अन्धकारबाट मुक्त गर्छन् गुरु

Binda Acharya

गुरु शब्द संस्कृत भाषाको ‘गु’ को अर्थ अन्धकार  र ‘रु’ को अर्थ हटाउने अक्षरको संयोजनबाट बनेको छ। अन्धकार हटाई उज्यालो तर्फ यात्रा गराउने शिक्षक, मार्गनिर्देशक, पथप्रदर्शक वा प्रेरणादायी ब्यक्तित्व नै गुरु हो। यहाँ अन्धकारले अज्ञानता र उज्यालोले ज्ञानलाई संकेत गरेको छ। ज्ञानको ज्योती बालेर जसको उज्यालोले विषय वा वस्तु माथी प्रकाश पारी अन्धकार रुपि अज्ञानता हटाउने भएकोले वैदिक सनातन परम्परामा गुरु  शब्द अत्यन्त सम्मानजनक र प्रिय छ। शिक्षा वा दीक्षा दिने ब्यक्तित्व गुरु हुन सक्छ तर सत्यको मार्ग पहिल्याएको, सत्य देखेको गुरु वास्तवमा सदगुरु हुन्छ। योग र अध्यात्मका आदिगुरु भगवान शिव हुनुहुन्छ, ध्यानको माध्यमद्वारा सत्,  चित् र आनन्दमा पुग्ने ज्ञान सप्तऋषि मार्फत मनुश्य जगतलाई दिनु भएको छ।

गुरुवाट ज्ञान हस्तान्तरण गरी जीवन रुपान्तरण गर्ने यो दिब्य परम्परालाई ऋषिमुनि तथा सद्गुरुहरुले निरन्तरता दिँदै आउनु भएको छ, जुन आजपर्यन्त जीवन्त संस्कृतिको रुपमा रहेको छ। अध्यात्मिक मार्गमा लाग्ने, योग साधना गर्ने र गुरु–शिष्य परम्परामा योग शिक्षामा सबैभन्दा धेरै प्रार्थना गरिने गुरुमन्त्रः ॐ गुरुर्ब्रम्हा गुरुविष्णु गुरुदेव महेश्वरः। गुरु साक्षात् परब्रम्ह तस्मै श्रीगुरवे नमः ।। जसको अर्थ हुन्छ– गुरु ब्रह्म समान छन्, गुरु बिष्णु समान छन्, गुरु भगवान शंकर समान छन्, गुरु साक्षात परब्रम्ह हुन्, त्यस्ता गुरुलाई अन्तसहृदयबाट नमन गर्दछु। यो श्लोकको उच्चारण र अर्थबाट महसुश गर्न सकिन्छ,  गुरुलाई सर्बोच्च स्थानमा राखिएको छ। गुरु–शिष्य परम्परामा गुरुको महिमा गाएर थाकिदैन्, गुरुनाम अत्यन्त श्रद्धापूर्वक लिईन्छ। 

वैद्धिक सनातन परम्परामा परम ज्ञान र दिब्य शक्तिका केन्द्र गुरुलाई भौतिक, मानसिक तहको श्रद्धा र त्यो भन्दा माथी भावनात्मक, राजकीय र अध्यात्मिक उच्चकोटीको सम्मान थियो। वैद्धिक गुरुमन्त्र र प्रार्थनाबाट थाहा हुन्छ, गुरुलाई भगवान वा परब्रम्हको कोटीमा राखिएको छ। अध्यात्मिक गुरुको प्रभाव क्षेत्र भौगोलिक सिमानाले बाँध्न सक्तैन, गुरुसत्ता देश भन्दा माथी र समय सिमा भन्दा परसम्म जीवित रहिरहन्छ। यस्ता सद्गुरुलाई सम्झिदा मात्र पनि अत्यन्त श्रद्धेय लाग्नु पर्छ, गुरुलाई देवता जस्तो पूजनीय लाग्नु पर्छ, गुरु महिमा परम बन्दनीय हुनु पर्छ र गुरुको दर्शन पाएमा अश्रुधारा बहनु पर्छ, गुरुप्रतिको भक्तिभाव मनुष्य हृदयको सबैभन्दा गहिरो तलमा पुगी पृथ्वीको गर्भमा जडतत्व पग्लिएर लाभा बनी धर्ती फुटेर बाहिर निस्किए जस्तै छताछुल्ल पोखिनु पर्छ।

