विद्वानहरूको देश

 

bhagawat khanalएका देशमा एउटा बडो प्रतापी राजा थिए । एक दिनको कुरा हो । बिहान सबेरै राजसभाको बैठक बसिरहेको थियो । राजालाई अत्यन्तै गम्भीर देखेर सभाका अध्यक्षले बिन्ती गरे , ‘मैले महाराज गम्भीर हुनुको कारण जान्दछु ।’

राजा झनै गम्भीर भए । उनले मनमनै सोचे , ‘यो फटाहाले त थाहा पाएछ ए ! यो मोरालाई केही न केही दिइरहनु पर्छ । नत्र बित्यास पार्छ ।’

राजा आफ्नी नयाँ प्रेयसीलाई सम्झेर मानसिक छटपटीमा थिए । कहिले बैठक सकिएला र रनिवासतिर जाउँला भनेर आतुर । गम्भीर हुनुको कारण त्यही प्रेमरोग थियो ।

सभाध्यक्ष -  महाराज विह्वल भएको प्रजालाई कसरी सुखी र समृद्ध बनाऊँ भन्ने चिन्ताले नै हो ।

राजा - कसरी जान्यौ ?

सभाध्यक्ष  - मैले महाराजका आँखामा प्रजाका बलिन्द्रधारा आँसु देखिरहेको छु ।

राजा दङ्ग परे।

राजाको बेला बखत परिहास गर्ने आदत थियो । उनको परिहास सुनेर चाकरहरु अत्यन्तै पुलकित हुन्थे ।

एक दिन राजाले बिचार गरे - यी मूर्खहरु जे भने पनि पत्याउँछन् । अब अलि कडा दिनुपर्‍यो ।

राजाले आफ्नो साप्ताहिक भाषणमा भने - मेरा  पच्चिस  पुस्ता अघिका पूर्वजको पालामा हाम्रो राज्यका सबै खेतमा धान होइन चामल फल्थ्यो ।

राजाले सोचे - अब बुद्धिजीवी र विद्वान भनाउँदा  मूर्खहरुको तमासा हेरेरे मजा आउने भयो ।

एक दिन राजा अलि गम्भीर भए । राजाले सोचे - मैले परिहास ठानेर भनेका कुराहरु त वास्तवमा सत्य पो रहेछन् । उनी आफूले सही कुरा गरेर पनि सही हो भन्ने चाल पाउन नसक्ने आफ्नै मूर्खतामा एक्लै हाँसे । ‘मैले त्यत्तिकै बिना प्रमाण भनेका कुराहरुको कति कति प्रमाण , आहा !’

‌राजाले भाषण गरेको तीन दिनपछि देशको सबैभन्दा ठूलो  प्राज्ञको लामो लेख प्रकाशित भयो । उक्त लेखमा राजाका पुर्खा कस्ता थिए , कति प्रतापी , वीर र   प्रजावत्सल थिए आदि सारा वृतान्त थियो । लेखमा राजाका पूर्वजको समयमा फल्ने चामलको गुणस्तर , बास्ना उडेर जाने दूरी र चामलबारे समकालीन साहित्य आदि इत्यादि कुरासमेत उल्लेख थियो । प्राज्ञको प्रतिभाको चारै दिशामा मुरी मुरी प्रशंसा भयो ।

‌राजाले सोचे - मैले त त्यत्तिकै  हावामा भनेको हुँ । साँच्चै पो हो कि क्या हो ? मेरा पुर्खाको पालामा चामलै फल्दोरहेछ कि क्या हो ?

‌राजाले यसो बिचार गरे - अब झनै कडा दिनुपर्‍यो ।

‌साप्ताहिक भाषणमा राजाले घोषणा गरे - अब हाम्रो मुलुकमा चामल फलाउने योजना छ  । दुईवर्षभित्रमा धान खेतमा चामल फलाउँछु ।

‌आश्चर्य !  वैज्ञानिकहरुले लेखे - चामल फलाउन असम्भव छैन । हाम्रो देशमा कुनै बखतमा फलाएकै पनि हो ।  हाम्रा महान राजाले बडो सोचबिचार गरेर बक्सेको युगान्तकारी घोषणा हो यो । जसले यो घोषणाको मर्म बुझ्न सक्दैनन्  , ती मूर्ख हुन् । प्रायः सबै हर्षविभोर भए ।

‌कुनैकुनै ‘मूर्ख’ ले लुकिछिपी आपसमा मिल्ने साथी या पारिवारिक जमघटमा ‘चामल फलाउन त खै के सम्भव होला’  मात्र के भनेका थिए , त्यसको रिपोर्ट राजाका कारिन्दाकहाँ  पुगिहाल्यो ।

चामल फल्दैन भन्नेहरू पक्राउ परे । उनीहरूलाई राजाका कारिन्दाले विशेषज्ञको रोहबरमा बयान गराउँदै भने  - ल अब चामल फल्दैन भन्ने प्रमाण बता  !

