विष्णुप्रसाद शर्माको ‘श्वेत पर्वत’

काठमाडौँ । पत्रकारितासम्बन्धी दुई र यात्रा । नियात्राबारे यसअघि दुई कृति प्रकाशन गरिसकेका  विष्णुप्रसाद शर्मा पराजुली भर्खरै ‘श्वेत पर्वत’(भुँडीपुराण प्रकाशन, २०७८) लिएर आएका छन् । ‘तिब्बत यात्रा’ (२०७२), त्यसैको अङ्ग्रेजी अनुवाद ‘जर्नी टु तिबेत’(२०२२) र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’(२०७४) शीर्षकमा उनका मोटामोटा नियात्रा कृति आइसकेका हुन् । जागिरेकालमा विष्णु शर्मा हुँदा नै भ्रमण गर्न रुचाउने उहाँले यात्रासँगै लेख्नुपर्छ भन्ने मान्यताले पछि पुस्तक लेख्न थालेका हुन् ।

नेपालको ग्रेट हिमालयन ट्रेलअन्तर्गत पूर्व ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविरदेखि पश्चिममा हुम्लाको हिल्सासम्मका पदयात्राका क्रममा उनी नेपालका आठ हजारभन्दा माथिका आठ हिमालमध्ये छको आधारशिविर पुगिसकेका छन् । ७७ जिल्ला नै टेक्ने दुर्लभ प्राणीमध्ये एक शर्माका पछिल्लो कृतिमा धवलागिरि, अन्नपूर्ण, मुस्ताङ र मनाङ पदयात्राका अनुभूति तथा त्यससँग सम्बन्धित पर्याप्त भौगोलिक तथा ऐतिहासिक सूचना छन् ।

त्यस क्षेत्रका हिमाल र नदीनालाका साथै बहुल सङ्ख्यामा बसोबास गर्ने मगर, गुरुङ र थकाली जातिको रहनसहन, इतिहास र संस्कृतिबारे पनि प्रशस्त चर्चा गरिएको छ । आफ्नो यात्राका अनुभूतिका साथै घर फर्केपछि नियात्राकारले विभिन्न लेखकले लेखेका कृतिलाई उद्धृत गर्दै वा वेबसाइटमा झिकी तथ्यतथ्याङ्क पस्किएका छन् । नेपाल र नेपालीले बुझ्नैपर्ने हिमाली सभ्यता, जनजीवन, संस्कृति र प्राकृतिक संसाधनका चर्चा गर्दै लेखक यात्राका बीचबीचमा सरकार र जनतालाई सुझाव दिनाका साथै आह्वान पनि गर्छन् ।

लेखकले उच्च, साहसिक र कठिन पदमार्ग धवलागिरि परिक्रमा पदयात्रा विसं २०४३ को बडादसैँपछि २५ दिनमा सम्पन्न गर्नुभयो, जुन अहिले बढीमा १२ दिनमा गर्न सकिन्छ । स्याङ्जा, नाउडाँडाबाट सुरु गरी पोखरा फर्कनुभएका साहसी पदयात्री पराजुलीले हिमनदी र भन्ज्याङबाट आएको चिसो स्याँठ खाँदै मृत्युको छायाका साथ गरिएको ‘श्वेत पर्वत’ परिक्रमाका क्रममा देखिएका पर्वत, बागलुङ, म्याग्दीका रमणीय क्षेत्र, कालीगण्डकी उपत्यकाको मिहिन वर्णन गरेका छन् ।

ठमेलस्थित एक ट्रेकिङ कम्पनीमा काम गरेका बखत जर्मनीका डा वाल्टर लुडरसँग आफ्नै खर्चमा गरिएको पदयात्रा मुदी गाउँ, धवलागिरि उच्च आधार शिविर, फ्रेन्च धुरी, धम्पुस हुँदै सम्पन्न गर्न लाग्दा ओंठ, आँखा र मुख फुलेको–फुटेको, लेक लागेर मृत्युका मुखमा पुगेका बखत पाहुनाकै औषधिले बाँचेको कुरा लेखकले सुनाएका छन् । यात्राका क्रममा बाटामा टुक्रुक्क बसे जस्तो एक मृतक आरोही पनि देखेका लेखकले उचाइ उक्लेर तल झरी बास नबस्दा गरेको गल्ती महसुस गरी अन्य पदयात्रीलाई सचेत पनि गराएका छन् ।

