पतञ्जलि योगपीठले नेपालमा के गर्यो, के गर्दै ?

काठमाडौं । नेपालमा वैदिक परम्परा, योगशास्त्र र आयुर्वेद विज्ञानलाई पुनर्जीवित गर्दै जनसाधारणको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना गरिएको पतञ्जलि योगपीठ नेपाल यतिबेला अनुकरणीय सेवामूलक संस्था बनेको छ।

झण्डै दुइदशकदेखि नेपालभरि नै स्वास्थ्य, शिक्षा, प्राकृतिक चिकित्सा, नशामुक्ति, आत्मनिर्भरता, सामाजिक सेवा, जडीबुटी संरक्षण तथा मानव सेवा लगायत विविध क्षेत्रमा क्रियाशील रहँदै आएको पतञ्जलि योगपीठ नेपालले आज नेपाली समाजमा नयाँ आशा, चेतना र संस्कारको जग बसाल्दै आएको देखिन्छ।

नेपाली मूलका आचार्य वालकृष्णले आफ्नो मातृभूमिमा केही सेवामूलक काम गर्न चाहेको वताउँदै आएका   छन् । उनले आफूलाई नेपाल धर्तिमाता प्रति अत्यन्तै स्नेह र प्रेम रहेको चर्चा गर्दै नेपाललाई समृद्धिको मार्गमा डोर्याउन चाहेको बताउँदै आएका छन् । उनले भनेका छन्, ‘म यहाँ व्यापार गर्न आएको होईन, मलाई व्यापार गर्न भारतमा वा अन्य मुलुकमा नै भ्याई नभ्याई छ, म त यहाँ विशुद्ध सहयोगको मन लिएर आएको हुँ।’ उनले नेपाल देवभूमि भएकाले यसलाई सदैव पूजा गर्ने अभिव्यक्ति दिएका थिए ।

प्राकृतिक चिकित्सा र योग  जागरण

पतञ्जलि योगपीठ नेपालले  ७७ वटै जिल्लामा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएको जनाएको छ। दैनिक, साप्ताहिक र मासिक रूपमा सञ्चालन हुने योग कक्षाहरूले लाखौँ नेपालीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको उसको भनाई छ।

त्यसैगरी पतञ्जलि योगपीठले काभ्रे धुलिखेलमा आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना गरी सेवाहरु प्रदान गर्दै आईरहेको पनि जानकारी दिएको छ । सम्भवतः नेपालमा आयुर्वेद अस्पतालहरुमा मेसिन तथा उपकरणहरुको सुविधा भएको यो नेपालकै पहिलो अस्पताल हुन सक्ने योगपीठको भनाई छ । यस अस्पतालमा अत्याधुनिक मेसिन उपकरणहरुबाट उपचार गरिने व्यवस्था गरिएको छ । प्रकृतिमा हुने प्राकृतिक वस्तुहरु माटो, जल, जडिवुटिहरुको प्रयोगबाट उपचार हुने हुँदा र यसको साईट ईफेक्ट कम हुने हुँदा यस पद्धति प्रति आम नागरिकहरुको चासो वढ्दै गईरहेको अस्पताल व्यवस्थापक विश्वराज कोइरालाले वताएका छन् ।

सामान्य योग अभ्यासदेखि लिएर विशेष उपचारात्मक योग विधिहरूको प्रशिक्षणद्वारा मानिसहरूमा रोग निवारणको विश्वास जागृत गराउँदै आएको छ। खासगरी नसर्ने रोगहरु  उच्च रक्तचाप, मधुमेह, थाइराइड, पाचन समस्या, तनाव र अनिद्रा जस्ता समस्यामा योगले आश्चर्यजनक सुधार ल्याएको थुप्रै अध्ययन र अनुभूतिको प्रमाण रहेको कोइरालाको भनाई छ। 

योग गुरू बाबा रामदेव स्वयं पनि नेपाल आएका बेला हजारौँको उपस्थितिमा विशाल योग विज्ञान शिविरहरू सञ्चालन भएका छन्, जसले राष्ट्रियस्तरमै योग अभ्यासको चेतना जगाउन अभियान नै चलेको देखिएको छ ।

