अन्तर्राष्ट्रिय योग दिवस

उमेर छँदै हाँस्दै खेल्दै ध्यान गरौं  

योग नेपाल भूमिमा उद्भव भएको ज्ञान र अबलम्बन गरिएको संस्कृति हो। हिमवत्खण्डको मुख्य श्रृंखला पर्ने पवित्र भूमिमा मनुष्यका लागि सबैभन्दा कल्याणकारी दिब्य ज्ञान अवतरित हुनमा यो भूखण्डको भौगोलिक बनावटको भूमिका हुन सक्छ। जमिन मूनि पृथ्वीको तलमा ईण्डियन प्लेट र तिब्बतीयन प्लेट जोडिएको छ। त्यही आधारशिला माथी नेपाल भूमि स्थित छ।

भनिन्छ– माथी आकाशबाट पृथ्वीमा  ब्रह्माण्डीय उर्जा खस्ने ठाउँ कैलाशपर्वत केन्द्रमा रहेर हिमालय श्रृंखलाको सेरोफेरो रहेको छ। योग भनेको जोडिनु हो। पृथ्वीमाता, प्रकृतिमाता र आकाश पिता एक भएको, जोडिएको अवस्था। मन, शरीर र चेतना जोडिएको वा एक भएको अवस्था योग हो। मानवताको लागि योगले मानिसलाई एउटा असल मानिसको रुपमा देख्न खोजेको छ।


प्रसङ्गवस आठौं अन्तर्राष्ट्रिय योग दिवसको यस पटकको आशय मानवताको लागि योग रहेको छ। अन्तर्राष्ट्रिय योग दिवस जुन २१ पृथ्वीमा सबैभन्दा लामो दिन अर्थात धेरै समय उज्यालो हुने अद्भूत संयोगको दिन हो। योगका आदिगुरु भगवान शिवले पहिलो पटक योगको दीक्षा सप्त ऋषिलाई दिनु भएको दिन समेत हो। विश्व स्वास्थ्य संगठनले समेत मानवको समग्र स्वास्थ्यको लागि शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक रुपमा स्वस्थ हुनु जरुरी ठानेको छ। 


बुढेसकालमा योग ध्यान गरौंला, अहिले त मोजमस्ती गर्ने बेला हो भन्ने आम धारणा पाईन्छ। महान गुरु गोरखनाथ भन्नुहुन्छ– हसिवा खेलिवा करिवा ध्यानम् अर्थात् हाँस्दै खेल्दै ध्यान गरौं। योग आफूलाई भोग्य नबनाई भोक्ता बनेर मोजमस्ती गर्ने विधि हो। योग ध्यानमा जत्तीको मोजमस्ती र आनन्द  संसारको अरु कुनै कुरामा छैन। न भोजन नत कपडामा, न सम्बन्ध नत यौन सम्बन्धमा, न भ्रमण नत तिर्थब्रतमा, न पूजा नत पाठमा, न बस्तु नत विषयमा।

आम मान्छेले खोज्ने भनेको मनोरञ्जन हो तर योग ध्यानमा त्यो भन्दा भित्र गहिरो र त्यो भन्दा बाहिर फराकिलो दायरामा आत्मारञ्जन प्राप्त हुन्छ। बाहिर संसारका खानेकुरा, लगाउने कुरा, सम्बन्ध बनाउने कुरा, घुम्ने डुल्ने कुरा, सरसामान जोड्ने जस्ता बोक्रे कुरामा अल्झिएको छ। आफैंलाई भोग्य बनाएर लघु प्राप्तिमै अल्मलिएको छ। अध्यात्मका औजार हुन् श्रद्धा, प्रेम  र भक्ति । स्वयं प्रति प्रेम,  योगका प्रणेता सन्त, महात्मा, ऋषिमुनीहरु प्रति श्रद्धा र ईश्वर परमात्मा प्रति भक्तिले आध्यात्मिक चरित्र र स्वभावको बन्न मद्दत गर्दछ।


