेको थिएँ । अहिले फेरि भन्दै छु, सरकारलाई कांग्रेसले समर्थन गर्नु महाभुल हुनेछ। संवैधानिक व्यवस्थाभित्र पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्नुपर्छ।’

संसदीय दलले के भनेको थियो?

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय मंगलबार गर्ने भनेर गएको शनिबार निर्णय गरेको थियो।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार बसेको बैठकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिन बिहान मात्र विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। 

‘पार्टीको परम्परा अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दिन बिहान ९ बजे फेरि संसदीय दलको बैठक बसेर निर्णयमा पुग्छौं,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शनिबारको बैठक सकेर भनेका थिए। महामन्त्री गगनकुमार थापाले पार्टी विपक्षी बेञ्चमा बस्ने जनाउँदै मंगलबार बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने बताएका थिए।

‘जुन दिन संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ। त्यो बैठकमा निर्णय गर्छौं,’ थापाले भनेका थिए, ‘संसद्भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि नेपाली कांग्रेसले विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामीले प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो।’

 
 

प्रतिक्रिया