योगगुरु रामदेवले योगालाई प्रवर्धन गर्नमा उल्लेख्य भूमिका खेलेको देखिन्छ । उनकै कारण आज योग विश्व भर फैलन पाएको  छ । प्राचीन इतिहासका जानकारहरु पतञ्जलि ऋषि नेपालमा जन्मिएको चर्चा गर्दछन् । यो कथनअनुसार, उनैले योगका सूत्रहरु प्रतिपादन गरेका थिए त्यही योगलाई आज रामदेव वावाले विश्वभर फैलाउन सफल भएका छन् । नेपालमा पनि वावा रामदेव आफैं आएर वेलावखत योग विज्ञान शिविर संचालन गरी आम नागरिकहरुलाई योगप्रति जागरुक वनाउने तथा योगका महत्त्तका विषयमा प्रकाश पार्ने कार्य गरेका छन् । 

पतञ्जलि योगपीठले करिव १० लाख योग शिक्षकहरुलाई विभिन्न चरणमा योग प्रशिक्षण दिई ७७ वटै जिल्लामा निशुल्क योग शिविरहरु संचालन गर्नका लागि खटाएको जनाएको छ, जसबाट लाखौं मानिसहरुले शारीरिक मानसिक स्वास्थ्य लाभ गरिरहेको संस्थाका प्रवक्ता युवराज खनालले जानकारी दिएका छन् । 

शिक्षा र अनुसन्धान 

धुलिखेल, काभ्रेपलाञ्चोकमा अवस्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर  गैर सरकारी क्षेत्रको नेपालकै एकमात्र पूर्ण आयुर्वेदिक शिक्षा केन्द्र हो जसले BAMS (Bachelor of Ayurvedic Medicine and Surgery) को पाँचवर्षे स्नातक तहको अध्ययन गराउँछ।

यस कलेजमा आधुनिक प्रविधिसँगै परम्परागत वैदिक शिक्षालाई समायोजन गरिएको छ। छात्रावास, प्रयोगशाला, पुस्तकालय, र अनुसन्धान केन्द्रजस्ता भौतिक संरचनाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन वातावरण प्रदान गरेको बताईएको छ। हाल वार्षिक ४० विद्यार्थी भर्ना हुने यो संस्थाले ८ जना विद्यार्थीलाई छात्रवृत्ति कोटा पनि उपलव्ध गराएको छ। साथै, स्नातक तहपछि मास्टर्स र पीएचडी तहसम्मको अध्ययन सुविधा विस्तार गर्ने योजना अन्तिम चरणमा रहेको बुझिएको छ।

पतंजलि आयुर्वेद मेडिकल कलेजबाट पास आउट भएका आयुर्वेद चिकित्सकहरुले समाजमा राम्रै सेवाहरु प्रवाह गरिरहेका र सरकारी गैरसरकारी अस्पताल तथा क्लिनिकहरुमा काम गरिरहेका कोइराला बताउँछन् । नेपालमा अध्ययन गरी भारत स्थित पतञ्जलि आयुर्वेद अनुसन्धान केन्द्रबाट स्पेशल ६ महिना तालिम लिएर आएका उनीहरुले आफ्नो ज्ञान र सिपलाई समाजको हितमा लगाईरहेको र यसबाट नागरिकहरु पनि खुसी भएको काभ्रे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत डा. रुपेश कुमार ठाकुर वताउँछन् । नागरिकहरुमा पतञ्जलि प्रति विश्वास रहेको र पहिले आयुर्वेद चिकित्सा प्रति खासै विश्वास र रुचि नराख्नेहरु पनि पतञ्जलिबाट अध्ययन गरेका चिकित्सक भने पछि विश्वास गरी सेवा लिन आउने गरेको अर्का चिकित्सक डा. विक्रम मलेगो वताउँछन् ।
 
भूकम्पमा योगदान

२०७२ सालको भूकम्पपछिको विपद्कालमा पतञ्जलि योगपीठ नेपालले देखाएको तत्परताले मानवताको ज्वलन्त उदाहरण प्रस्तुत गर्‍यो। राहत वितरण, औषधी सहायता, अस्थायी शिविर, योगसत्र र मानसिक सान्त्वनाजस्ता काममा ९० हजारभन्दा बढी स्वयंसेवक परिचालित भएका थिए ।

राहत स्वरूप भारतबाट निशुल्क प्राप्त भएका करिव २०० ट्रक सामग्रीहरुमा त्रिपाल टेन्ट खाद्यान्न लुगा कपडा औषधि पानी फलफूल आदि सामग्रीहरु प्राप्त भई देशै भरी प्रभावित क्षेत्रहरुमा निशुल्क वितरण गरिएको थियो भने नेपालमा करिव १० करोड रुपैयाँ बराबरको सामग्री तथा औषधी खरिद गरी निशुल्क वितरण गरिएको संस्थाका अधिकारीहरुले वताएका छन्।  