विराट प्राप्तिको संभावना हुँदाहुँदै आफ्ना बानी ब्यहोरा, लत वा कुलत र दिनानुदिनका संस्कारमा बाँधिएर सिकुडिएको छ मानव चेतना। बजारमा उत्पादन भएका सबै बस्तुको उपभोग गर्नु नै पर्ने जस्तो गरेर आफूलाई प्रयोगशाला बनाएको छ मनुष्यले। भौतिक विज्ञानले ह्वील चेयरको आविष्कारलाई प्रगति मान्दछ भने योग विज्ञानले सय बर्षसम्म पूर्ण होस चेतका साथ ठमठमी हिँड्नुलाई प्रगति ठान्दछ।

मानिस केही कारणले अशक्त भयो भने उसलाई औषधी, मेशिन र उपकरणको सहाराले जिर्ण शरीर लिएर र दीर्घ रोगी भएर बाँच्नु प्रगति हो कि? योगमय जीवनशैली अपनाएर फुर्तिलो र जागृत भएर बाँच्नु ठूलो कुरो हो। केही गरी रोग लागी हाले त्यसबाट मुक्त हुनु ठूलो कुरो हो। वैदिक शान्ति मन्त्रले मनुष्यको आयु र आरोग्यको लागि भन्छ–

ॐ भद्रं कर्णेभिः शृणुयाम देवाः। भद्रंपश्येमाक्षभिर्यजत्राः।

स्थिरैरङ्गैस्तुष्टुवागँसस्तनूभिः। व्यशेम देवहितं यदायूः।

अर्थात् हामी सदैव कल्याणकारी बचनहरु आफ्नो कानले सुनौं। नेत्रले सधैं कल्याणकारी दृश्यलाई नै देखौं। पुष्ट अङ्गहरुले युक्त सुदृढ शरीरका साथ हामी हजुर परमेश्वरको बन्दना गर्दै पूर्ण आयुसम्म जीवित रहन सकौं। हामी कल्याणकारी कार्यमा यसको उपभोग गर्न सकौं। यस्ता मानवताका, शान्तिका, साझा हितका, सद्भावनाका  पाठ हजारौं बर्ष पहिला नै हाम्रा अग्रज ऋषिमुनिहरु जसले मानव चेतनाको पराकाष्ठा छोएका थिए, उनीहरुले सिकाएका थिए। 
 
अरु उपाय भन्दा योग किन सर्बोत्कृष्ट छ भने यसले शरीरको मलविकार, चित्तको विक्षेप र भावको आवरणलाई हटाउँछ। शरीर, मन र भावनाको तहमा शुद्धिकरण गर्छ। स्वस्थ शरीर, निर्मल मन र शुद्ध भावनाको बाटो हुँदै विशुद्ध चैतन्यमा पुग्न सकिन्छ। नत्र मानिसको मन कि शरीरको भोगमा,  कि त शरीरको रोगमा, कि मनको उन्मादमा कि त मनको विक्षिप्ततामा कि अति भावुक कित रुखो भावमा रुमल्ली रहन्छ।

आफ्ना विचार, बोली र ब्यवहारलाई सन्तुलनमा ल्याउने ज्ञान, बुद्धि र विवेक योग ध्यानबाट पाईन्छ। कसरी ल्याउँछ? त्यति सजिलै होला त!  भन्ने प्रश्न आउन सक्छ। योगध्यानले मानिसलाई उसको प्राकृतिक स्वभावमा स्थापित गरिदिन्छ। मानिसका शरीरमा रहेका उर्जाका केन्द्रहरु खोलिदिन्छ। स्वाभाविक रुपमा हुनुपर्ने मनुष्यको चरित्र स्वास्थ्य, सुख, साहस, प्रेम, सिर्जना, संकल्प र आन्दन प्राप्त हुन थाल्दछ। लामो समयको योग ध्यानको अभ्यासले यस्ता गुणहरु दीगो रुपमा स्थापित हुन पुग्दछन्।


रोग लाग्नु भन्दा अगावै, शोक पर्नु भन्दा अगावै, भोगले थलिनु भन्दा अगावै योग ध्यानमा लाग्नु अति आवश्यक भैसक्यो। पहिले स्वास्थ्य विगारेर पैसा कमायो अनि पछि स्वास्थ्य किन्न त्यही पैसा खर्च गर्यो। यस्तो मूर्खता कसैले नगरोस्। खर्वौं बर्षको आयु भएको यस सौर्यमण्डलका सदस्य पृथ्वी ग्रहका बासी हामीसँग एउटा आगोको झिल्को बरावर मात्र समय छ।