यदि त्यस्तो भक्तिभावले हृदय पग्लियो भने बुझ्न ढिला गर्नु हुँदैन, सद्गुरुको द्वारमा पाईला परिसकेको छ। सद्गुरु भेटेकोमा धन्य हुनु पर्दछ, कृतज्ञता भावले भरिनुपर्दछ। त्यस्तो गुणवेत्ता भएको पूर्ण सत्मार्गी सद्गुरुले दिएको मार्गदर्शनवाट सत्यको मार्गमा हिँड्न सकिन्छ, सही गन्तब्य तय गर्न कुनै वाधा ब्यवधान आईपर्ने छैन, जहाँ मार्गमा संकट आईपर्छ श्रद्धा, भक्ति र समर्पणको डोरीले गुरुतत्वलाई तानेर ल्याईहाल्छ। तत्काल कृपाको अनुभूति हुन्छ।  

चरम भौतिकवादी युगमा, लाभ–हानी, नाफा–घाटाको हिसाव गर्ने, धेरै बुद्धि चलाउने यो युगमा यस्ता कुराहरु आदर्शवादी लाग्न सक्छन्। आध्यात्मिक मार्गमा भक्तिभाव, श्रद्धाभाव उत्पन्न गर्न सकिदैन भने कसैलाई गुरु मानिहाल्नु, कमजोर संकल्प गरिहाल्नु हतार हुनसक्छ।  जिज्ञासुले सोधेका प्रश्नहरुको खुरुखुरु उत्तर दिने शिक्षक हुन सक्छ। आफू भित्र गहिराईमा र विराट चेतनामा पुगेर हामीलाई प्रश्न उब्जाउन सक्ने बनाउने र ती प्रश्नको उत्तर खोज्ने क्रममा आफ्नो स्पन्दनसम्म पुग्ने उर्जाले भरिदिने अन्तर्प्रेरणा नै गुरुतत्व हो। 

सद्गुरुको कृपा प्राप्त भएपछि एक साधकको अनुभूति यस्तो रहेको छ, “अज्ञानताले जताततै अन्धकार थियो। आँखा खोल्दा होस् या आँखा बन्द गर्दा होस्, दिन होस् या रात होस् निष्पट्ट अँध्यारोको मात्रा बढ्दै थियो। अन्धकारले जीवनमा अशान्ति र निराशा ल्याएको थियो। बेचैन मन लिएर भौतारिने क्रममा एक दिन यस्तो गुरु भेट्टाए, गुरुले शान्त तर रहस्यमयी तवरले मुस्कुराउँदै मनको बत्तीमा दिप जलाईदिनु भयो।

मैले आफैंलाई जल्न दिईरहे, साधनाको तेल थपिरहें, भित्र कतै टिलपिल बलिरहेको उज्यालो विस्तारै शरीर हुँदै बाहिर आकाशसम्म फैलियो। आशाका किरणहरु गाढा र चम्किला हुँदै आए र एकआपसमा लयबद्ध  भए। त्यसपछि आँखा खोली हेर्दा सुन्दर संसार पो देखियो। स्वयं आफैं भित्रको ज्योती देखाई दिने, अभावलाई भावमा परिणत गरिदिने र जीवन उर्जाको मूलध्वनिमा सुरताल मिलाईदिने सद्गुरुलाई लाखौं लाख धन्यवाद।’

