रेमिट्यान्स गाउँमा

म बिहानै उठेर

घुमिरहेको थिएँ

तराईको एउटा नयाँ बस्तीमा ।

ससाना नानीहरू

खोक्दै बसेका वृद्ध बाआमाहरु

गाई, बाख्रा र कुखुराहरु

चारो खोजिरहेका परेवाहरु

सबै छन् गाउँमा ।

युवा छैनन् प्रायःजसो घरमा

मुनामदनको मदन झै

धन कमाउन

विदेशिएका छन् युवा ।

गाउँमा आगो लाग्यो भने

कसैको मृत्यु भयो भने

बाढी पस्यो भने

सर्पले डस्यो भने

गुहार कोसंग माग्ने

थाहा छैन ।

लुगा सुकाएझैँ

बिस्कुन सुकाएर

खसम आउने बाटो

हेरिबसेका छन्

तरुनीका सजल आँखाहरु।

युवा निर्यात गरेर

वृद्ध आयात गर्छन्

हजारौं हजार गाउँहरु

बर्षाैदेखि चलिरहेको छ

आयात - निर्यातको यो क्रुर सिलसिला ।

दाँत फुस्किएका आमाबुवालाई

खानेकुरा बोकेर फर्किन्छ छोरा

आँगनमा लमतन्न सुताएर

तुलसीको मठमा

अन्तिम पलसम्म

एउटा मुहार पर्खिरहेका हुन्छन्

मृत्युशय्यामा बुवा आमा।

बाँच्ने तयारी गर्दागर्दै

उमेरको फाइनल हेर्न बाध्य

हजारौं रेमिट्यान्स गाउँका कथा

उस्तैउस्तै छन्

मेचीमहाकालीसम्म।

पाल्नु छ एउटा अगस्तितन्त्र

पाल्नु छ हजारौं बेरोजगार नेता

रगत, पसिना मात्रै होइन

कफिनमा कार्गो बनेर आउँछन्

सपना देख्ने हजारौं युवा

उनीहरू सबै वृद्ध भएपछि

पुनः पठाउनुछ लाखौं सन्तानलाई

अरब राष्ट्रको मरुभूमितिर।

प्रतिक्रिया