अल–मुताइरीका ‘प्रिय खेलाडी’ मनिष बहराइनको क्लबमा अनुबन्ध

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध भएका छन्। उनी बहराइनको दोस्रो डिभिजन क्लब इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका हुन्। क्लबले मनिषलाई २०२२–२३ को सिजनका लागि अनुबन्ध गरेको हो।

इतिहादले सामाजिकसञ्जाल इन्स्टाग्राममार्फत् उनलाई अनुबन्ध गरेको जानकारी दिएको छ। उक्त क्लबले मनिषलाई कति रकममा अनुबन्ध गरेको हो भन्ने खुलाएको छैन।

दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल खेलेर नेपाल फर्किएका मनिषले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विराटनगर सिटी एफसीबाट खेलेका थिए। उनी दोस्रो संस्करणको एनएसएलका लागि पनि विराटनगरमै आवद्ध भएका छन्।

मनिषले सहिद स्मारक ‘ए’डिभिजन लिग भने साविकको विजेता मछिन्द्र क्लबबाट खेलेका थिए। पहिलो संस्करणको एनएसएल खेलेदेखि उनी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीको मुख्य रोजाइमा मैदान उत्रिरहेका छन्।

उनले विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्दै पहिलो गोल गरेका थिए। यस्तै, गत वर्ष असोजमा सम्पन्न साफ च्याम्पियनसिप माल्दिभ्सविरुद्ध एक गोल गरेका थिए।

कतार फुटबल एसोसिएसनको सहयोगमा नेपाल आइपुगेका अल–मुताइरीले फरवार्ड अञ्जन विष्ट र मिल्डफिल्डर तेज तामाङलाई पनि कुवेती क्लबमा आबद्ध गर्ने प्रक्रिया अगाडि बढाएका थिए।

अल–मुताइरीसँग नजिक रहेका एन्फाका पदाधिकारीका अनुसार तेजलाई मासिक ७ र अञ्जनलाई ६ हजार अमेरिकी डलरमा अनुबन्ध गराउन प्रक्रिया अगाडि बढाइएको थियो। ‘मनिषलाई जस्तै अञ्जन र तेजलाई पनि प्रशिक्षक विदेशी क्लबमा भित्र्याउन चाहन्थे। कुवेतमा एसिया कपको छनोट खेल्न जाँदा अञ्जन र तेजसँग त्यहीँ कन्ट्रयाक्ट गराउने योजना थियो। तर, प्रक्रिया मिलेन र पछाडि धकेलियो,’ ती पदाधिकारीले दृश्य टिभिसँग भने।

तर, गत वैशाखमा एएएफसी एसिया कप छनोटको तयारीमा रहेका बेला उपकप्तान रोहित चन्दले प्रशिक्षक अल–मुताइरीसँग ‘विद्रोह’ गरे। यी दुई खेलाडी पनि चन्दको ‘विद्रोह’को सिकार भएका थिए। त्यसयता नेपाली टोलीबाट बाहिर रहेका अञ्जन र तेजलाई अल–मुताइरीले पुन: पत्याएका छन्। 

अल–मुताइरीले बंगलादेशसँग तय भएको मैत्रीपूर्ण खेलमा ‘विद्रोह’ गरेका ११ सिनियर खेलाडीबाट उनीहरू दुईलाई मात्रै बोलाएका थिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) हालका अध्यक्ष पंकजविक्रम नेम्वाङसँग र खेलाडीसँग भएको टसलका कारण उनको विकल्प खोज्ने प्रयासमा छ। त्यसैले आगामी असोज दोस्रो साता बंगलादेशसँग घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको छ।
 

 

प्रतिक्रिया