कांग्रेस, संस्कार र गाई भएको पैसा

“मुमा हाम्रोमा पनि सराद् गरौं न हौ !” बच्चा बेलामा छिमेकमा श्राद्धमा बोलाएर “गाई भएको पैसा” पाउँदा फुरुक्क परेकी बैनिको आमासँगको बालसुलभ आग्रह हो थियो यो ! सबैका घरमा श्राद्ध गरेर बोलाउँदा आफ्नो घरमा पनि बोलाएर रमझम गरौं भन्ने बैनिको बाल चाहना स्वाभाविक थियो ! हजुरबुबा हजुरआमा हुँदाहुँदै श्राद्ध गर्न नमिल्ने भएकोले एउटा सानो पूजा लाएर छिमेकी बोलाएर आमाले बैनिको रहर पूरा गर्दिनु भएको थियो !

नगर अधिवेशन सकियो ! भद्रपुर काङ्ग्रेसले पद हस्तान्तरणको विधि पूरा गर्ने जमर्को गरेन ! भद्रपुर आफैंमा स्वघोषित बौद्धिकताले बिभूषित पात्रहरुको मुठ्ठीमा कसिएकोले हुनसक्छ सिकारु बौद्धिक मेची नगरले उछिन्यो हामीलाई ! निम्तो स्वीकार्दै उतै लागियो !

कार्यक्रममा बिजेता उप–बिजेताले आपसमा अबीर दले ! माला साटासाट गरेर अंकमाल गरे ! पुरानाले पद सुम्पे नयाँले ग्रहण गरे ! चुनावी तिक्तता बिर्सेर सांगठनिक  एकताको उद्घोष गर्दै काङ्ग्रेस मजबुतिको प्रण गरे ! छेउमै रहनु भएका छविलाल खतिवडासँग फुस्फुसाएँ म– आहा ! कस्तो रमाइलो दाजु ! हाम्रो भद्रपुरले त यस्तो गर्न जानेकै छैन ! अहिलेसम्म कुनै अत्तोपत्तो छैन ! राम्रो संस्कार दियो मेची नगरले !

यो हाम्रो जेसिज कल्चर हो ! यसलाई हामी  राजनीतिमा समेत प्रयोग गर्दैछौं ! उहाँले प्रस्ट्याउनु भो !

खै दाजु ! यहाँ बिजेता उप–बिजेता चुनावी तिक्तता बिर्सिदै अंकमाल गरेर राजनैतिक संस्कार देखाउँछन् उता हाम्रा चंै जित्ने अबीर दलेर हाँस्दै  पृथ्वीनगरतिर लाग्छन् अनि हार्ने चैं दाह्रा किट्दै  कन्याम पुगेर दारु खाएर फर्किन्छन् !

मेची नगर पछि भद्रपुर ९ र १० ले पनि कार्यक्रम राख्यो ! नगरको नाता भद्रपुरसँग जोडिएता पनि क्षेत्रीय नाता १ नम्बरसँग जोडिएकाले होला ती दुई वार्ड अलि संस्कारी छन् भद्रपुर भन्दा ! उनीहरु जेसिज संस्कारलाई राजनीतिमा ढाल्दैछन् ! हामी चैं राजनैतिक डकारको पिठो मुछ्दै निषेधको रोटी सेक्न ब्यस्त छौँ !

मैले मेरो नगर सभापतिसँग आग्रह गरें– भाई ! भद्रपुरले अरुलाई सिकाउनु पर्नेमा अरुले हामीलाई सिकाउने दिन आउन थालेजस्तो छ ! हामीले चैं यस्तो कार्यक्रम राख्नुपर्दैन ? कहिले गर्ने हो ?

कोरोनाको कहर छ दाई ! फेरि केन्द्रबाट पनि भिडभाड नगर्नु भन्ने परिपत्र नै छ ! अलि पछि गर्नुपर्ला कि !

