मो. वि. गो. ५५५

विराटनगरमा के काम पाउनु र ! दिनभरि त्यहाँका सरकारी कार्यालयहरू चहारेँ । केही काम पाउने छाँट छैन । खल्तीमा एक पैसा छैन । घुम्दाघुम्दै चिनेका एकजना मान्छे भेट भए– उनी थिए सूर्यलाल श्रेष्ठ । उनी मभन्दा पाको उमेरका थिए । तेह्रथुममै चिनजान भएको थियो । तेह्रथुममा उनीहरू नाम चलेका व्यापारी थिए, कपडाको व्यापार गर्थे । उनका दाजु थिए पशुपतिलाल, ठेक्कापट्टाको काम गर्थे । अर्का दाजु मोतिलाल कपडा व्यापारमै थिए । पशुपतिलालचाहिँ विराटनगर झरेका थिए । सूर्यलाल दाजुसँगै विराटनगरमा थिए । उनीहरू गाडी मालिक थिए । 

राम्रो चिनजान भएका सूर्यलाल भेटिएपछि मलाई अलिक साहस आयो । यिनले काम दिलाइदिन मद्दत गर्लान् भन्ने आश भयो । मन अलिक ढुक्क भयो । मलाई विराटनगरमा भेटेर छक्क परेका सूर्यलालले सोधपुछ गरे । मैले आफू जागीर खोज्दै विराटनगर आइपुगेको बताएँ । दिनभरिमा मैले माल अड्डा, गोश्वारा र अरू सरकारी कार्यालय चहारिसकेको थिएँ । काम मिलेको थिएन । 
सूर्यलालले भने– हेर टीका ! तिमी थोरै पढेको मान्छे, जागीर पाउँदैनौ, म ग्यारेजमा काम लगाइदिन्छु, हिँड । मैले मनमनै सोचेँ– काम नपाई बस्नुभन्दा त ग्यारेजमै भए पनि गर्छु । सूर्यलाल कान्छा साहू भनेर चिनिएका थिए । म कान्छा साहूका पछि लागेर एउटा मोटर ग्यारेजमा पुगेँ । उनीहरूले आफ्नो गाडी मर्मत गराउने ग्यारेज पनि त्यही रहेछ । खानबस्न दिने गरी मलाई ग्यारेजमा काम लगाइदिए । ग्यारेजको काम त मैले केही पनि जानेको थिएन, म पूरै अन्जान थिएँ । काम सिक्नुपर्छ भनेका थिए । 
जे पर्ला भन्ने ठानेर म ग्यारेजमा काम गर्न थालेँ । दुर्लभसिंह राई भन्ने मिस्त्री थियो । ऊ मलाई कान्छा भनेर बोलाउँथ्यो । उसले मैले केही पढेको छैन भन्ने ठानेको रहेछ । एक दिन मोटरको कुनै पूर्जामा लेखेको अक्षर देखाएर मलाई पढ्न लगायो । के लेखेको छ हेर त भन्यो । मैले त्यहाँ लेखिएको अङ्ग्रेजी पढेपछि ऊ छक्क पर्यो । उसले अरू पनि पढ्न लगायो । मैले अङ्ग्रेजी खरर्र पढेपछि उसले मलाई पत्यायो । उसलाई अङ्ग्रेजी अक्षर पढेर सामान चिन्ने मान्छे चाहिएको रहेछ । हातमा सीप नभएकाले खानबस्न मात्रै पाउने गरी काम पाएको थिएँ । ग्यारेजको काम सजिलो थिएन । गाडीको इन्जिन मट्टितेल र पेट्रोलले धुनु पथ्र्याे । त्यसपछि इन्जिनभित्र पेस्टुन रिङ फिट गर्नुपथ्र्यो । गाडीका गह्रौँ सामान उचाल्नुपथ्र्यो । शरीर पूरै कालो हुन्थ्यो । 
त्यसबेला विराटनगरमा एकजना गाडी व्यवसायी थिए । उनलाई सबैले बाजे भन्थे । विराटनगर–जोगबनी रूटमा 
कारजस्तो सानो गाडी चलाउँथे । गाडीमा बढीमा १० जना यात्रु अट्थे । जोगवनी पुगेको भाडा जम्मा आठआना मात्र थियो । म त्यही गाडी चढेर बेला मौकामा जोगवनी पुग्थेँ । विराटनगरमा एउटा नामी होटल थियो– माइलाको होटल भन्थे । त्यस होटलमा खाना खानेको भीड हुन्थ्यो । शाकाहारी खाना दस आनामा पाइन्थ्यो । त्यसबेला मोरङ र सुनसरी दुई जिल्ला थिएनन्, मोरङ नै थियो । सदरमुकाम विराटनगर थियो । विराटनगर आउने धेरै मानिसहरू त्यही होटलमा खाना खान्थे । म पनि कहिलेकाहीँ त्यही होटलमा खान पुग्थेँ । 

