मेरो देशको कविता 

सुदूर गाउँमा हुर्केका  
हर्कबहादुर राजधानी आए
आफन्तले पशुपतिनाथको दर्शन गराए।

उनले धेरैलाई सोधे 
'देश बिग्रेको खबर सुनिन्छ,
कसले कसरी बिगार्दैछ देश?' 
शाखा अधिकृत भाञ्जा बोले, 
'मामा, म त मामुली कर्मचारी 
मैले पनि बुझेको छैन 
कसले बिगार्दैछ देश !'

एकदिन भााञ्जाले सिंहदरबार लगे 
हर्कबहादुरले सिंहदरबार देखे।
केटाकेटी छँदा गाउँमा कुखुरा चोर्ने 
उनको बालसखा मंत्री थिए।

हर्कबहादुरले साथीलाई सोधे, 
'हाउ साइँला, तिमेरुले पो देश बिगारेको 
ठहर गरेका छन्,गाउँका मान्छेले।
गाउँको देवीथानको किरिया खाएर भन त 
कसले भत्काउँदैछ देश? 

मन्त्रीले जवाफ दिए, 
'हेर हर्के, तँ र म कुच्चिएको हलुंगेको थालमा
ढिँडो गुन्द्रुक खाएर 
सँगै हुर्केका साथी
किन ढाँट्नु र तँलाई।

देश त उनीहरुले बिगारे,
जो एक माना रक्सी 
एक थाल मासुभात र 
एक हजार रुपियाँ लिएर 
हामीलाई उनीहरूले 
ठूलो मान्छे बनाए।

दोष मेरो पनि छ, 
नसक्ने भारी बोकेर हिँड्न खोजेको छु
दोष ती सबैले बोक्नुपर्छ 
जसले नेपाल र नेपालीको 
शिर झुकाएर खिर खाँदैछन्।
( पत्रकार गौतम सुपरिचित विश्लेषक हुन्, बेलाबेला लेखिएका उनका कविता उत्तिकै रुचाईन्छन्)

प्रतिक्रिया