च्याम्पियन्स लिग फाइनल : रियलको टोलीमा हाजार्ड र बेलको पुनरागमन

काठमाडौं– च्याम्पियन्स लिग फाइनल हुनुभन्दा दुई दिनअघि स्पेनिस क्लब रियल मड्रिडले उपाधि रक्षका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। पेरिसका लागि बेल्जियमका इडेन हाजार्ड र वेल्सका ग्यारेथ बेललाई टोलीमा समावेश गरिएको छ। 

च्याम्पियन्स लिगको फाइनल खेल शनिबार राति पेरिसमा हुनेछ। इङ्लिस क्लब लिभरपुल र रियल २०१८ पछि उपाधि रक्षाको लागि भिड्न लागेका हुन्। चार वर्षअघि युक्रेनको राजधानी किएभमा भएको फाइनलमा रियालले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

रियलको टोली बिहीबार पेरिस पुगेको छ। लिभरपुरको टोली भने शुक्रबार पुग्नेछ। लिभरपुलले पनि छिट्टै २६ सदस्यीय टोलीको घोषणा गर्ने मुख्य प्रशिक्षक जोर्गन क्लोपले बताएका छन्। 

रियलका मुख्य खेलाडी इडेन हाजार्ड र ग्यारेथ बेलले चोटका कारण यो सिजन लामो समय खेलेका छैनन्। कार्लो एन्सेलोटी क्लबको मुख्य प्रशिक्षक भएदेखि नै दुवैतर्फ बढी ध्यान दिइरहेका छन्।

बेलले यो सिजन रियालबाट ७ खेल मात्रै खेलेका छन्। उनी अन्तिम पटक अप्रिल ९ मा मैदान प्रवेश गरेका थिए। लिभरपुलसँगको यो खेल उनको अन्तिम खेल सावित हुन सक्छ। उनको सम्झौता १ जुलाईमा सकिँदैछ। 

यस सिजन कप्तान मार्सेलो र इस्कोको पनि अन्तिम खेल हुन सक्छ। यी दुईबाहेक ड्यानी सेबालोस, जेसस भालेजो, लुका जोभिक र मारियानो डियाजले पनि क्लब छाड्न सक्नेछन्।

स्टार खेलाडीले सजिएको रियलको टोलीले सुरुआती ११ मा खासै परिवर्तन गर्ने छैन। थिबो कोटवाले गोलकिपिङको जिम्मेवारी सम्हाल्नेछन्। डेभिड अल्बा डिफेन्समा इदार मिलिटाओ, फेर्ल्यान्ड मेन्डी र ड्यानी कारभालसँगै देख्न सकिन्छ। 

अल्बाको फिटनेसमा अझै प्रश्न चिन्ह्र खडा छ। यदि उनी फिट छन् भने पक्कै पनि खेल्नेछन्। मिडफिल्डरको कुरा गर्दा लुका मोड्रिच र टोनी क्रुजको ठूलो जिम्मेवारी हुनेछ। स्ट्राइकर करिम बेन्जिमाले भिनिसियस जुनियर र रोड्रिगोसँग सहकार्य गर्ने सम्भावना छ।

रियलको टोली:
गोलकिपर: थिबो कोटवा, एन्ड्रे लुनिन, टोनी फुइडियाज रिबेरा
डिफेन्डर: डेभिड अल्बा, इडार मिलिटाओ, नाचो, ड्यानी कारभाल, फेर्ल्यान्ड मेन्डी, मार्सेलो, जेस भालेजो
मिडफिल्डर: टोनी क्रुज, लुका मोड्रिच, कासेमिरो, फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिङ्गा, लुकास भास्क्वेज, ड्यानी सेबालोस, इस्को
फरवार्ड: करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, ग्यारेथ बेल, इडेन हाजार्ड, मार्को एसेन्सियो, लुका जोभिक, मारियानो डियाज

प्रतिक्रिया