दोस्रो देवचुली खण्डमा पदयात्राका क्रममा चर्चित पर्यटकीय क्षेत्र अन्नपूर्ण हिमशृङ्खलाको दक्षिणतर्फका रमणीय भिराला, पखेरा, नदी, वन–वनस्पति, झरना, चराचुरुङ्गी, आदिको वर्णन गरिएको छ । पोखराबाट लान्द्रुक, छोमरोङ, हिमालय होटेल हुँदै चौथो दिनमा नै आठ हजार एकानब्बे मिटर उचाइको अन्नपूर्णको आधार शिविर पुगी राम्रोसँग हिमाल र हिमनदीको अवलोकन गर्न सकेका लेखकले साथी हिरा महर्जनलाई यात्राका क्रममा लेक लाग्ने जस्तै समस्याबाट बचाएका थिए । “हिमालहरू रङ्गशाला होइनन् जहाँ गएर म मेरा चाहना पूरा गर्न सकूँ, ती त मन्दिर हुन् जहाँ म मेरो धर्मको अभ्यास गर्छु” भन्ने रुसी पर्वतारोही एनातोली बुखारिभलाई सम्झँदै उनले यहाँ हिमाल, तारा र चन्द्रमाको प्रेमलीला पनि देख्न सकेका छन् ।

लेखकले विसं २०७४ असारमा आफ्नो निवास कपन क्षेत्रकै मित्रहरूसँग ‘नेपालको ल्हासा’ मुस्ताङ भ्रमण गरी कृतिको तेस्रो खण्डमा मानव सभ्यता, इतिहास, हिन्दू र बौद्धधर्मका अति प्राचीन तीर्थस्थल, विविधतायुक्त भौगोलिक फैलावट, हजारौँ वर्ष पुराना गुफा र त्यहाँको जनजीवनलाई विस्तृत ढङ्गले कोट्याएका छन् । ‘संसारकै सबैभन्दा सुन्दर’ कालीगण्डकी उपत्यका, अतिसुन्दरी रुप्से झरना, गहिरो अन्धगल्छी तथा सातौँ र दशौँ अग्ला धवलागिरि र अन्नपूर्ण हिमाल क्षेत्रको भ्रमण गरेर पराजुली गौरवान्वित भएका छन् । बोन, सनातनी हिन्दू र बौद्ध धर्मावलम्बीको बासस्थान यस क्षेत्र स्वदेशभन्दा विदेशमा निकै चर्चित रहेको लेखकको अनुभूति छ ।

माथिल्लो मुस्ताङको ल्होमान्थाङ हुँदै दामोदर कुण्ड पुगी फर्केर मुक्तिनाथ दर्शन गर्नुुपूर्व रावणका हजुरबा पुलत्स्य, काका हजुरबा पुलह, जडभरत आदिले तपस्या गरेको मानिएको म्याग्दी बेनी क्षेत्रको उनले राम्रो वर्णन गरेका छन् । सतीदेवीको गला खसेको गलेश्वर क्षेत्रमै रावण जन्मेको प्रसङ्ग मिडियामा लेखिए पनि त्यो कुरा भने कृतिमा उल्लेख गरिएको छैन । नेपाल आउने पहिलो जापानी इकाइ कावागुची तिब्बत जानुपूर्व र सबैभन्दा पहिले आठ हजार मिटरमाथिको हिमाल चढ्ने फ्रान्सेली मौरिस हर्जाेग यसै क्षेत्रको टुकुचेमा बसेको तथा भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसंभवले मुस्ताङमा धेरै समय बिताएको तथ्य पनि लेखकले ल्याएका छन् ।

नीलगिरि र धवलागिरिको सुनौलो प्रतिछायाले अँगालो हालेको जोमसोम पुगेपछि त्यहाँको हावाको वर्णन नगर्ने र मार्फा पुगेपछि स्याउको वर्णन नगर्ने कमै यात्रु होलान् जसमा पराजुली पनि थपिएका छन् । नजिकै सानो र आकर्षक धुम्बा ताल तथा थिनी र लुप्रा गाउँ नछुटाउन लेखक यात्रुले पाठकलाई सुझाव पनि दिएका छन् ।

