मज्जा, नमज्जा र उदेकलाग्दो समाचार

rajesh mishraमज्जाको समाचारः नयाँ संसदले खोक्रो नै सही, तर उग्र वचन सुन्दा रमाउने एकथरी नेपालीलाई भरपुर आत्मसन्तुष्टी दिनेछ।

नमज्जाको समाचारः सधैंझैं यो संसदले पनि सुशासन र व्यवस्थित राज्यको आम नेपाली आशामाथि कुठाराघात गर्नेछ।

अझ उदेकलाग्दो समाचारः जनताले जो जो यसपटक संसदमा नदोहोरिउन् भन्ने अभिलाषा राखेका थिए, प्रायः ती सबै आआफ्नो क्षेत्रबाट जितेर आएका छन्। सत्तामा भागबण्डा, आलोपालो र सांसदहरुको खरिदबिक्रीको मोल बढाबढ शुरु भैसकेको छ। 

अब केही दिनमा राष्ट्रपति कार्यालयले संविधान अनुसार नयाँ संसद अधिवेशन आरम्भ हुने मिति तय गर्नेछ। 

पुरानै बोतल, पुरानै मदिरामा यसपटक अलिकति थप सुगन्ध भने हुनेछ। स्वतन्त्र नामधारी पार्टीको घन्टी बजाउँदै एक हूल युवाहरु पहिलोपटक संघीय संसद प्रवेश गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी नामको युवादलले नयाँ राष्ट्रिय पार्टीको मान्यता पाउनेछ। 

अर्को नयाँ दलका पुराना नेता माधव नेपालले भने त्यो हैसियत गुमाउनेछन्। उनको संसदीय राजनीतिको ईतिहासमा पहिलोपटक नेकपा समाजवादीको कार्यालय हुनेछैन। त्यो दलले सचेतकले पाउने सुविधा समेत गुमाउनेछ। 

प्रचण्डको माओवादी पार्टी सँधैझैं सरकार बनाउने र ढलाउने कृत्यको निर्णायक हुनेछ। बाँकी सानामसिना दलका सांसदहरु प्रचण्डकै वरिपरि घुमेर आफ्नो सान्दर्भिकता सावित गर्न लाग्नेछन्। 

यी सबैले रबि लामिछानेको पन्ध्र मिनेट लामो लोकप्रियताको बुई चढेर चुनाव जितेको कुरामा शंका छैन। तर यी युवाहरु रबि लामिछानेको महत्वाकांक्षाका लागि शहीद हुने खालका होईनन्। विवेकशीलका उज्ज्वल थापा मरेर गए। मिलन पाण्डेको भूमिका खुम्चिएको छ। तर रबिले कुनैपनि बेला रवीन्द्र मिश्रको नियति भोग्नुपर्ने अवस्था हुनसक्छ। समानुपातिकमा को ल्याउने र किन ल्याउने भन्ने विवाद शुरु भैसक्यो पार्टीमा।

नेकपा एमालेका सर्वशक्तिमान अध्यक्ष दाह्रा नंग्रा खुस्केको घाईते बाघका रुपमा दम्भको घाउ चाट्दै संसद प्रवेश गर्नेछन्। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई मुलुक र पार्टीको चिन्ता भन्दा छैटौं पटक प्रधानमन्त्री भएर आफ्नो वरत्रपरत्र सुधार्ने जीजिविषाले छोडेको छैन। यो पृष्ठभूमिमा यसपटकको संसद पनि पहिलेको भन्दा भिन्न हुनेछैन। 

मुलुकको कूल जनसंख्याको दुई तिहाई भाग ओगटेको युवा पुस्ता विश्वकप फुटबलको रनाहामा छ। चुनावताका उनीहरुले सामाजिक संजालमा “नो, नट अगेन” को दुन्दूभी बजाएर आफ्नो भूमिका निर्वाह त गरे। तर सफल हुन सकेनन्। फुटबलको ज्वरो उत्रिएपछि उनीहरुले यो जाडो मौसममा समेत संसदको तापमा थप आकर्षण पाउने छैनन्। 

नेपालमा कुनैपनि लहर लामो समय टिक्दैन। मुलुकको सामाजिक मनोविज्ञान नै यस्तै छ। एउटा लहर पचाएर अर्को लहरको खोजी गर्न पनि लहर पचाउने शक्ति चाहिन्छ। नेपाली समाजमा यस्तो उर्जाको कमी छैन। युवा लहर सकियो। मुलुक अब अर्को लहरको खोजीमा छ।  