त्यसै गरी भूकम्पपीडितहरुको लागि २ महिना सम्म लगातार २२ जिल्लाका ६३ स्थानमा भण्डारा संचालन गरी निशुल्क भोजनको व्यवस्था गरी मानवताका पक्षमा पूनित कार्य गरेको लाभग्राहिहरु अहिले पनि सम्झिरहन्छन् । भूकम्पले क्षतविक्षत् भई वस्ने वास र खाने अन्न नभएको अवस्थामा पतञ्जलिका योग शिक्षकहरु तत्कालै त्रिपाल र खाद्दान्न वोकी गोरखा नुवाकोट काभ्रे भक्तपूर लगायतका जिल्लाहरुमा पुग्दा स्थानीयहरुले सहाराको अनुभूति गरेको अहिले पनि स्मरण गरिरहन्छन् । 

नेपालमा २०७२ को वेला भूकम्प आउँदा पतंजली योगपीठको आयोजनामा वृह्त्तर योग विज्ञान शिविर संचालन भैरहेको थियो, स्वामी रामदेव र आचार्य वालकृष्ण नेपालमा नै रहेका थिए । उनीहरुले नेपालको भूकम्प पछिको अवस्था अवलोकन गरी तत्कालै रक्तदान गरी अर्को दिन भारत फर्कि नेपालको लागि राहत संकलन गरी करिव २०० टक राहत सामागीहरु त्रिपाल, कम्वल, खाद्यान्न, औषधि, पानी, फलफूल लगायतका सामगीहरु पठाएका थिए ।

नाकाबन्दी र पहल  

त्यति मात्रै होईन भूकम्प पश्चात् नेपाल र भारत विच केही असमझदारी उत्पन्न हुन पुग्यो त्यसपछि भारतले नेपाललाई अघोषित रुपमा नाकावन्दी गर्यो, फलस्वरुप नेपालीहरुको दैनिक जनजीवन निकै कष्टकर हुन पुग्यो, पेट्रोलियम पदार्थमा पुरै भारतमा निर्भर रहेको नेपाललाई इन्धनको अभाव हुँदा निकै सास्ती व्यहोर्नु पर्यो, यो देखेर भारतमा स्वामी रामदेव र आचार्य वालकृष्णले भारत सरकारको अघोषित नाकावन्दीको विरोध गरेका थिए, साथै भारत सरकार संग आन्तरिक छलफल गरी नाकावन्दी अन्त्यको लागि पहल पनि गरेको जानकारहरु वताउँछन् । यसरी स्वामी रामदेव र आचार्य वालकृष्णले नेपाल प्रति वढी मोह देखाएकोले केही समय तत्कालीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पतञ्जलि भारतबीच सामान्य खटपट समेत उत्पन्न भएको केही विश्लेषकहरु वताउँछन् । राजनीतिक प्रतिशोधका कारण भारत नेपाललाई पेलेरै जाने पक्षमा भएको वेला स्वामी र आचार्यले भारतको उक्त कदमको विरोध गरी नेपाल र नेपालीको पक्षमा सार्वजनिक रुपमा नै अभिव्यक्तिहरु दिएका थिए जसबाट केही भारतीय मिडियाहरुले आचार्य वालकृष्णको चर्को आलोचना पनि गरेका थिए ।

जाजरकोट भूकम्प

त्यसैगरी २०८० कात्तिकमा जाजरकोटमा गएको भूकम्पमा पनि भारतबाट ९ गाडि राहत सामान तत्कालै वावा रामदेव र आचार्य वालकृष्णले पठाएर सहयोग गरेका थिए । 

विपन्न अनाथको संरक्षण

पतञ्जलि योगपीठ नेपालको अर्को प्रमुख परियोजना भनेकै अनाथ र विपन्न बालबालिकाको संरक्षण तथा पुनःस्थापना हो। देशका विभिन्न जिल्लाबाट संकलित अनाथ, टुहुरा, आर्थिक रूपमा पिछडिएका बालबालिकालाई काठमाडौं र काभ्रेको आवासीय केन्द्रमा राखी शिक्षा, संस्कार, स्वास्थ्य र आत्मनिर्भरता प्रदान गर्ने योजना रहेको वताईएको छ ।