मानिस आफ्नै अन्तर्प्रेरणाबाट मनमा उब्जिएका प्रश्न माथिको गहिरो खोजी गर्न, जीवन यात्रामा आएका समस्याको समाधान गर्न र कर्मयोग प्रतिको लगावले सत्यको नजिक पुगेर उत्तर पाउन सक्छ, मार्गनिर्देशक गुरुतत्व आफैं भित्र भेट्टाउँछन् तर सबैले यस्तो शौभाग्य  पाउँदैनन्। अधिकांश मानिस अन्धकार र अज्ञानताको चक्रमा रुमल्लिरहेका हुन्छन, कति हण्डर ठक्कर खादै दुःख पिडाको उपचारको खोजीमा सल्लाह, सुझाव, परामर्श लिन गुरु खोज्दै भौतारिन्छन्। गुरुसँगको संगत र सामीप्यबाट तत्कालको समस्या समाधान गर्नु, तुरुन्त लाभ पाउनु वा आफ्नो ईगोलाई आकार दिनु उनीहरुको उदेश्य हुन्छ। जन्मांैजन्मको संस्कार र संचित विकारले साधनामा निरन्तरता दिन, गुरुको मार्गनिर्देशनको परिपालना गर्न र गुरु प्रतिको श्रद्धाभाव उत्पन्न गर्न सक्दैनन्।

हामीले जे जती असल र राम्रा काम गरेका छौं, त्यो सव ईश्वरको अनुकम्पा र गुरुको कृपा प्रसाद हो र सद्गुरुको मार्गनिर्देशन अनुरुपको प्रयासको फलस्वरुप आर्जित ज्ञानबाट गरेका हौं र जे जती जानी नजानी खराव काम गरेका छौं वा गर्न सकिने संभावना जती काम गर्न सकेका छैनौं, त्यो सव आफ्नो अज्ञानताको कारणले, ईश्वरीय उर्जासँगको वियोगको कारणले, सद्गुरुको छत्रछायाँको अभावको कारणले हो भन्ने कुरा जव स्वीकार गरिन्छ तब ईश्वर प्रति, सद्गुरु प्रति र आफैंभित्र निहित गुरु रुपि आत्मतत्व प्रति असिम श्रद्धा जागृत हुन्छ।

भगवद् गीताका अनुसार जे जती कर्म गरिन्छ, आफ्नै ज्ञान अनुसार स्वयंमा जिम्मेवारी लिएर आत्मवलका साथ गर्नु ज्ञानयोग हो भने आफूले मानेको कुनै इष्टमा वा गुरु प्रति समर्पित भएर जे जस्तो परिणाम आउँछ, त्यसलाई उनैको कृपा ठानी स्वीकार गर्नु भक्ति योग हो। परमात्मा प्रकाशित हुनुभएका सद्गुरु भन्नुहुन्छ– आफैं भित्र भएको गुरुतत्व जागृत गर्न ज्ञानयोगमा सहज हुन्छ। वाह्य जगतमा परमात्मा साक्षात्कार सद्गुरुको सामीप्यमा पुग्ने सौभाग्य पाएमा मनुष्यले असल र ब्यवहारिक मार्गनिर्देशन पाउन सक्छ, नकारात्मक उर्जालाई हटाएर सकारात्मक ईश्वरीय उर्जा आकर्षित गरी जीवनको परम संभावनालाई उजागर गर्न र आफूले चाहेको रुपान्तरण ल्याउन सकिन्छ।

यस्तो साधकले आफैं भित्र अन्तरनिहित गुरुतत्वलाई चिन्न सक्छ, संकेत बुझ्न सक्छ, आत्मचिन्तन गर्न सक्षम बन्दछ। के ठिक के बेठिक थाहा पाउँदछ। विशुद्ध चेतनामा रहेर गरेका निर्णयहरु कहिल्यै गलत हुँदैनन्, गुरुले यही बोध र चेतनामा पुग्ने मार्ग सिकाईदिनु हुन्छ। यही हो ईश्वर कृपा, यही हो सत्मार्ग, यही हो सद्गुरुको आशिर्वाद।

ईश्वरलाई साक्षात्कार गर्नुभएका सद्गुरु भन्नुहुन्छ, ‘अथक साधना स्वयंसँगको प्रेम हो, निश्वार्थ सेवा प्राणी र पर्यावरणसँगको प्रेम हो, असीम श्रद्धा गुरुसँगको प्रेम हो, अनन्य भक्ति ईश्वरसँगको प्रेम हो।’