लहर खोजीको यो चक्रका बीचमा विदेशी शक्तिराष्ट्रहरूको ‘रहर’ भने अर्कै छ। बाहिर आफूलाई अविचलित राष्ट्रवादी देखाएर भित्रभित्रै भारतीय संस्थापनको साखुल्ले बन्ने नेकपा एमाले प्रमुखले चुनावको नतिजा सम्पूर्ण नहुँदै प्रचण्डलाई अकारण “वधाई” दिन फोन गरेका होईनन्। लमतन्न हुँदा पनि यसपटक भारतको “साउथ ब्लक” ले ओलीलाई पत्याएन। चिनियाँहरु “बीआरआई” को मूल्यमा नेपाली राजनीति कथित कम्युनिष्टहरुकै पकडमा रहोस् भन्ने चाहन्छन्। चिनियाँ स्वार्थ र दृष्टिकोणमा यो स्वाभाविक हो। 

“ईण्डो प्यासिफिक अलायन्स” का साझेदार अमेरिका र भारत नेपाली कम्युनिष्टहरुलाई माओ वा हो ची मिन्हकालका कम्युनिष्ट मान्दैनन्। सर्वहारा बर्गको नाममा राजनीति गर्दागर्दै यी आफै पूँजीवादीका दलाल भैसकेको तथ्यसँग अमेरिका र भारत अवगत छन्। नेपालको अहिलेको संविधान अनुसार कुनै एक दलले बलियो बहुमत ल्याउन असम्भव नभएपनि मुश्कील छ। त्यसैले  नेपाली कांग्रेसको काखमा सुत्न तयार कुनैपनि कम्युनिष्ट घटकलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्न सकिने कुरामा भारत र अमेरिका निर्धक्क छन्। त्यसैले उनीहरु अहिलेकै सत्ता गठबन्धन कायम रहेको देख्न रुचाउँछन् भने त्यो पनि स्वाभाविक हो। 

आम जनता यस्ता जटील मुद्दामा बहस गर्न रुचाउँदैन। नेपालीलाई यस्तो बानी नै छैन। तर यो दोषको भागी जनता होईन। आजको मितिसम्म राष्ट्रिय स्वार्थका सवालमा नेपालका राजनीतिक दलहरुले साझा अवधारणा बनाउन सकेका छैनन्। दलका नेताहरुको संकुचित स्वार्थले प्राथमिकता पाउन्जेल मुलुकको हितमा राष्ट्रिय अवधारणा बन्न सक्दैन। कुरा ०४६ साल पछि सत्तामा आएका दलहरुको मात्र होईन। राजा महेन्द्रले पनि बीपीलाई पदच्यूत गर्दा होस्, वा कोदारी राजमार्ग निर्माण गर्दा होस्, नेपालको परराष्ट्र नीतिसँग उरन्ठेलो खेलवाड गरेकै हुन्। अहिलेको समस्या वंशाणुगत हो।  

त्यसैले, यो नयाँ संसद र यसको रुप र चरित्रसँग आशावादी हुने कुनै कारण छैन। धेरैलाई लाग्न सक्छ, अहिले त संसदमा नयाँ रगतको प्रवेश भएको छ। उनीहरुले गर्छन्। सत्य तीतो हुन्छ। उनीहरुले गर्दैनन्। जबसम्म सत्तासीन र जनताको आकांक्षाको सम्बन्धमा ईमान्दार परिवर्तन आउँदैन, त्यतिञ्जेल केही पनि हुँदैन।  

उदाहरण, नेपालको संसदीय राजनीतिमा अचानक तर जाज्वल्यमान रुपले उदाएका रबि लामिछानेको “रास्वपा” लाई लिउँ। के हो यो पार्टी? यसको टेक्ने ढुङ्गो र समाउने हाँगो के हो? यो पार्टी नेपालको संविधानले निर्दिष्ट गरेको संघीय प्रणाली मान्दैन। जनतालाई पनि संघीय प्रणालीले देशको साधारण खर्चमा अधिक आर्थिक भार थपेकोले यो प्रणाली ठीक छैन भन्ने लागेको छ। 

