नीति अधिवेशन अविलम्ब गर्न नेता कोइराला माग


मोरङ, १७ पुस : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उहाँले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।

    नेता डा कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले नेकांले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई  राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गर्नुभयो ।

    नेकांका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । समाजका अध्यक्ष दीपक लोहनी, पूूर्वमन्त्री  शिवकुमार बस्नेत, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले ‘नेतृत्वले निर्वाचनमा गठबन्धन किन गरियो र किन जोगाउन सकिएन’का सम्बन्धमा जनतालाई प्रस्टरुपमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।(रासस)

प्रतिक्रिया