२०७२ सालको भूकम्प प्रत्यक्ष देखे भोगेका वावा रामदेवले वावु र आमा दुवै गुमाएका अनाथ वालवालिकाहरुलाई संस्थामा राखेर संरक्षण गर्ने प्रतिवद्दता गरेका थिए त्यसै अनुरुप करिव २०० वालवालिकाहरुलाई संस्थाको केन्द्रीय कार्यालयमा राखि उनीहरुको नियमित हेरचाह गर्दै पढाई लेखाई उनीहरूलाई नियमित योग, ध्यान, वैदिक शिक्षा, संगीत, आत्मनिर्भर सीप र गुणअनुसारको व्यक्तिगत मार्गदर्शन दिइ सावालिक भए पश्चात् आआफ्नो कार्य क्षेत्रमा गएको संस्थाका साधवी रिता कार्की (देवकृपा) ले वताईन् । स्वामी रामदेव र आचार्य वालकृष्णको निर्देशनमा अनाथ वालवालिकाहरुलाई संरक्षण दिई निरन्तर शिक्षा दिई १० कक्षा उत्तीर्ण भए पश्चात् कतिपय वालवालिका आफन्तसँग गएको र कतिपय उच्च शिक्षामा लागेको कार्कीे वताएकी छन् ।  

जडीबुटी खेतीमा आत्मनिर्भर

नेपालमा पाइने दुर्लभ तथा बहुउपयोगी जडीबुटीहरूको संरक्षण, खेती, प्रशोधन र निर्यातमा पतञ्जलि योगपीठ नेपालले पहल गरेको छ। रुपन्देही जिल्लाको छिपागढमा करिव १२० करोड लगानीमा अत्याधुनिक आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग स्थापना गर्न लागेको वुझिएको छ । हाल सम्म ८० प्रतिशत निर्माण सम्पन्न भैसकेको उद्योगमा आधा जसो मेसिन समेत खरिद गरी ल्याई सकेको र हाल नेपाल सरकारका केही निर्देशनका कारण उद्योगको निर्माण  कार्य रोकिएको उद्योगका प्रमुख कार्यकारी अधिकृत सुमन अधिकारीले बताईन् । नेपालका जडिवुटिहरुलाई नेपालमै सदुपयोग गरी विश्व वजारमा आयुर्वेद औषधि विक्री गरी राज्यलाई फाईदा पुग्ने मेगा प्रोजेक्ट गर्न लागेको उनले वताईन् । 

हाल पतञ्जलि आयुर्वेद प्रा।लि।ले वाराको प्रर्सानीमा आयुर्वेदिक साबुन, तेल, क्याप्सुल, चूर्ण, आरोग्यवर्धक खाद्यपदार्थ आदिको उत्पादन र बिक्री गर्दै आईरहेको छ ।

समाज सेवा अभियान

पतञ्जलि योगपीठ नेपालको मूल मन्त्र 'स्वस्थ नेपाल, सुखी नेपाल' लाई आत्मसात गर्दै संस्थाले नशामुक्ति अभियान सञ्चालन गरेको जनाएको छ। विशेषतः युवापुस्तालाई लक्षित गरी विद्यालय, कलेज, कार्यालय तथा सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रम, वृक्षारोपण, रक्तदान, सरसफाइ र महिला सशक्तिकरण शिविर सञ्चालन गर्ने गरेको छ ।

त्यस्तै, वयोवृद्ध नागरिकका लागि विशेष योग प्रशिक्षण, आरोग्य शिविर, आयुर्वेदिक परामर्श सेवा, जीवनशैली व्यवस्थापन तालिम सञ्चालन गरिँदै आएको छ।

स्वदेशी उत्पादन प्रवर्द्धनमा अग्रसरता

'स्वदेशी अपनाऔं, आत्मनिर्भर बनौ' भन्ने नारालाई मूर्तरूप दिँदै पतञ्जलि योगपीठ नेपालले हजारौँ नेपालीलाई आयुर्वेद र योग आधारित स्वरोजगारको अवसर दिएको जनाएको छ। स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका सामग्रीहरूको देशव्यापी बिक्री सञ्जालमार्फत बजार प्रवर्द्धन भइरहेको छ। यसले नेपाली युवालाई स्वदेशमै व्यवसाय र जीवननिर्भरता बनाउने अवसर प्रदान गरेको छ।
 
 

प्रतिक्रिया