यस्तो बहुमूल्य समय रोगी, दुःखि, शोषित र पिडित भएर बाध्यकारी जीवन बाँच्नका लागि होईन। पहिले दश बीस बर्ष रोगी बन्न र पछिल्ला दश बीस बर्ष रोग हटाउनका लागि संघर्ष गरेर जीवन विताउनु समय खेर फाल्नु हो।

यी बाहिरका चर्मचक्षु चिम्लनु अगाडि नै स्वयं भित्रको दिब्य आँखा खोल्नु सबैभन्दा ठूलो पुरुषार्थ हो भनेका छन् सन्त महात्माहरुले। यो घर, गाडी, बंगला, बैंकब्यालेन्स, सयौं साथी, पद प्रतिष्ठा हासिल गर्नु भन्दा पनि बढी पुरुषार्थ हो भनेका छन् सन्त महात्माहरुले।

आफूलाई दुःखी बनाएर मर्नु महापाप हो भनिएको छ। आफ्नो स्वरुपलाई नचिनेर वा चिन्ने प्रयास नगरेर दुःखी, पिडित, रोगी भएर मर्नेलाई भगवानले पनि क्षमा गर्ने छैनन्। आफू मानव भएर आफूलाई चिन्नु पहिलो मानवता हो। स्वयंलाई नचिनीकन मानवताको चरित्र करुणा, प्रेम, निर्भयता, समता र सेवा जस्ता सद्गुण जन्मिदैनन्।

 
योग ध्यान गर्ने ईच्छा हुँदाहुँदै किन नियमित यसको अभ्यास गर्न सक्दैन आजको मनुष्य? राती अवेरसम्म बस्ने, विहान सबेरै उठ्न नसक्ने बानीले गर्दा तथा अल्छी र आलस्यको कारणले योगमा जोडिन सकेका छैनन्। आफ्नु जीवनचर्या, भोजन, बानी ब्यहोरामा परिवर्तन गर्नुपर्ने वा लत÷कुलत छोड्नुपर्छ की भन्ने भयको कारणले केही मानिसहरु योगमा जोडिन मान्दैनन्। केही दुःख, चोट, पिडा, रोग, शोक, असफलता, पारिवारिक, मानसिक समस्या परेमा मात्र जाने ठाउँ हो भन्ने धारणा पनि योगमा सामेल हुन बाधक बनेको छ।

बृद्धबृद्धा, रोगी, जोगी वा धार्मिक अनुयायीले मात्र गर्ने हो भन्ने अर्को धारणा छ। ध्यान योग साधना गर्दा एकोहोरो, सोझो, नरम, लचिलो र हल्का होईन्छ, जसले गर्दा यो चलाखीपूर्ण दुनियाँमा पछाडि परिन्छ कि भन्ने भान समेत अभिब्यक्त भएको पाईन्छ।

योगध्यान गरे पनि नगरे पनि हुने कुरा (रोग र मृत्यु) भैहाल्छ, झन्झट किन गरिरहनु भन्ने नैराश्यवादी धारणा समेत छ। धेरैजनाको मुखबाट सुनिने अर्को कुरामा भ्याउँदा त भ्याउँदिन कसरी जोडिनु भन्ने अभिब्यक्ति सुन्न पाईन्छ। यसबाट योग ध्यान गर्न प्राथमिकतामा नपरेको भान हुन्छ।

विरामी भएर महिनौं अस्पताल वा घरको ओछ्यानमा लडिरहन समय मिल्ने वा रोग लागेर लाखौं रुपैयाँ खर्च निकाल्न सक्ने तर ध्यान र योग सिक्न केही समय छुट्याउन नसक्ने वा केही खर्च आफू स्वयंको आत्मोन्नतिका लागि लगानी गर्न नसक्नेहरुलाई पनि योग ध्यानमा जोडिन अत्यन्त प्रेरणा मिलोस्।


जय होस्, मंगल होस् अनि कल्याण होस्।

(योग प्रशिक्षक, जीवन विज्ञान) 

प्रतिक्रिया