कहिले दाईको पालो कहिले भाईको !

छिमेकी काका ! कुनैपनि प्रसङ्ग निस्कँदा ‘बुझिस बेटा, उहिले बनारसमा हुँदा ....’ भन्दै आफू बनारस पढ्न बस्दाको युवावस्थाको बखान सुरु गरिहाल्ने ! होला त नि, आफुले बनारस नदेखेको ! सजिलै पत्याईन्थ्यो पनि ! काका सारै असल त्यस समय । छरछिमेक सबैका प्रिय ! मर्दा पर्दा सारै सहयोगी । विपक्षी छिमेकीसँग भिड्न समेत सिपालु ! उहाँको सबैलाई समेट्ने लड्ने भिड्ने क्षमताबाट हामी सबै प्रभावित ! हरेक कुरामा काकालाई अग्रपंक्तिमा राख्न थालियो ! काकाले सबैको आदर सम्मान पाउँदै जानु भो ! सबैले उहाँलाई मुखिया बनाएर गाउँ निर्माणमा जुटियो !

समय सँगसँगै काकाको स्वभाव र चरित्र समेत फेरिन थाल्यो ! उहाँको वरिपरी उरन्ठेउलाको जमात बढ्न थाल्यो ! उनीहरुबाट घेरिन थाल्नु भो ! उनीहरु उचाल्दै जाने काका उचालिँदै जाने क्रमले तिब्रता पाउन थाल्यो ! पहिला विपक्षीसँग लड्ने काका उरन्ठेउलाको लहैलहैमा लागेर आफ्नै परिवारसँग लड्न थाल्नु भो ! आफ्नैलाई लडाउन थाल्नु भो ! उनीहरुको कुरा सुनेर आफ्नैलाई सिध्याउनतिर लाग्नु भो ! भनिरहनु परेन – काका उदण्ड हुँदै जानु भो !

प्रेसको टाईप रिकास्टिङ्ग गर्न पट्ना  जान लाग्दा ‘बुझिस बेटा, उहिले बनारसमा हुँदा....’ भन्दै आफू पट्नाको पूर्ण ज्ञाता भएकोले एक्लै नजान र आफूसँगै जाने आग्रह गरेपछि– होला त नि, गाउँको मुखिया भन्दै सँगै गईयो ! काम सकेर फर्किने बेला हाडिङ्गपार्क बस स्टेसनमा दलालको फन्दामा परियो ! दलालहरु कलकत्ता जाने यात्रीलाई दिल्लीको बसमा हाल्दिन समेत पछि नपर्ने ! गलगलियाको बस चढ्नुपर्ने हामीलाई जोगबनीको बसतिर तान्न थालेपछि काकाले बनारस क्रान्ति सुरु गर्न मात्रै के थाल्नु भएको थियो– ‘चुपचाप  चलो’ भन्ने एकै बाक्यले उहाँको क्रान्तिको समापन भैगो ! काकालाई बोरा बोके झैं उचालेर बसको पछिल्लो सिटमा लगेर थेचारे ! ८० किलोको भर्ती बोरा जस्तो काका त एकैपटकको ‘चुपचाप  चलो’ बाट पछिल्लो सिटमा पुग्नु भो भने ३० किलोको खाली बोराको हैसियतको म सँग ‘राम ईज अ गुड ब्वाई’ हुनुको बिकल्प थिएन ! दौडिँदै काकासँगै टाँसिनु   पुगें ! काका शेर उनीहरु सवाशेर निस्के !

घर फर्केपछि काकाको गाउँमा ‘उहिले बनारस....’ कथाको अन्त भो ! मेरो अगाडि त कुरै भएन ! ‘काका, उहिले बनारसमा के गर्नु भो ? कसो गर्नु भो ? छोड्दिनुस्, बिर्सिनुस ! अब के गर्नु हुन्छ ? कसो गर्नु हुन्छ ? त्यो सोच्नुस् ! समय छ सुध्रिनुस् काका प्लिज ! तपाईंको बनारस मैले पट्नामा देखि सकें ! यसो भनिरहँदा काका भावुक  हुनुभो ! बिस्तारै काकामा सुधार आउन  थाल्यो ! दुस्कर्म त्यागेर सत्कर्मतिर लाग्नु भो ! काकाको गुमेको शाख फर्काउन असल भतिजहरु लागि परे ! काका आफैं पनि दत्तचित्तले लाग्नु भो ! उरन्ठेउला स्वार्थी बिस्तारै पाखा लाग्दै गए । काकाको राम्रो पक्षको अनुसरण गर्दै सबै गाउँ निर्माणमा जुटे । काका सर्वमान्य मुखिया हुनु भो !