गुरु–शिष्यको सम्बन्धको आधार सृष्टिकर्ताकै प्रेम करुणाको संचार र विस्तार हो। गुरुले प्रेम करुणाको स्रोतमा पुगेर सोझै आफू मार्फत प्रसारण गरिदिन्छन्। गुरुको प्रेम र करुणा कहिल्यै रित्तिदैन, शिष्यका लागि मात्र होईन, सबैका लागि, तर गुरुको आभाभित्र अटाउने, स्थान सुरक्षित गर्ने प्रयास भने गर्नु पर्दछ, शिष्य वा साधकले। सामान्य मानिसले आफ्नो र परिवारको भरणपोषणको लागि खाना, आवास  र कपडा जुटाउन, स्वास्थ्य शिक्षाको प्रबन्ध, अर्थोपार्जन, सम्पत्तिको संरक्षण र ब्यवस्थापन, धार्मिक अनुष्ठान, विविध संघसंस्थामा संलग्नता, शैक्षिक योग्यता हासिल गर्न र पद प्रतिष्ठाकै लागि यस्तै यस्तै दैनिकीमा जीवन उर्जा ब्यतित गर्दछ।

नितान्त आफू र आफ्नो परिवारको लागि काम गर्छ, धन कमाउँछ, समय कटाउँछ, ब्यक्तिगत पारिवारिक दायराको खुसी, सुख र सुविधामा  रमाएको हुन्छ। महान आत्माको रुपमा अवतरित सदगुरुमा दैवी इश्वरीय गुणको अंश प्रचुर हुन्छ, जो  ईश्वरले पत्याएको जीवात्मा हुन्छ। 

जीवन र जगतका रहस्यहरुमा जानकारी राख्ने सामर्थ्य राख्दछ। कसरी बढी भन्दा बढी मनुष्य, प्राणी यो अस्तित्वमा, यो प्रकृतिमा सुख, शान्ति र आनन्दमा बाँच्न सक्छन्। ब्रम्हाण्डीय उर्जाको समुचित ब्यवस्थापन गरेर कसरी आफ्नो परम संभावनाको प्रस्फुटन गर्न सक्छन् भन्ने कुरामा अध्ययन, अनुसन्धान, परिक्षण, विचार मन्थन गर्दछन। जप र तपमा आफैंलाई जलाउँदछन्। साधना र सिद्धीका अनुभव र अनुभूतिको सदुपयोग गर्दछन्। ब्यक्तिगत दैनिकी भन्दा माथी उठेर साझा हित र कल्याणको लागि आफ्नो समय ब्यथित गर्दछन्। गुरुको परिश्रम मेहनत, गुरुको साधना र सिद्धी, गुरुको जीवन उर्जाको लगानी विश्व कल्याण, मानव हितमा बढोत्तरी ल्याउन र मानव चेतना माथी उठाउन, बेहोशीवाट होसमा ल्याउन, सजग बनाउन, असल संस्कारहरु परिचित गराउनका लागि हुन्छ। 

सर्बे भवन्तु सुखिनको मूलभावमा रही सद्गुरुले शुरुवात गरेका लोककल्याणकारी कार्यले सेवाभाव भएका मानिसहरुलाई एकठाँउमा ल्याएर उभ्याईदिन्छ। अध्यात्मिक, सामाजिक विकासका अभियानमा सत्सँग र सहकार्य गर्न प्रेरणा प्रदान गर्दछ। भगवान बुद्धले आफ्ना भिक्षुलाई भन्नु भएको थियो, “बुद्धम् शरणम् गच्छामी (बुद्धको शरणमा जाँउ), संघम् शरणम् गच्छामी (संघको शरणमा जाउ), धम्मम् शरणम् गच्छामी (धर्मको शरणमा जाँउ)” जसको अर्थ हुन्छ, आत्म–प्रकाशित बुद्धत्व प्राप्त सद्गुरुकोमा जाउ, समूहमा बसी काम गर र धर्मको आचरण गर।

