आईपीएल : बैंग्लोरले फाइनल प्रवेशका लागि राजस्थानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं– राजत पाटिदारको सानदार शतक प्रेरित रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न एलिमिनेटरमा नवप्रवेशी टोली लखनऊ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंग्लोरले क्वालिफायरमा स्थान बनाएको हो।

बैंग्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग फाइनल प्रवेशको लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको छ। फाइनल आइतबार अहमदाबादमा हुनेछ।

बैंग्लोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

लखनऊका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५८ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनको योगदान  दिए।

यस्तै, दीपक हुडाले २६ बलमा १ चौका र ४ छक्कासहित ४५ रन जोडे। तेस्रो विकेटका लागि राहुल र हुडाले ६१ बलमा ९६ रनको साझेदारी गरेका थिए। यता, मनान बोहराले १९ र दुश्मन्था चामिराले ११ रन बनाए।

बैंग्लोरका जोश हेजलवुडले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। मोहम्मद शिराज, वानिन्दु हसरंगा र हर्षल पटेलले १/१ विकेट लिए।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो। 

बैंग्लोरका शीर्षक्रमका राजत पाटिदारले १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ्स खेले।

उनले ५४ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। यता, विकेटकिपर दीनेश कार्तिक २३ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे।

पाँचौं विकेटका लागि कार्तिक र पाटिदारले ४१ बलमा ९२ रनको अविजित साझेदारी गरेका थिए। यता, विराट कोहलीले २४ बलमा २ चौकासहित २५ रन बनाए।

लखनऊका मोहसिन खान, क्रुनाल पान्ड्या, रवि विश्रोई र आवेश खानले १/१ विकेट लिए।

प्रतिक्रिया