यता– गाउँले दाई !

०४६ को आन्दोलनबाट एकछत्र रूपमा उदाएका पात्र ! उहाँलाई काँधमा काँध मिलाएर साथ दिने विद्यार्थी फाँटको अर्को उत्साही भाई ! दाईको जोश जाँगर र उत्साह सारै नै प्रशंसनिय ! रातो झण्डा धारी उदण्ड छिमेकी तह लाउन सक्षम ! उहाँको गुणबाट प्रभावित सबै सबैको आदरणीय भएपछि उहाँ सबैको मुखिया हुन पुग्नु भो ! कुनै समय पुरै रक्ताम्मे झापामा रुख उमार्न समेत सफल दाई प्रति हामी सबै दङ्गदास ! दाई जिन्दावाद भन्दै सबै पछि लागे ! दाई निकै माथि पुग्नु भो ! बिस्तारै उहाँलाई उदण्ड र स्वार्थी समुहले घेर्न थाल्यो ! उहाँ घेरिँदै जानु भो ! घेरिन मै रमाउन थाल्नु भो ! माथि पुगेको मान्छे तलकालाई देख्नै छोड्नु भो ! यदाकदा देखे पनि जरै उखेल्न थाल्नु भो ! उरन्ठ्यौलाको अघि निष्ठाहरु लठ्यौरा साबित हुन थाले ! कुनै समयका हनुमान बाँदर साबित भए ! बाँदरहरु हनुमानको अभिनयमा मस्त रहे ! उहाँ अभिनयको मनोरञ्जन मै रमाउनु भो ! प्रष्ट छ– दाई उदण्ड हुँदै जानु भो ! मलजल गर्ने वरिपरि छँदैथिए !

त्यै मलको बोरा बोकेर ‘पहिले झापामा ....’ भन्दै काठमाडौं पुग्नु भो यसपटक ! तेर्हौंको धङ्धङी त छँदैथियो ! त्यही सोच राख्दै बसको स्टेयरिङ्ग समात्ने उहाँको सपनालाई दुई फुच्चेले पछिल्लो सिटमा खुम्च्याईदिए ! हार्डिङ्गपार्कमा  काकालाई झैँ ! यसबारे दाईको धारणा त आएको देखिँदैन तर बिगार्न  सिपालु भाईहरु नै अग्रपंक्तिमा आएर ‘उहिले दाईले....’ भन्दै फेसबुक पेण्टिङ्गमा ब्यस्त देखिन्छन् ! सतप्रतिशत सत्य हो– उहिले दाईले राम्रो गरेकै हो र सँगसँगै अर्को सत्य यो पनि हो कि अहिले गलत नै गरेको हो ! नराम्रोको अघि राम्रो ओझेल पर्छ ! नराम्रो हानिकारक पनि हुन्छ प्रष्ट देखिन्छ पनि !

०४६ को आन्दोलन हाँकेका दुई पात्र ! एउटा दाई अर्को भाई ! आज अमिलो मन पारेर भन्नैपर्छ कि– एउटा प्रिय भाई रक्सीको नसामा डुबेको छ अर्को प्रिय दाई सत्ताको नसामा ! भाईलाई रक्सीको नसाले सिध्यायो दाईलाई सत्ताको उन्मादले सिध्याउँदैछ ! परिणाम– हाम्रो घर सकियो ! गाउँ सकियो ! पार्टी सकिँदैछ !

समय छ अझै पनि !

दाईले ‘पहिले झापामा...’ को दम्भ त्याग्नुपर्छ ! भाईहरुले पनि ‘अहिले काठमाडौंमा......’ को भावना बोक्नु हुन्न ! संयमताको पोको सुरक्षित राख्न सक्नुपर्छ ! दाईका सुन्दर पक्षलाई अनुशरण गर्दै पछिल्लो सिटका दाईलाई सँगसँगै राखेर गाडी चलाउनुपर्छ ! दाईले पनि भाईहरुसँग बस्न धक मान्नु हुन्न !

हैन भने– परापूर्वकाल देखिको दुष्ट लाल छिमेकी त छँदैथियो, अहिले त अर्को बाछो समेत थपिएकोछ गाउँमा !

अझै पनि नचेत्ने हो र नसुध्रिने हो भने दुबै छिमेकीको लात खाने निश्चित छ ! नेता तपाईंहरु नै हो क्यारे ! तपाईंहरुकै मर्जी !

मेरो चैं सबैलाई जय नेपाल !
 

प्रतिक्रिया