सच्चागुरुले शैक्षिक संस्था त्यागेको विद्यार्थी, परिवारले नपत्याएको मान्छे, प्रकाशको अभावमा अन्धकारले भरिएको, निराशाले घेरिएको, विगतबाट पिरोलिएको र  भविष्य माथि भय साँचेको मान्छेलाई सहारा आड भरोसा दिनुहुन्छ। गुरुकुलमा कसैलाई उपेक्षा गरिदैन, सबैको अपेक्षामा गुरुको सदीक्षा हुन्छ। स्वागत, समाबेशीता र सहकार्य गुरुकुलको धर्म हो। गुरुकुलमा स्व–अनुशासनमा जोड दिईन्छ, सेवा हि परमो धर्म गुरु–शिष्यको सहकार्यको आधार हो।

साधनापथमा अगाडी बढेको दृढ संकल्पयुक्त साधक देख्दा आफूले देखाएको उज्यालोको मार्ग छिचोल्नेछ र आफ्नो प्रयासले सार्थकतामा पाउने आशामा सद्गुरुको मन आल्हादित हुन्छ। परब्रम्ह परमात्माद्वारा गुरु मार्फत निःसृत ईश्वर विधानले प्रामाणिकता हासिल गर्नेछन्, जुगांैजुगसम्म जीवित रहन्छन्, जसबाट मनुष्य जगतले सुख, शान्ति र आनन्दको परमार्थिक ब्यवहारिक ज्ञान हासिल गर्नेछन्। गुरुले मानिसका अहिलेसम्म कसैले नसुनेका कुरा सुनिदिन्छन्, नफुकेका गाँठाहरु फुकाई दिन्छन्।

नसुल्झिएका समस्याहरु समाधानको उपाय बताई दिन्छन्। विक्षिप्त आर्तहरुका राप र तापलाई साफ गर्नु गुरुको कला हो। जस्तोसुकै प्रतिकुल अवस्थावाट मुक्ति पाउने जुक्ति सिकाउँछन्। उपदेश दिनु मात्र होईन, उसको आफंैभित्र रहेको गुरुतत्वको खोजी गर्न सक्षम बनाउनु, ब्रम्हाण्डिय उर्जासँग तारतम्य मिलाएर आफ्नु परम संभावनाको प्रस्फुटन गर्न सक्षम बनाउनु हो। 

गुरुदरमा धनी–गरिव,  दुःखी–सुखी,  ठूलो–सानो,  ज्ञानी–अज्ञानी, चोर–साधु भनी कित्ता छुट्याएर प्रवेश विन्दुमा नै छनौट गर्ने ब्यवहार बर्जित गरिएको हुन्छ, गुरुलाई राम्रोसँग थाहा हुन्छ, प्रवेशविन्दुमा छानेको ब्यक्तिसँग काम गर्न सजिलो छ तर गुरुको लक्ष्य छान्नु होईन ईश्वरको आदेश मान्नु हो। सच्चा गुरुको खोजीमा यताउता भौंतारिएको मनुष्य, मनको घोडामा लगाम लगाउन नसकी लत कुलतमा फसेको मनको दास, ज्ञानको भोको ब्यक्ति, अंहकार पहिचान स्थापना गर्ने उत्कट चाहना बोकेको आकांक्षी  सबैको लागि गुरुद्वारा खुला हुन्छ।

यसरी आएको आगन्तुकलाई रोज्न होईन सत्य के हो भनी खोज्न, आफ्नै आत्माको आवाज बुझ्न अभिप्रेरित गर्नु, साधनाको क्रममा साधकलाई भावको सागरमा डुब्नवाट रोक्नु होईन, मुर्खतापूर्ण भावुकतामा लगाम लगाउन सिकाउनु, भावसागरमा सहज रुपमा डुबेर उत्रिन र छालसँगै बग्न दिनु गुरुका कुशल प्रशिक्षण विधि हुन्।