रबि लामिछानेको पार्टी जनताको यही गलत मनोविज्ञानको गलत फाईदा उठाएर, स्थापित दलका सर्वेसर्वाले चलाएको स्वार्थी खेलोबाट उत्पन्न नकारात्मक धारणालाई विनिमय गर्दै उदाएको हो। आफ्नो मौलिक विचार शुन्यताको पृष्ठभूमिमा अर्काको कमजोरीको फाईदा लिँदै लोक रिझ्याईंको राजनीति गर्न सजिलो हुन्छ। तर यसको जगमा त्यो लोकप्रियता टिकाईराख्न मुश्कील। विचारकै आधारमा रास्वपा “अदूवा अर्गनाईजेसन” हो। यो पार्टीका संस्थापकहरुको विचार परस्पर बाझिएको छ। तैपनि उनीहरु एकै ठाउँमा छन्। संघीयता बिरोधी भएकै कारण यो पार्टीले प्रदेश सभामा उम्मेदवारी दिएन। राजतन्त्र, धर्म निरपेक्षता जस्ता मुद्दामा यसको अडान स्पष्ट छैन। “आवश्यकता अनुसार विचार लिन र छोड्न सकिने” लामिछानेको कथन अवसरवादिताको द्योतक मात्र होईन, स्वप्नदृष्टिमा दिवालियापनको उदाहरण पनि हो। 

उनी वैचारिक धरातलमा टेकेर भन्दा चर्को स्वरले गालीगलौजको भाषामा जनता उफार्न सि खप्पिस् छन्। छापा र किताब नपढ्ने तर टेलिभिजन हेरेर धारणा बनाउने एउटा जमातका लागि “टुँडिखेलमा उडेर, घुमेर एक कीक हान्ने, त्यो पनि नाकको डाँडी भाँच्चिने गरी” भन्ने चर्को स्वरले क्षणिक आत्मसन्तुष्टि दिन्छ। तर यस्तो कथनले सकारात्मक चिन्तन र सिर्जनात्मक सोचलाई प्रोत्साहित गर्दैन। 

स्वतन्त्रहरु युवाहरुको जमघट रहेको यो पार्टीले एक जिम्मेवार दलको पहिचान स्थापित गर्न बाँकी नै छ। अहिले यसको टुप्पो मात्र देखिएको हो। जरो पलाउन बाँकी नै छ। जरो छ कि छैन त्यो पनि हेर्न बाँकी छ। संविधानलाई आधा मान्ने, आधा नमान्ने नियतले चुनाव जितेको यो पार्टीले समयमा एउटा कित्तामा उभिनुपर्ने चुनौती छ। 

यो पार्टीका “ब्राण्ड” देखिने रबि लामिछानेको अहंकार रवीन्द्र मिश्रको भन्दा कम छैन। उनले नागरिकता काण्डलाई एक तार्किक निष्कर्षमा पुर्याउन बाँकी छ। उनी राज्यले निर्धारण गरेको ब्यस्वस्था मान्नुको सट्टा जनभावनामा खेलेर ठूलो स्वरले चिच्याएरै आफूमाथि उठेका  प्रश्नहरुलाई जित्ने स्वभावका मान्छे हुन् भन्ने कुरा प्रमाणित भएको छ। प्रेस काउन्सीलले कुनैबेला उनलाई सूचना विभागको आधिकारिक प्रेस पास लिएर आफ्नो कार्यक्रम संचालन गर्न भन्दा उनले भनेका थिए, “म पत्रकार होईन, सूचना विभागको पास लिनुभन्दा बरु म जुत्ता पालीस गरेर आफ्नो जीविका चलाउन तयार छु।” यो कुरा उनको आफ्नै कार्यक्रम र उनको फेसबुक पोष्टमा दर्ता भएको छ। यस्तो मान्छेले कसरी गर्छ सुशासनको प्रत्याभूति? 

लामिछाने सत्तामा पुग्छन् वा  बिपक्षमा बस्छन्, त्यो हेर्न बाँकी छ। उनी जस्ता मान्छे राज्य संचालनमा पुगेभने मन्त्रालयको एउटा सुब्बाले समेत उनलाई घुमाउने निश्चित छ। उनको अनुभव आफ्नो रुद्रघण्टी सुन्निने गरी चिच्याउनमा सीमित छ। प्रत्यक्ष निर्वाचनबाट जितेका उनका पार्टीका अन्य उम्मेदवारहरु भन्दा उनी उमेरले जेठा छन्। उनी ४७ बर्षका भए। उनको तुलनामा राजधानी उपत्यकाबाट जित्ने २७ बर्षकी सोविता गौतम, ४३ बर्षका शिशिर खनाल, ४३ बर्षका गणेश पराजुली, ४१ बर्षका बिराजभक्त श्रेष्ठ, ३२ बर्षकी डा. तोशिमा कार्की र चितवनका ३९ बर्षे हरि ढकालको सामुदायिक योगदान बढी छ। बिराजभक्त श्रेष्ठ राजनीतिक परिवारमा हुर्किएका युवा हुन्। उनीसँग विवेकशील साझामा काम गरेको अनुभव छ। हरि ढकाल काठमाडांै महानगरपालिकाका वर्तमान मेयर बालेन्द्र साहको बिजयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा हुन्। 