जोमसोमबाट नजिक रहेको बोन, हिन्दू र बौद्ध धर्मावलम्बीको अत्यन्त महत्वपूर्ण तीर्थस्थल तथा पितृ तर्पणस्थल कागबेनी वरपर नै ब्रह्मा, विष्णु, शिव, अन्य देवता, ऋषिगण, यक्ष, गन्धर्व र अप्सराको उपस्थितिमा यज्ञ गरिएको र त्यहीँ नै विष्णुको रूप शालिग्राम पाइने गरेको प्रसङ्ग उल्लेख गर्दैै लेखकले भारतीय तीर्थयात्रुले गयाभन्दा यसलाई ठूलो मान्ने गरेको र त्यहाँ श्राद्ध गरेपछि अन्त गर्नु नपर्ने जिकिर पनि गरेका छन् । कागबेनी भएरै रेशममार्गभन्दा पहिलेदेखि नै उत्तरदक्षिण यात्रा हुने गरेको उनको भनाइ छ । शालग्राम क्षेत्र मुक्तिनाथ, पर्खालभित्रको सहर माथिल्लो मुस्ताङ र दामोदर कुण्ड क्षेत्रको सूक्ष्म बयानले पाठक सो ठाउँ पुग्न आफैँ हतारिन्छ ।

चौथो खण्डमा लेखक महाभारत युद्धपछि प्युठानको स्वर्गद्वारीमा यज्ञ गरी पाण्डवहरू त्यहीँबाट स्वर्ग गएको भनाइ विपरीत मनाङको पौङ्दी देउरालीबाट स्वर्ग गएको मान्छन् । विश्वप्रसिद्ध थोराङ ला(भन्ज्याङ), विश्वकै सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा त्यहाँका प्रसिद्ध गाउँ नार र फुको ‘भगवान् भरोसा’का यात्राको वर्णन पनि यसमा परेको छ । तिलिचोलाई त लेखक शिवले काकभुुशुण्डीबाट रामकथा सुनेपछि र सतीदेवीले देह त्याग गरेपछि ध्यान गर्न आएको स्थान भनेर चित्रण गर्दै पाठकलाई सत्ययुगमा पुर्याइदिन्छन् ।

आफ्नो यात्रा अनुभवका आधारमा हिमाललाई मानव सभ्यताको दश हजार वर्ष पुरानो बस्ती मान्ने लेखक पौराणिककालका वेदव्यास, पुलह, पुलत्स्य, कपिल, याज्ञवल्क्य, जनक, गार्गी नेपालको वर्तमान तराई र हिमाली भूमिकै हुन् भन्ने ठोकुवा पनि गर्छन् । हिमाली क्षेत्रमा बोन, हिन्दू र बौद्ध सम्प्रदायको धार्मिक सहिष्णुताको राम्रो नमुना प्रस्तुत गरेका लेखकले आफूले जिकिर गरेका र अन्य पर्वतारोही वा लेखकका पुस्तक उद्धरण गरी दिएको अनौठा पौराणिक तथा ऐतिहासिक तथ्यप्रति भने आगामी अध्ययन–अनुसन्धानका लागि सामग्री बन्न पुग्छन् ।

यात्राकै आधारमा उनी तिब्बती बौद्ध धर्म तिब्बतबाट नेपालको हिमाली क्षेत्रमा आयात नभई नेपालबाट तिब्बतमा पुगेको पनि स्पष्ट गर्छन् । मनमोहक रङ्गीन तस्वीर र रेखाहरूले कृतिको गरिमा बढाएको छ । आफूले पदयात्रा गरेको ‘लुकेको स्वर्ग’का मगर, थकाली र गुरुङ जातिको बाहुल्य रहेको उल्लेख गर्दै लेखकले तिनका घरको बनोट, इतिहास, धर्मसंस्कृति, वेशभूषा, जन्म, विवाह तथा मृत्यु संस्कार, चाडपर्व र पेसा–व्यवसाय पनि उल्लेख गरी मानव–समाजशास्त्रीय चिन्तन गरेका छन् ।

आफ्नो भनाइ पुष्टि गर्न बारम्बार एउटै तथ्यतथ्याङ्क र अनुभूति दोहोर्याइरहने लेखकको बानी अघिल्ला कृतिमा थिए र प्रस्तुत कृतिमा पनि छ, जसबाट कृतिको मोटाइ त बढ्यो नै, पाठकलाई झिँजो पनि लाग्न सक्छ । घर फर्केर अन्य पुस्तक र वेबसाइटबाट उद्धरण गरी लेखिएको कृतिलाई ‘नियात्रा’ भन्ने कि ‘यात्रा विवरण’, विधागत अलमल हुन्छ । कृतिमा प्रसङ्ग बाहिरका कुरा पनि धेरै परेका छन् । जे होस्, प्रशस्त विवरण र सुझाव कृतिमा दिइएकाले अन्य पछिल्ला यात्रु लाभान्वित हुनाका साथै सरकारलाई पनि काम गर्न केही मसला भने यसले दिन्छ ।

प्रतिक्रिया