श्रीलंकामा गले राष्ट्रपति, स्थायीत्व दिनसक्ने नयाँ प्रधानमन्त्रीको खोजी

कोलम्बो। आर्थिक संकटका कारण हिंसात्मक आन्दोलन भइरहेको छिमेकी देश श्रीलंकामा शान्ति कायम गर्न सरकारले सेनालाई उतारेको छ। अहिले राजधानी वरिपरि सेनाको ट्यांकले गस्ती गरिरहेका छन्। यसैबीच राष्ट्रपति गोटबाया राजपाक्षेले एक साताभित्र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने घोषणा गरेका छन्।
 
उनले बहुमतप्राप्त गर्ने र जनताप्रति समर्पित व्यक्तिलाई सत्ता सुम्पिन आफू तयार रहेको बताएका छन्। ‘म नयाँ क्याबिनेट नियुक्त गर्नेछु, जसप्रति सबैको विश्वास होस्,’ उनले भनेका छन्। तर, उनले घृणा फैलाउने तत्वहरूबाट टाढा बस्न सर्वसाधारणसँग अपील गरेका छन्। 

उनले संसदलाई बढी अधिकार दिने वचनवद्धता पनि व्यक्त गरेका छन्। पूर्व प्रधानमन्त्री महेन्द्र राजपाक्षेले राजीनामा गरेपछि कर्मचारीको जागिर पनि खतरामा परेको स्थानीय पत्रपत्रिकाले बताएका छन्। सरकारविरूद्धको प्रदर्शनमा हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन्। 

यस्तै, श्रीलंकाका गर्भनर पी नन्दलाल विरसिंघेले २ साताभित्र राजनीतिक स्थिरता कायम नभएको खण्डमा पदबाट राजीनामा गर्ने बताएका छन्। उनले राजनीतिक संकटको उपाय ननिस्किएको खण्डमा देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने प्रयास असफल हुने बताएका छन्। 

सेनालाई बाहिर निकालेपछि राष्ट्रपति कार्यालयले आज बिहान ७ बजेदेखि २ बजेसम्मको कर्फ्यु हटाएको घोषणा गरेको छ। रक्षा सचिव कमल गुणरत्नेले केही सामान्य घटनाबाहेक बुधबारको राती शान्तिपूर्ण वितेको बताएका छन्। 

यसैगरी श्रीलंकाको ट्रेड युनियनले बुधबारदेखि सरकारविरूद्धको हड्ताल फिर्ता लिएको छ। देशमा लगातार जारी हिंसात्मक घटनालाई ध्यानमा राखेर हड्ताल फिर्ता लिएको उसले बताएको छ। उनीहरूले देशमा शान्ति व्यवस्था कायम गर्न आफ्नो पनि दायित्व रहेको बताएका छन्। 

श्रीलंकाले आर्थिक अवस्थामा सुधार गर्न आयल र ग्यास वितरणमा नयाँ मापदण्ड जारी गरेको छ। श्रीलंकाको पेट्रोलियम प्राइभेट ट्यांकर अनर्स एसोसिएसनले आयल र ग्यास वितरणमा अस्थायी रोक लगाएको हो। उसले सुरक्षाको स्थितिमा जबसम्म सुधार आउँदैन तबसम्म आयल र ग्यासको विक्री वितरण नगर्ने बताएको छ। संघकी सचिव शान्ता सिल्वाले भनिन्, ‘केही विशेष ठाउँमा सुरक्षाकर्मीहरूको बीचमा बाहेक अन्यत्र आयल उपलब्ध हुने छैन।’
 

प्रतिक्रिया