आज रामनवमी 

रामको चित्र पूजा होइन चरित्र अनुशरण गरौं

हे राम...!


राम्रो जती सबै राम। रोगब्याधी चट्टै निको पार्ने औषधी रामवाण, कर्णप्रिय सुमधुर धुन राम धुन, लोकमा प्रचलित कथाहरुमा लोकप्रिय कथा रामकथा, आनन्दको पराकाष्ठा रामानन्द, रसहरुमा उत्तम रस रामरस, रत्नहरुमा बहुमूल्य रत्न रामरत्न, चरित्रमा सबैभन्दा उत्तम रामचरित्र, लिलाहरुमा सबैभन्दा रोचक लिला रामलिला, असल र राम्रो शासन ब्यवस्था रामराज्य, सत्यहरुमा साँचो सत्य रामनाम सत्य आदि।

राम्रो र असल कुराहरु सबै राममा गएर जोडिन्छन्। शदियौं देखि मनुष्यको हृदयमा विराजमान हुनु भएका आत्माराम भगवान श्रीराममा भगवत्ताका सबै लक्षण थिए। भगवान बन्न लायक गुणहरु पूर्ण ज्ञान, पूर्ण वल, पूर्ण धन, पूर्ण यश, पूर्ण सौन्दर्य र पूर्ण त्याग जस्ता सदगुण भगवान श्रीराममा नित्य अनि सदा थिए। समय अनुकूल होस या प्रतिकूल जस्तोसुकै परिस्थितिमा रत्ति पनि नडग्मगाई अगाडि बढ्ने दृढनिश्चयी स्वभावका भगवान श्रीराममा ती सद्गुणहरु अवस्थित थिए। यस धर्तीमा साक्षात् परमात्मा स्वरुपमा अवतरित हुनुभएका मर्यादा पुरुषोत्तम भगवान श्रीरामका सद्गुण, सत्कर्म र स्वभावको चर्चा, चिन्तन, मनन र निदिध्यासनले मनुष्यको जीवन परमधन्य बन्न सक्छ। 

पुरुषहरुमा सबैभन्दा उत्तम पुरुषोत्तम, सानालाई माया र ठूलालाई आदर गर्ने मर्यादापालक, सुख वा दुःख जस्तोसुकै परिस्थितमा धैर्य नगुमाउने, सबैप्रति समभावयुक्त, स्थितप्रज्ञ महापुरुषको सर्बोत्तम चरित्र भगवान श्रीराम नै हुनुहुन्छ।  एउटा कुशल शासकको रुपमा भगवान श्रीराम राज्यमा कडाईका साथ विधि विधान लागू गर्न, असत्यलाई पराजित गरी सत्य स्थापित गर्न र अन्यायलाई हटाई न्याय स्थापित गर्ने असल नमूना चरित्र हुनुहुन्छ। असल शासनका लागि शासक कत्तिसम्म कठोर बन्नु पर्दो रहेछ भन्ने कुरा रामराज्यको शासन पद्धतिबाट सिक्न सकिन्छ। शासन संचालन गर्दा होस् या युद्धको समयमा होस् हृदयमा करुणा राखेर असल मनसायले कार्य गर्नुपर्दछ भन्ने सन्देश दिनुभएको छ।

भगवान श्रीराम रघुवंशका तेजस्वी, ओजस्वी र परम प्रतापी राजा हुनुहुन्थ्यो। रामराज्यको कीर्ति हिमालय पर्वत देखि जम्बुद्वीपसम्म फैलिएको थियो। रामगाथा गाउने, रामचरित्रका कथा सुन्ने र रामलिला नाटक मञ्चन गर्ने कार्य स्थानीय संस्कृतिमै स्थापित भैसकेको छ। राम चरित्रको गाथा र रामराज्यको गुणगान नेपाल, भारत, बर्मा, श्रीलंका, मलेशिया, कम्बोडिया, थाईल्याण्ड र ईण्डोनेशियासम्म फैलिएको पाईन्छ। जम्बुद्वीप, सुमात्रा टापु र बाली द्धिपमा रामायण कथाका कैयन प्रसङ्गमा आधारित सांस्कृतिक प्रथा प्रचलनहरु शताब्दियौं देखि जीवितै छन्। रामायण कथाका पात्र र चरित्रहरुको नाम अनुसारका नाम राख्ने प्रचलन स्वरुप थाईल्याण्डका स्वर्गीय राजा भूमिबोल अदुल्यादेजको नाम भूमिको जस्तो वल भएको र अतुलनीय तेज भएको शासकको लाक्षणिक अर्थ अनुकरण गर्दै नाम राखिएको भनिएको छ, जुन भगवान श्रीरामजस्तै शासकको परिकल्पना हो। 

विधि कानुन सबैभन्दा पहिले शासकमा लागू हुनुपर्छ। आदर्श शासकको जीवन चरित्रबाट जनताले प्रेरणा लिन्छन्। राष्ट्रहितको लागि सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याउन ब्यक्तिगत ईच्छा र चाहनाको बलिदान दिएर  भगवान श्रीरामले प्रेरणादायी भूमिका निभाउनु भयो। नातावाद–परिवारवाद हावी भएको शासन अभ्यास रावणराज्य हो भने राज्य हितको लागि परिवार समेत त्याग गर्ने शासन अभ्यास रामराज्य हो। सबै प्रति प्रेम र करूणा भएको उदार हृदय, सबैका कुरा सुन्ने खुला विचार र सबै प्रति समान ब्यवहार गर्ने तटस्थ ब्यवहार भएको शासकले मात्र रामराज्यको कुरा गर्न सुहाउँछ। सारा जगतको प्रेरणा र आदर्शको श्रोत बन्न स्वयंले कति दुस्ख कष्ट झेल्नु पर्ने रहेछ। सारा जगत उज्यालो बनाउन स्वयं कति जल्नु पर्ने रहेछ। यो कुरा भगवान श्रीरामको चरित्रले प्रष्ट पार्दछ।

