बार्सिलोनाको दोस्रो स्थानमा रहने सम्भावना बलियो

काठमाडौं- क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ।

क्याम्प नोउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई ३–१ ले पराजित गरेको हो। बार्सिलोनाको जितमा पिएरे इमरिक औवामियाङको दुई तथा मेम्पिस डिपाएले एक गोल गरे। 

सेल्टाका लागो आस्पासले एक गोल फर्काए। बार्सिलोनाले खेलको ३०औं मिनेटमा मेम्फिस डिपाएको गोलबाट सुरुआती अग्रता लिएको थियो।

४१औं मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए। ४८औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए। 

त्यसको दुई मिनेटपछि लागो आस्पासले गोल गर्दै सेल्टाको आशा कायमै राखेका थिए। तर, ५८औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो। जेइसन मुरिल्लो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

जितसँगै बार्सिलोनाले यो सिजन दोस्रो स्थानमा रहने सम्भावना बलियो बनाएको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७१ अंक पुगेको छ। च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ३५ खेलबाट ८१ अंक छ।

पराजित सेल्टा ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ।

प्रतिक्रिया