ठीकै छ ! बेहुलो नै तयार छैन भने म जस्ता जन्ती मात्र तातेर बिहे हुन्न भन्ने सोचेर चुप लागें ! वार्ड सभापतिलाई कुरो राखें– उही कोरोना त्रास ! भिडभाड नगर्नु भन्ने उर्दि !

अचम्म त्यस बेला लाग्यो जब कुनै मन्त्रीका स्वागतका लागि पार्टी अफिसमा भेलाको निम्तो आयो ! मन्त्रीको स्वागतमा हुल जम्मा भयो ! निर्वाचन पछि पद हस्तान्तरण जस्तो अनिवार्य विधिलाई चैं कोरोनाले रोक्ने तर गोदामका बोरा झैं खातमाथिखात लागेर मन्त्रीसँग सेल्फी खिच्न चैं कोरोनाले नरोक्ने ! मानौँ मन्त्री, मन्त्री नभएर कोरोनाको अचुक भ्याक्सिन हुन् ! काम कुरो एकातिर छोडेर कुम्लो बोकेर ठिमीतिर दौडिन ब्यस्त भयौं हामी !

सोच्न बाध्य बनायो– सँगैमा सिमाना जोडिएको मेची नगरमा छविलाल खतिवडाहरुको अगुवाइमा सुरु भएको जेसिज कल्चरलाई हिजो अस्तिको फुच्चे बिरुवाले काङ्ग्रेसभित्र बिकसित गर्दैछ ! जेसिजबाट भित्रिएको त्यो भाईचाराको संस्कारको  उपयोगबाट  पार्टी संगठित भएर लंका दहन गर्ने हनुमान सेना उत्पादन गर्दैछ !

यता हामी स्वघोशषित बौद्धिक भद्रपुरेहरु छविलाल खतिवडाहरु भन्दा निकै अघि जेसिज राष्ट्रिय अध्यक्षको रूपमा पाएका उत्तर चापागाईं अनि एरिया कोअर्डिनेटरको रूपमा स्थापित भक्त खवास र राष्ट्रिय महासचिवको रूपमा प्राप्त भरत प्रसाईंलाई ओझेलमा राख्न ब्यस्त छौँ ! उनीहरुको जेसिज कल्चर पछ्याउन ईच्छुक छैनौं ! उनीहरुलाई निषेध गर्नमै आनन्दित छौं !

गुटको आरोप नलागोस् ! तर सत्य हो कि– एकातिर सिमाना जोडिएको क्षेत्रमा हिजोअस्तिको कलिलो बिरुवाको नेतृत्वमा राजनैतिक संस्कार अँगाल्दै काङ्ग्रेस हनुमान उत्पादनद्वारा लंका विजयको तयारी हुँदैछ भने हामी भद्रपुरे चै निकै अघि नै “महामन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्री, संविधान निर्माता, शान्तिका अग्रदूत” आदि ईत्यादि बिभूषणबाट बिभुषित अजङ्गको सिङ्गै बनिबनाउ रुख भेट्दा समेत त्यै रुखको हाँगा हल्लाएर हनुमान भएको आत्मरतिमा रमाउने बाँदर साबित हुँदैछौं ! आफुले आफैंलाई बौद्धिकताको पगरी गुथाउने हामी संस्कारको नाममा बेथितिको डकार ओकल्नमै ब्यस्त छौं !

समग्रमा– काङ्ग्रेसको श्राद्ध नै पर्खने हो भने त केही भन्नुछैन ! हैन भने एउटा सानोतिनो रुद्री पूजा नै लाएर भएपनि काङ्ग्रेसी बच्चाबच्चिको ईच्छा पूरा गर्दिने हो कि ? 

मलाई त गाई भएको पैसा पनि चाहिन्न ! पूजा गरेर बैधानिकता दिए मात्रै पनि पुग्ने थियोे ! कि कसो नवनिर्वाचित नगर सभापतिज्यू ?

 
 

प्रतिक्रिया