पर्यटक भित्र्याउन इलामेलीको दौडधुप

इलाम। सन्दकपुर गाउँपालिका ३ सुलुबुङकी लिला भट्टराई सामुदायिक घरबासको प्रचार गर्न व्यस्त छिन्। 

सदरमुकाममा चार दिनदेखि सञ्चालित ‘चेतना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव’ स्थलमा एउटा स्टल राखेर आफूहरुले सञ्चालन गरिरहेको घरबासको प्रचार गरेर पर्यटकको ध्यान खिच्नु लिलाको उदेश्य हो।

सदरमुकामदेखि १५ किमी उत्तरमा माईपोखरी देउराली सामुदायिक होमस्टे समुदायले शुरु गरेको यो सामुदायिक होमस्टेमा १५ वटा घरबास सेवा सहभागी छन्। पर्यटकलाई माईपोखरी, सन्दकपुर, टोड्के झरना, जौबारी, छिन्टापु, ढापपोखरी, माबुथाम, हाँगेथाम, सातखाल्डे जस्ता पर्यटकीय स्थलहरु घुमाउन सक्ने सुविधासमेत दिएर चलाइएको होमस्टेमा पर्यटक ल्याइपुर्याउन लिलासहित होमस्टेकि अध्यक्ष निमलमु शेर्पा पनि महोत्सवमा Ilamm  4पर्चा छरेर प्रचार गरिरहेका छन्।

सूर्योदय नगरपालिका पशुपतिनगरका युवा विजयप्रकाश राई पनि अहिले घरको काम अरुलाई जिम्मा लाएर हप्तादेखि पर्यटक लोभ्याउने ध्याउन्नमा छन्। नेपाल भारत सीमानाकामा रहेको पशुपतिनगर बजारको ब्यापार बृद्धिका साथै इलामका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन विजयसहित पशुपतिनगरस्थित पशुपति युवा परिवारमा आबद्ध युवाहरु कम्मर कसेर लागेका छन्। उनीहरुले नयाँ बर्षको अवसर पारेर पशुपतिनगरमा पर्यटन महोत्सव आयोजना गरेका छन्।

महोत्सवमा सीमावर्ती भारतीय क्षेत्रका धेरै भन्दा धेरै पर्यटकलाई भित्र्याउने लक्ष्य राखिएको र महोत्सव अवधिभर नेपाल भारतका गरि ५० हजार भन्दाबढी पर्यटक पशुपतिनगरमा भित्र्याउने अनुमान रहेको विजयले बताए। महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती कमाइसकेका र स्थानीय कलाकारहरुबाट साँस्कतिक कार्यक्रम, स्थानीस्तरका परिकारसहितको खानाका स्टलहरु, ब्यवसयिक स्टलहरु, प्रतियोगितात्मक खेलकुद, स्थानीय विभिन्न जातजातीको संस्कृति झल्कने साँस्कृतिक प्रदर्शनी, स्थानीय पर्यटकीयस्थलहरु घुमाउने जस्ता कार्यक्रम राखिएको छ। यस्तो कार्यक्रमको प्रचार गर्न सके पर्यटक आउँछन् भन्ने हाम्रो आशा हो, उनले भने।

फिक्कलका सृजन गदाल समूह नै बनाएर सडक महोत्सव सम्पन्न गर्न जुटिरहेका छन्। नयाँबर्षको अवसरमा बैशाख १ र २ गते फिक्कल बजारमा तेस्रो सूर्योदय सडक महोत्सव सञ्चालन गर्न गदालसहित सूर्योदय होटल ब्यवसायी संघ र स्थानीय आयाम युनाइटेड क्लबका युवा भातपानी नभनी खटिरहेका छन्। पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन आयोजना गरिएको महोत्सवमा एकलाख ५० हजार पर्यटक आउने अपेक्षा आयोजकको छ। महोत्सवमा ३५ वटा स्टलमा विभिन्न स्थानीय संस्कृति, उत्पादन झल्कने प्रदर्शनी राखिने होटल ब्यवसायी संघका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए।Ilamm

त्यति मात्र होइन, फिक्कलका केही युवा पर्यटकीय अकर्षण बढाउन कै लागि नौलो खेलकुद प्रतियोगितामा जुटेका छन्। उनीहरुले यहि बैशाख ३० गतेका दिन इलाममै पहिलोपटक माउन्टेन बाइक एड्भेञ्चर प्रतियोगिता सञ्चालन गर्ने भएका छन्। एमटीबी एडभेञ्चर च्यालेञ्ज २०२२ नाम दिइएको प्रतियोगितामा नेपाल र भारतका ५० जना प्रतियोगीले सहभागिता जनाउने आयोजक इलाम एमटीबी राइडर्सले जानकारी दिएको छ।

