अझै सलाहलाई बिझाइरहन्छ चार वर्ष अगाडिको त्यो घटना

काठमाडौं– तीन साताअघि इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहलाई पत्रकारहरुले सोधेका थिए– फाइनलमा कुन टोलीसँग खेल्न मन लागेको छ?

जसको उत्तर दिँदै उनले भने– रियल मड्रिड। अब मे २८ मा च्याम्पियन्स लिगको फाइनल खेल हुँदा रियल र लिभरपुल आमनेसामने हुने छन्।

उक्त खेलमा सलाहलाई रियलविरुद्ध सन् २०१८ को फाइनलको तीतो घटनाको बदला लिने मौका मिल्ने छ।

सन् २०१८ मा युक्रेनको राजधानी किएभमा भएको फाइनल खेलमा लिभरपुल र रियल भिडेका थिए। उक्त फाइनल खेलको पहिलो हाफमा रियलका डिफेन्डर सर्जियो रामोससँग सलाहको झगडा भएको थियो। 

निक्कै नै घम्साघम्सीपूर्ण चलेको उक्त फाइनल खेलमा रामोसले सलाहलाई धकेलेर मैदानमा लडाए। सलाहको काँधमा चोट लाग्यो र उनी रुँदै मैदान छाडे। त्यसपछि उनी पूरै खेलमा मैदान फर्किन सकेनन्। यो फाइनलमा लिभरपुल रियलसँग १–३ ले पराजित भयो।

सलाह उक्त खेलमा घाइते नभएको भए रियलसँग लिभरपुलको नतिजा फरक पनि आउन सक्थ्यो। त्यसैले सलाहलाई जानजान रामोसले घाइते पारेको फुटबल समर्थकहरुले आरोपसमेत लगाए। तर, रामोसले त्यही बेला उक्त आरोप अस्वीकार गर्दिए।

रामोसले त्यो बेला रिसाउँदै प्रतिक्रिया दिएका थिए– सबैजना सलाहकै पक्षमा छन्। मलाई यस विषयमा बोल्न मन थिएन, तर सबैभन्दा पहिले उनले नै मेरो हात समातेका थिए। त्यसकारण म आफैं लड्न पुगे र उनी चोटिल भए। यदि सलाह खेल्ने चाहन्थे भने ‘इन्जेक्सन’ लगाएर खेल्ने सक्थे। मैले पनि त्यसो गरेको छु। मैले सलाहलाई मेसेज पनि गरेको छु र उनलाई सो घटनाबारे केही आपत्ति छैन।

घटना भएको चार वर्षपछि पुन: सलाह च्याम्पियन्स लिगको उपाधिका लागि रियलविरुद्ध मैदानमा उत्रिने छन्। तर, यसपटक उनको विपक्षी टोलीमा भने रामोस हुने छैनन्।

तर, सलाहले अझै त्यो तीतो सम्झना अझै भुलेका छैनन्। अबको रणनीतिबारे सोध्दा उनले भने– अब बदला लिने समय आएको छ। तर, उपाधि रक्षाको लागि लिभरपुललाई सहज भने हुने छैन।

यसपटक रियलका फरवार्ड करिम बेन्जेमा उत्कृष्ट फर्ममा छन्। प्रतियोगितामा १५ गोल गरिसकेका बेन्जिमा उच्च गोलकर्ता हुन्। यता, सलाहले ८ गोल गरेका छन्। सलाह रियलका यी फरवार्डलाई कडा प्रतिस्पर्धा दिन चाहन्छन्।

यो लिभरपुलका लागि सलाहको अन्तिम फाइनल हुने सम्भावना पनि छ। उनले क्लबसँग नयाँ सम्झौता गर्न बाँकी छ। लिभरपुलका प्रबन्धक जर्गेन क्लोप फाइनलका लागि आशावादी छन्। उनका अनुसार सलाहले क्लबका लागि गरेको काम प्रशंसनीय छ। उनलाई टोलीमा राख्दा ठूलो फरक पर्छ। उनी अझै ‘म्याच’ विजेता हुन्।

सलाह यस सिजन प्रिमियर लिगमा २३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्। लिभरपुलबाट खेल्दै उनले पाँच वर्षमा तेस्रो पटक ‘गोल्डेन बुट’ अवार्ड पनि जिते। उनले टोटेनहमका फरवार्ड सन ह्युङ मिनसँग अवार्ड बाँडेका थिए। 

उनीहरूले यस सिजन समान २३ गोल गरेका थिए। प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिने प्रावधान रहेको छ।

सनले टोटेनहमलाई चौंथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्‍याएका थिए।

सनले ३५ खेल खेल्दै २३ गोल गरेका हुन्। उनले कुनै गोल पेनाल्टीमा गरेनन्। उनले १ फ्रिकिक गोलसहित ७ असिस्ट प्रदान गरेका थिए।

सन प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी हुन्। यता, दोस्रो स्थानमा रहेर लिग टुंग्याएको लिभरपुलका लागि सलाहले अन्तिम दिन १ गोल गर्दै २३ गोल पुर्‍याए।

उनले २३ गोल गर्ने क्रममा भने ५ पेनाल्टी प्रहार गरेका थिए। सलाहले सर्वाधिक गोलकर्तासँगै सर्वाधिक असिस्टको पनि उपाधि जिते। उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए।

यस अर्थमा सलाह यस सिजन उत्कृष्ट फर्ममा रहेका छन् भन्दा कुनै गलत हुँदैन। यही उत्कृष्ट फर्म उनले च्याम्पियन्स लिगको फाइनलमा देखाउलान् कि नदेखाउलान् त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया