आलु खाएर बस

आलु खाएर बस 

यो देश मेरै पेवा हो
यी मानिस मैले नै चराउने  हो
देश देशावर मेरै पक्षमा छ 
मै खान्छु मै लाउँछु 
 मै सुखसयल गर्छु भन्दै 
 मधुमासको खुमारीमा झैँ मदमस्त थियौ हैन ?
अब आलु खाएर बस 

म हुस्सु भए पनि मेरी बाठी छन् 
 म सुस्त भए पनि मेरा फुर्तिला छन् 
 गोप्य रिपोर्ट दिनेहरू मेरै नियन्त्रणमा छन् 
क्या विश्वस्त थियौ हैन ? 
अब आलु खाएर बस 

चार दिनको चाँदनीको चकाचौंधमा तिमी 
टाउको पनि मेरै ह्याकुलो पनि मेरै 
फिला पनि मेरै 
आन्द्राभुन्डीसमेत मेरै 
अहङ्कार गर्थ्यौ  हैन ?
अब आलु खाएर बस 

जनताले रुचाएका पाखामा बस
 मैले रुचाएका काखामा बस
 जो प्रश्न बोल्छ त्यो खतरा मोल्छ 
जो हवस् बोल्छ त्यो सर्बत घोल्छ
 अतिशय अभिमान गर्थ्यौ हैन ? 
अब आलु खाएर बस 

उनीहरू लडिरहन्छन् म तमासा हेरिरहन्छु 
उनीहरू मूर्ख छन् मजा लिइरहन्छु 
म  प्रथम उनीहरू निम्छरा 
 ढुक्क थियौ हैन  ? 
अब आलु खाएर बस 

 मिल्न आए बिलो दिएर 
 मिल्न नआए पहिलोको नाताले
 तिमी नै खान्छौ तिमी नै सजिन्छौ भन्ने चारणहरूले
पार्नुसम्म बरबाद पारे हैन ? 
अब आलु खाएर बस 

तेस्रोले झुक्याएर छल गर्‍यो 
दोस्रोले सपना देखाएर झुक्यायो 
हेर्दै जाऊ दोस्रो नै पहिलो हुन्छ 
तिम्रो हात रित्तो दुलोमा हुन्छ 
क्या थाङ्नामा सुताए हैन ?
अब आलु खाएर बस 

खुट्टा लगलग काँप्दै थियो 
वानप्रस्थको सत्य  सन्देश थियो 
शरीर अघाएर डम्म थियो 
तर मन अघाएन 
र 
अग्रजले हुर्काएको गाछी उखेलेर 
पराईको चिनोमा ठप्पा लगाउन
 फरमान जारी गर्‍यौ हैन ? 
अब आलु खाएर बस 

हिजोका मेरा सदाका मेरा  
हिजोको मस्ती सदाको मस्ती 
हिजोको मिलन सदाको मिलन 
हिजोका स्तुति सदाको स्तुति 
र 
पदीय सलामीलाई अविनाशी सम्झेका थियौ हैन ? 
अब आलु खाएर बस

प्रतिक्रिया