आयोजक संस्थाका सल्लाहकार युवराज बस्नेतका अनुसार स्थानीय युवाको बानी बसाउन, उनीहरुलाई ब्यस्त बनाउन र कोभिडले मन्दी भएको बजारलाई ब्युँताउन सहयोग गर्न यो खेल आयोजना गरिएको हो। सूर्योदय नगरपालिकामा सम्पन्न हुने प्रतियोगितामा प्रथम पुरस्कार नगद २० हजार तथा ट्रफि र मेडल, द्वितीय पुरस्कार नगद १५ हजार तथा ट्रफि र मेडल अनि तृतीय पुरस्कार नगल १० हजार तथा ट्रफि र मेडल रहेको जनाइएको छ। सूर्योदय १० मा पर्ने फिक्कल बजारबाट ११ किलोमिटर साइकल कुदाई सम्पन्न हुने प्रतियोगिताको समय २ घण्टा रहेको छ।

यी त प्रतिनिधी पात्र मात्र हुन्। यतिबेला पूर्वी इलामका प्रत्येक गाउँका बासिन्दा आगामी दिनमा बढी भन्दा बढी पर्यटक इलाममा भित्र्याउन जुटेका छन्। नयाँ बर्षको अवसर पारेर गाउँ पिच्छे विभिन्न खाले कार्यक्रम आयोजना गरिएको छ।

हाल इलाममा इलाम नगरपालिकाको सहयोग र स्थानीय पर्यटन प्रबर्धन समितिको आयोजनामा चैत २५ गतेदेखि बैशाख २ सम्म महोत्सव आयोजना गरेर सञ्चालन भइरहेको छ। जहाँ बालबालिको खेलदेखि साँस्कृतिक कार्यक्रम खानेकुराको प्रदर्शनी साँस्कृतिक प्रदर्शनी र ब्यापारिक प्रदर्शनीहरु राखिएका छन्। महोत्सबमा साहित्यिक कार्यक्रमदेखि राष्ट्रिय प्रतियोगिता पनि आयोजना हुने महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष केशव धौरालीले जानकारी दिए। सन्दकपुर गाउँपालिकाको देउरालीमा सातखाल्डे फुटबल प्रतियोगिता यसैबेला आयोजना गरिएको छ।

त्यस्तै इलाम नगरपालिकाकै ८ नम्बर वडामा रहेको महभीर चट्टान आरोहणस्थलमा चट्टान आरोहणसम्बन्धी तालिम नै आयोजना गरेर त्यस ठाउँमा सर्बसाधारणदेखि खेलाडीहरुलाई पनि आरोहण गराउने ब्यवस्था गरिएको छ। रक क्लाइम्बिङ पर्यटकीय क्षेत्र प्रवर्धन विकास समितिका अध्यक्ष उमेश महतले हाल जो कोही गएर आरोहण गर्न सक्ने र त्यसका लागि सहयोग गर्न समितिले तालिमप्राप्त ब्यक्तिहरु त्यहाँ राख्ने ब्यवस्था गरेको बताए।

Ilamm 3फिक्कलमा सडक महोत्सव, पशुपतिनगरमा पर्यटन महोत्सव पनि यहीबेला आयोजना गरिएका छन्। पर्यटकीय क्षेत्रको रुपमा चिनिएको अन्तुडाँडाका बासिन्दाले पर्यटकका लागि नयाँ बर्षमा विषेश छुटको ब्यवस्था गरेको स्थानीय धनकुमार आलेले बताए। उनीहरुले होमस्टेमा आउने आगन्तुकलाई बास र खानामा सहुलियत दिइएको बताए।

यतिबेला इलामका अन्तु, कन्याम, कुटिडाँडा अर्थात् पाथिभरा मन्दिर क्षेत्र हाँसपोखरी, फिक्कल जस्ता ठाउँहरुमा पर्यटक आगमन उल्लेख्य रुपमा बृद्धि भएको छ। आगामी दिनमा पर्यटकलाई अझ बढी इलाम आउने बनाउन यहाँ थप काम गर्न अवश्यक भएको नेपाल पत्रकार संघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईले बताए। अध्यक्ष भट्टराई जमुनाको ढापपोखरीस्थित पर्यटन समितिका अध्यक्ष पनि हुन्।
 

प्रतिक्रिया