‘‌चामल नफल्नु नै प्रमाण होइन र ?’  भनेर प्रतिवाद गर्ने दुई चार जनाको ठूलो फजिती भयो । त्यस्ता मानिसको खोटो नियतबारे विद्वानहरूले गम्भीर समीक्षा गरेर विज्ञप्ति निकाले । त्यसपछि कसैले पनि प्रतिवाद गरेन ।

‌राजाले सोचे - बडो सजिलो पो रहेछ  ! अब त साह्रै कडा दिनुपर्ने भयो ।

‌राजाले साप्ताहिक भाषणमा भने - अब यो देशमा कसैले काम गर्नुपर्ने छैन । सारा काम स्वर्गका अप्सरा आएर गर्नेछन् । अब समृद्धि र सुखका दिन आए आए । संसारभरिका मानिस हाम्रो सुख देखेर चकित हुने समय आयो !

अनौठा भयो ! बसिबसी खान पाइनेबारे लामालामा लेख प्रकाशित भए । अनेक  व्याख्यान दिइए । लेख र व्याख्यानमा  परीहरु कसरी आउनेछन् , कसरी फटाफट काम गर्नेछन् र कसरी भोगाकांक्षी प्रजाहरुका इच्छा समेत पूरा गर्नेछन् भन्ने विवरण उल्लेख भए । ती अत्यन्त प्रज्ञाले ओतप्रोत व्याख्यान र लेखहरूको मुक्त कण्ठले प्रशंसा भयो । तिनको विवेचना गर्दै प्रकाशित भएका समीक्षात्मक लेखहरु झनै गहन थिए  । कतिपय उम्दा लेखकहरूले राजाको प्रताप र व्यक्तित्वबारे पीएचडी गरे । उनीहरूले राष्ट्रिय प्रज्ञा पुरस्कार पाए । त्यस्ता विद्वानहरूले भटाभट राज्यका विभिन्न निकायमा नियुक्ति पाउन थाले I

‌एक दिन राजा अलि गम्भीर भए । राजाले सोचे - मैले परिहास ठानेर भनेका कुराहरु त वास्तवमा सत्य पो रहेछन् । उनी आफूले सही कुरा गरेर पनि सही हो भन्ने चाल पाउन नसक्ने आफ्नै मूर्खतामा एक्लै हाँसे । ‘मैले त्यत्तिकै बिना प्रमाण भनेका कुराहरुको कति कति प्रमाण , आहा !’

‌विद्वानहरु आफै जागरुक नहुने रहेछन् । राजाले सानो ‘हिन्ट्स्’  दिनुपर्ने रहेछ ।

‌‌अहिले त्यो राज्यको कुनै पनि खेतमा धान फल्दैन । धान भन्ने शब्द शब्दकोषबाट हटाइएको छ । त्यहाँ साराका सारा खेतमा ‘चामल’ फल्छ । ‘धान कुट्ने’  शब्दहरूको सट्टा ‘चामल फट्कार्ने’  शब्द प्रयोग हुन्छ । राज्यले खेतबाट ल्याइएको चामल ‘फट्कारेर मात्र खानू’ भनेर आदेश दिएको छ । ढिकी उही हो । प्रविधि पनि उही हो । राजाकहाँ चामल फल्ने गरेको प्रतिवेदन जान थालेको छ । त्यति मात्र होइन , बेला बखतमा गोप्य रूपमा अप्सराहरू पनि आउन थालेको समाचार पुर्‍याउने गरिएको छ । यदाकदा ‘तिनीहरूमध्ये सबैभन्दा सुन्दरी यिनै हुन्’  भनेर अस्थायीरूपमा कुनै युवतीलाई राजाकहाँ  पठाउने पनि गर्न थालिएको छ I  राजा देश समृद्ध र प्रजा सुखी भएको देखेर आनन्दले ओतप्रोत छन् ।  प्रजाहरू पनि समृद्धि र सुख भनेको यही हो भनेर मक्ख छन् ।

प्रतिक्रिया