यी सबैले रबि लामिछानेको पन्ध्र मिनेट लामो लोकप्रियताको बुई चढेर चुनाव जितेको कुरामा शंका छैन। तर यी युवाहरु रबि लामिछानेको महत्वाकांक्षाका लागि शहीद हुने खालका होईनन्। विवेकशीलका उज्ज्वल थापा मरेर गए। मिलन पाण्डेको भूमिका खुम्चिएको छ। तर रबिले कुनैपनि बेला रवीन्द्र मिश्रको नियति भोग्नुपर्ने अवस्था हुनसक्छ। समानुपातिकमा को ल्याउने र किन ल्याउने भन्ने विवाद शुरु भैसक्यो पार्टीमा। प्रथम ग्रासे मक्षिका पात ! अर्थात्, पहिलो गाँसमै झिंगा। 

सजिलो छैन रबि लामिछानेलाई। 

पूर्व पंचहरूको ओत लाग्ने थलो प्रजातन्त्र पार्टीका युवा अध्यक्ष राजेन्द्र लिङ्गदेन संघीयता विरोधी मात्र होईन, राजतन्त्र समर्थक हुन्। तर उनी प्रदेश सभाका लागि आफ्नो पार्टीको उम्मेदवारी दिन्छन्। रबि लामिछानेको पार्टीमा प्रणालीलाई बुझ्ने सोचमा विरोधाभाष छ। राजेन्द्र लिङ्गदेनको पार्टीमा प्रणालीलाई प्रयोग गर्ने सोचमा अवसरवादिता छ। राजेन्द्रले त आफ्नो नाम ज्ञानबहादुर शाहीबाट ज्ञानेन्द्र शाही बनाएर उत्ताउलो भाषण गर्नेलाई पार्टी प्रवक्ता बनाएर संसदमा ल्याए। 

रबि लामिछाने र र ज्ञानेन्द्र शाहीमा एउटा समानता छ। यी दुवै आफ्नो चोरऔंला नब्बे डिग्रीमा ठड्याएर– आफ्नो पाखुरो पैंतालीस देखि साट्ठी डिग्रीमा फनफनी घुमाएर राज्य व्यवस्था र यसका खेलाडीलाई दुत्कार्न खप्पिस् छन्। यिनको स्वरग्रन्थी दह्रो छ। त्यतिमात्र हो। यो त निश्चल बस्नेत, दयाहांग राई, सौगात मल्ल र राजेश हमाल मात्र होईन, सन्दीप क्षेत्रीले पनि गरिदिन्छन्! राम्रो भो, यी कलाकारहरु अहिल्यै राजनीतिमा आईसकेका छैनन्। नराम्रो भो, जो आए, उनीहरु कालान्तरमा केवल कलाकार मात्र हुनेछन्। 

संसदमा अब पुग्ने नयाँ पुस्ताका सांसदहरुले अहिलेको पुस्ताले बोल्न पाउने अधिकार कुन मूल्यमा प्राप्त भयो त्यो बुझेका छैनन्। उनीहरुले पंचायती कालरात्रीको अनुभव नै गर्न पाएनन्। सित्तैमा पाएको अधिकारको महत्व हुँदैन। आज रबि लामिछाने, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही जुन जोशले मुड्की उचालेर भाषण गर्छन्, त्यसका लागि उनीहरुभन्दा अघिल्लो पुस्ताको ठूलो बलिदानको योगदान छ। व्यवस्था खराब होईन, थिएन। व्यवस्थाका खेलाडी खराब भएकाले यो अवस्था आएको हो। नयाँ पुस्ताका तथाकथित र नवोदित राजनेताहरुले एउटा कुरा बुझ्नु जरुरी छ, बीसौं शताब्दीको आरम्भमा अल्बर्ट आइन्स्टाईनले सापेक्षताको सिध्दान्त प्रमाणित नगरेका भए अहिले उनीहरुले ‘जीपीएस’ र ‘मोबाईल फोन’ चलाउने सुविधा हुनेथिएन। 

 


 

प्रतिक्रिया