टाउकोमा दशथरी नकारात्मक कुरा बोकेर हिँड्ने शासकले गर्ने शासन ब्यवस्था भएको राज्यलाई रावणराज्य भनिन्छ। दश टाउके रावण त्यसै भनिएको होर्इन। मनुष्यलाई मात्र नभई सबैलाई हानी गर्ने रावणीय स्वभाव घमण्ड, लोभ, क्रोध, मोह, आशक्ति, ईर्ष्या, स्वार्थीपन, क्रुरता, अन्याय र अहंकार हुन्। खराब अन्तष्करणबाट निर्देशित शासकको मन, बचन र कर्मको पछाडी यस्ता कारण लुकेका हुन्छन्। रावण राज्यमा सबैले समान रुपमा सुख, शान्ति र  न्यायको अनुभूति गर्न सक्दैनन्। 

रामराज्यमा शासनको आधार र सामाजिक ब्यवहारको चरित्र असल मूल्य र मान्यतामा आधारित हुन्छ। शासकको गुण अनुरुप समाजको चरित्र र शासन ब्यवस्थाको मूल्यमा पनि एकरुपता हुन्छ। भगवान श्रीराम महान सोच र विचार भएको, करुणावान, दयालु, कृपालु, निष्ठावान, बचनको पक्का, लक्ष्य केन्द्रित, प्रतिबद्ध, सत्यवादी, असल चरित्र भएको कुशल शासक हुनुहुन्थ्यो। रामराज्यको अर्को मूल सन्देश जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी हो। अर्थात् जननी र जन्मभूमि स्वर्ग भन्दा पनि महान छन् भन्ने भगवान श्रीरामको आदर्श वाक्य हो। भगवान श्रीराम रघुकूलका प्रतापी राजा भएकोले तत्कालिन समयमा समाजमा सत्य र न्याय स्थापना गर्नका लागि अन्याय र अत्याचारी शासक भएका राज्यहरुमा आक्रमण गरेर पराजित गरी असल शासन  स्थापना गर्दै अगाडी बढ्नु भयो। यसरी अगाडी बढ्दै जाँदा आफूले विजय प्राप्त गरेका राज्यहरुमा त्यहाँकै उत्तराधिकारीलाई राज्यको सत्ता र सम्पत्ति सुम्पने कार्य गर्नु भयो। 

अविभादनमा राम राम, काममा राम, आराममा राम, विश्राममा राम, मनमा राम, तनमा राम, श्वास–श्वासमा राम, कण–कणमा राम, कोषकोषमा राम अनि रोमरोममा रामको अनुभूति गर्न सकिन्छ। रमन्ते ईति राम– जो रोम रोममा छ, उही राम हो। जो सुख स्वरुपमा हामी भित्र बस्तछ। जो आनन्द स्वरुपमा हामी भित्रै तरङ्गित छ। जो दिब्य चैतन्य स्वरुपमा हामी भित्रै ब्याप्त छ। रामानुभूति गर्न चाहनेले भगवान श्रीरामलाई मान्ने मात्र होईन रामले भनेको मान्नु पर्दछ। भगवानश्री रामको जीवन चरित्रलाई अनुशरण गर्नुपर्दछ। त्यसैले भनिन्छ– राम चरण सुखदायी।

संकटको बेला पुकार्ने हे राम र भजन गर्ने मन्त्र रामराम। प्रत्येक श्वासले शरीर भित्र प्रवेश गर्दा निकाल्ने ध्वनी हे.. र प्रश्वासले निकाल्ने ध्वनी राम... प्रत्येक श्वासले जपिरहेको छ हे राम, हे राम  हे राम महामन्त्र– हरे राम हरे राम राम राम हरे हरे। हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरेहरे ।। परम कल्याणदायी मन्त्रको रुपमा विश्वप्रसिद्ध छ। करोडौं भक्तहरु यो महामन्त्रको जपबाट सांसारिक दुःख कष्टबाट मुक्ति पाईरहेका छन्। रामनामको जपबाट परमानन्द प्राप्त गरिरहेका छन्।

भक्तिमा डुब्नु नै छ भने भगवानको भक्तिमा डुब्नु कल्याणकारी छ। आफ्ना लागि चुहाईएको आँशु मूल्यहिन छ र आफ्नो गुणगानमा गाईएको भजन ब्यर्थ छ। रामको विरहमा झरेका आशु बहुमूल्य छ। रामको नाममा गाईएको भजन सार्थक छ। स्वयं भित्र नित्य निरन्तर त्यो प्रभुको भजन चलिरहेको छ भने बाहिर पनि उसैको भजन गर्नु मनुष्यको परम धर्म हो। भित्र र बाहिर एउटै हुनु योगस्थ बन्नु हो। योगस्थ अवस्थामा मात्र परमभक्ति जन्मिन्छ। मनुष्यको हर स्पन्दनले राम राम राम जपिरहेको छ। स्वयं भित्र केन्द्रित मनले मात्र त्यो हरपल हरक्षण स्पन्दित रामको उर्जालाई अनुभूति गर्न सक्छ। रामानुभूति गर्ने सुअवसर प्राप्त होस्। रामानन्दको रसपान गर्ने सौभाग्य मिलोस्। जयश्री राम ! 
(लेखिका आचार्य योगप्रशिक्षक हुन्)

प्रतिक्रिया