टाइब्रेकरमा गोलरक्षक एलिसन नायक बनेपछि लिभरपुललाई एफए कपको उपाधि

काठमाडौं– टाइब्रेकरमा गोलरक्षक एलिसन बेकर नायक बनेपछि प्रिमियर लिग क्लब चेल्सीलाई हराउँदै मर्सिसाइड क्लब लिभरपुललाई एफए कपको उपाधि जितेको छ। 

वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि टाइब्रेकरमा लिभरपुलले ६–५ ले बाजी मारेको हो।

लिभरपुलका जेम्स मिल्नर, थियागो अलकान्तरा, रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, डिएगो जोटा र कोन्सटाटिनोस टिसिमिकासले गोल गर्दा साडियो मानेले गोल गर्न सकेनन्।

यता, चेल्सीका मार्कोस अलन्सो, रिस जेम्स, रोस बार्कले, जर्गिन्हो र हाकिम जियाचले गोल गर्दा सेसर एज्पिलिक्वेटा र मासन माउन्टले गोल गर्न सकेनन्।

त्यसअघि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्विएको थियो। टाइब्रेकरमा लिभरपुलका ब्राजिली गोलरक्षक एलिसन बेकर नायक बने। उनले चेल्सीलाई दुई पेनाल्टीलाई बचाए।

लिभरपुल यो सिजन चार उपाधि जित्ने संघारमा रहँदा दुई उपाधि जितिसकेको छ। लिभरपुलले यसअघि लिग कपको उपाधि जितिसकेको छ। लिभरपुल प्रिमियर लिगको उपााधि नजिक रहँदा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरिसकेको छ।

चेल्सी भने लगातार तीन सिजन फाइनल पुगेपनि उपाधिबाट बञ्चित बन्यो। गत सिजन चेल्सी लेस्टर सिटीसँग तथा त्यो भन्दा अघि आर्सनलसँग पराजित भएको थियो।

प्रतिक्रिया