ग्यारेजमा झण्डै दुई वर्ष काम गरेँ । गाडीको इन्जिन र पार्टपूर्जा बारे जान्ने भएँ । काम गर्दागर्दै मलाई ड्राइवर भएर गाडी चलाउने रहर पलायो । अब किन ग्यारेजमा मिस्त्रीमात्रै हुने ! ड्राइवर भएर गाडी चलाउने, गाडीमा घुम्ने भन्ने लाग्न थाल्यो । आफूले सोचेको जस्तो फटाफट किन हुन्थ्यो ! दुई वर्ष ग्यारेजमै बित्यो । 

गाडी भन्नु साना–ठूला ट्रकमात्रै थिए । सामान ओसार्ने, मान्छे बोक्ने सबै काम तिनै ट्रकले गर्थे । अब म ग्यारेज छोडेर गाडीमा काम गर्न थालेँ, २०१३ सालको शुरूतिरै । गाडी चलाउन जानेको थिइनँ । गाडीमा भाडा उठाउने काम गर्न थालेँ । भाडा उठाउने र परेको सबै काम गर्नुपथ्र्यो, खलासी जस्तो । विराटनगर–धरान रूटमा चल्ने गाडी थियो, मोहनलाल अग्रवाल नामका साहूको । उनकै गाडीमा एक वर्ष हिँडेँ । अर्को वर्ष जनकलाल चौधरी भन्ने साहूको गाडीमा काम गरेँ । यतिकैमा दुईवर्ष बितिगयो । 
ड्राइवर बन्ने रहर त्यही दुई वर्षमा पूरा भयो । गाडीमा हिँड्दा हिँड्दै चलाउन सिकेँ । गाडी चलाउन जान्ने त भएँ तर लाइसेन्स लिएको छैन । विराटनगर–धरान कतै ग्रावेल र कतै कच्ची सडक थियो । लाइसेन्स नलिई गाडी चलाउन पाइने कुरा थिएन । जनकलालको गाडीमा काम गर्दा नै मैले चलाउन सिकेको हुँ । जनकलालको घर दुहवीमा थियो । उनी निकै धनी मान्छे रहेछन् । उनले कलकत्ताबाट गाडी मगाएका थिए । त्यही गाडीमा हिँड्दै ड्राइवर भएँ । 

लाइसेन्स मो. वि. गो. (मोरङ विराटनगर गोश्वारा) बाट लिनुपथ्र्यो । लाइसेन्स लिनुअघि ट्रायल दिनुपथ्र्यो । गाडी चलाउन सिकाउने मान्छे पनि उपस्थित हुनुपथ्र्यो । मैले सिकाएको हुँ भन्नुपथ्र्यो । ट्रायलमा पास भएपछि लाइसेन्स प्राप्त हुन्थ्यो तर त्यो नयाँ ड्राइवरले लाइसेन्स लिएको ३५ दिनभित्र कुनै दुर्घटना गरायो भने सिकाउने मान्छे पनि दोषी ठहर हुन्थ्यो, उसलाई पनि सजाय हुन्थ्यो । कानून निकै कडा थियो । 

लक्ष्मीकान्त खनाल भन्ने एकजना ड्राइवर थिए । मेरो ट्रायलमा उनी नै उपस्थित भइदिए र मैले सिकाएको हो भने । गोश्वारा कार्यालयले सिकाउने मान्छेको पनि सहीछाप लिन्थ्यो । मलाई लक्ष्मीकान्त र पदम भन्ने अर्का एकजनाले गाडी चलाउन सिकाएका थिए । मैले ग्यारेज छोडेर गाडीमा काम थाल्दा लक्ष्मीकान्त नै ड्राइवर थिए । गाडी चलाउन जानिसकेकै थिएँ, ट्रायलमा म खरो उत्रिएँ । लाइसेन्स पाउने पक्का भयो । 

नयाँ गाडीको नम्बर दिने, लाइसेन्स दिने काम मो. वि. गो. कै थियो । मैले चलाउन सिकेको गाडीको नम्बर प्लेटमा ‘मो. वि. गो. ५०८’ थियो । लाइसेन्समा पनि मो. वि. गो. नै हुन्थ्यो मैले लाइसेन्स पाउने भएँ । म र लक्ष्मीकान्त गोश्वारा कार्यालयमा उपस्थित भयौँ । सिकाउने व्यक्तिका रूपमा लक्ष्मीकान्तले सहीछाप गरे । अनि, मैले २०१५ साल वैशाखमा ‘मो. वि. गो. ५५५’ नम्बरको लाइसेन्स पाएँ । 

अब म पक्का ड्राइवर भएँ । लाइसेन्स हातमा लिएर गोश्वारा कार्यालयबाट बाहिर निस्किँदा ममा खुशीको सीमाना थिएन । जीवनमा निकै ठूलो जित हासिल गरेँ, अब गरीखाने बाटो खुल्यो भनेर फुरुङ्ग भएँ । त्यति खुशी म कहिल्यै भएको थिइनँ ।

(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना  भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए ।

 
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक साता ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ । आज शृङ्खलाको छैटौं अङ्क प्रस्तुत गरेका छौँ ।)

 

यी पनि पढ्न छुटेकी-

अमिनीमा जागीर

अहो ! त्यो धरान !

पन्ध्र वर्षमा स्कूल

प्रतिक्रिया