आफ्ना साधनाका प्रतिफल र सिद्धीहरुको दुरुपयोग गरी त्यसको बैयक्तिक फाईदाको लत लागेका पथभ्रष्ट कथित गुरुहरुका कुकृत्यले गर्दा सच्चा गुरुहरु माथी कहिलेकाँही आम आशंका, आरोप प्रत्यारोप लाग्ने गर्छ। जो सच्चा छ, जो सत्यको आडमा टिकेको छ, जसलाई कारण–परिणाम थाहा छ, जो ईश्वरको नियमसँग तादाम्य राख्दछ, उसलाई के गर्नु हुन्छ र के गर्नु हुँदैन राम्रोसँग जानकारी हुन्छ। बजारको लोकप्रियता, लाभ र स्वार्थसँग केही चासो हुन्न सदगुरुलाई।

सच्चा साधक–शिष्यले आफ्ना गुरुप्रति सुन्नु पर्ने आलोचना, आशंका वा आरोपमा हतारमा प्रतिक्रिया नजनाउनु बुद्धिमानी हुन्छ, कसैलाई स्पष्टिकरण दिईरहनु पर्ने आवश्यकता छैन, सत्य अल्पमतमा परोस तैपनि सत्य सत्य नै हुन्छ। असल नतिजा र सकारात्मक परिणामले सबै कुरा बताउँदै जान्छन्। त्यही भएर त भनिएको छ, समयले सबै कुरामा मलमपट्टी लगाउँदै जान्छ, समयले प्रमाणित गर्दै जान्छ, समयको कठघरामा सत–असत छुट्टिन्छ। जन्म र मृत्युको सन्धीकालमा, जन्मौजन्मको जीव रुपान्तरणकालमा कर्मबन्धनले धोका खाने छैन। 

एकजना परमात्मा साक्षात्कार सद्गुरुले ईश्वरअनुभूति पश्चात भन्नु भएको थियो ‘मलाई जे अनुभव भयो त्यो आनन्द र उल्लास भन्दा बढी थियो। मैले परमानन्दले गर्दा आफंैलाई विर्सें, यस अवर्णनीय र असहनीय आनन्दसँगै मलाई यस संसारका राम्रा पक्षहरुको बोध भयो। मलाई अकिञ्चन खण्डन भन्दा माथी यो विश्वास भयो की “मनुष्य हृदयतः असल हुन्छन्, दुष्ट्याईं त उनीहरुको आडम्बर मात्र हो।’ 

यस्ता महापुरुषको वाणी र ब्यवहारबाट थाहा हुन्छ, उ कत्ति प्रकाशित आत्मा हो भनेर। एउटा सामान्य साधकले थाहा पाउन सक्छ, महशुस गर्न सक्छ। गुरुका वाणीका स्रोत के हुन्? कहाँवाट आएका हुन् ती शब्दहरु र ती शब्द उत्पत्ति हुनुका पछाडि के कारण होलान्?  यस्ता सद्गुरुले जीवन र जगतलाई बाहिरवाट सत्यम्, शिवम्, सुन्दरम् र भित्रबाट सत्, चित्, आनन्दको रुपमा बुझेको हुन्छ, अरुलाई पनि यो कुरा बुझाउनु आफ्नो कर्तब्य ठान्दछ। संसार सबै बुझेपछि पनि सद्गुरुले आफ्नो कर्म छोड्दैनन्। सत कर्म र सत चरित्रबाट उदाहरण बनेर सधंै आत्मोन्नति, आत्मोत्थानको परिचायक बन्दछन्। 

सद्गुरुका सत्कर्मको फैलने र विस्तार हुने चाहना हुनु ब्रहाण्डीय नियमसँगको लयात्मक प्रबृत्ति हो। यस्तो दिब्य कार्यमा सहभागी बन्नु साधनाको खुट्किलोमा, सेवाको मार्गमा आफूलाई कर्मयोगी सावित गर्ने राम्रो अवसर बन्दछ। योग, साधना, भक्ति, सत्संग, सेवा, सहकार्य जस्ता क्रियाकलापले आत्म विश्वास जगाउँछ, म बाट हामी भन्न लगाउँछ। ब्यक्तित्व, नेतृत्व क्षमता विकास गर्दै समग्र जीवन उर्जा ब्यवस्थापन गर्ने कला सिकाउँछ। सद्गुरुले कर्म गरेर उदाहणीय बन्नु आफ्नो धर्म ठान्दछन्।

सद्गुरुको कर्तब्य परब्रम्ह परमात्माको दिब्यपरम् कल्याणकारी सन्देश प्रवाहित गर्नु  बन्दछ। गुरुको असली कर्म प्रेमको संचार गर्नु हो, प्राण उर्जाको सुचालक बन्नु हो। गुरुदक्षिणासँग गुरुलाई कुनै सरोकार हँुदैन। निःशर्त, निस्वार्थ र निर्वाध प्रेमले गुरु हृदय पोखिन्छ, ईश्वरीय प्रेमको मूलमा पुगेर गुरुहृदय मार्फत प्रबाहित प्रेमोत्पन्न करुणा बगिरहन्छ। जीवन र जगतमा कहिल्यै रित्तिदैन गुरुप्रेम। बढ्दै फलदै प्रशारण हुँदै जान्छ शिष्य मार्फत। गुरुप्रेमको अनुभूति भाव स्पन्दनको गहिरो तहमा रसपूर्ण मिठासयुक्त हुन्छ, भरोसायोग्य हुन्छ।

गुरु परिवार प्रतिको श्रद्धा र आभार विना गुरु भक्ति अपूर्ण हुन्छ। मनुष्य स्वरुपमा रहेको सद्गुरुले एउटी ममतामयी माताको पुत्रको रुपमा, एउटी नारीको पतीको रुपमा, सन्तानको पिताको रुपमा, अन्य ईष्टमित्र परिवार आफन्तको अविभावकको रुपमा, बहुचारीत्रिक बहुआयामिक भूमिकामा उत्तिकै कुशलतापूर्वक निभाउनु पर्ने कर्तब्य बन्नजान्छ। यस्तो गतिशिल बहुआयामिक चरित्र निभाउन सक्ने सद्गुरु प्रति, बहुजन हिताय; बहुजन सुखायका लागि ब्यक्तिगत अपेक्षाहरुमा लगाम लगाउने गुरु परिवार प्रति धन्यवाद, कृतज्ञता र आभार प्रकट गर्नु असल साधक साधिका हुनुपर्ने गुण हो। यो आभार, यो कृतज्ञता, यो धन्यवाद गुरुका लागि होईन, यो त साधकको आफ्नै मन शुद्धिकरण गरी नौनी झैं मुलायम बनाउन र भक्तिभाव निखार्नलाई हो। भक्तिको मिठास भरी त्यसको रसास्वादन गर्नलाई हो। 

गुरुसत्ताको क्षेत्रमा गुरुतत्व वा गुरु जब सद्गुरुमा रुपान्तरण हुन्छ तब गुरुका हरेक श्वास, हरेक वाणी, हरेक क्रियाकलाप परम कल्याणकारी हुन्छन्।  ती सुकृत्यहरुले मुक्ति र मोक्षको मार्ग प्रशस्त गरेका हुन्छन् । त्यो परम सामिप्य महशुस गर्ने पात्र बन्न सक्नु भयो, अनुभूतिजन्य क्षमता बनाउनु भयो भने चरण– चरणमा, मोड–मोडहरुमा सद्गुरुको मार्गनिर्देशन हुनेछ, पलपलमा मुक्तिको मार्ग प्रशस्त हुनेछ।

भौतिकस्तरमा उपस्थितिको चाहना रहनेछैन, अगाडी देखापर्ने र प्रभाव देखाउने मूर्खतापूर्ण ईच्छा हराउनेछ। सद्गुरुसँगको अटुट सम्बन्धनको रुपमा सद्गुरुको महाआकाशमा तपार्इं सानो आकाश मिसिनेछ। गुरुप्रेमको महासागरमा, गुरुको अनन्त चेतनामा तपाईंको चेतनाको अंश चुम्वकमा टाँसिएको झैं टाँसिनेछ, सत्चित्आनन्दको बलियो मिहिन डोरोले बुनिएको जालो, हो यही त हो  गुरु–शिष्य–परमात्माको अटुट सम्बन्ध, सनातन सनातनका लागि। (योग ध्यान साधक)

 

प्रतिक्रिया