पुरानो ‘मण्डले’लाई नयाँ ‘मण्डले’को हार्दिक बधाई ! 

तिथि मिति याद भएन तर ०४३/४४ सालतिर हुनुपर्छ – मेची रंगशालामा सूर्य बहादुर थापाले कुनै पञ्चायती पर्वलाई सम्बोधन गर्दैगर्दा तल चौरबाट’ सूर्य बहादुर मुर्दावाद’ स्वरका साथ ‘तिमीहरु जस्ता भ्रष्टका कारण हामी मण्डलेका रूपमा बदनाम छौँ’ भन्दै एक युवक चिच्याउँदै थियोे !

युवक अर्थात्– हामी पञ्चायत ईतरले दिएको मण्डले बिभूषणबाट बिभूषित राजेन्द्र लिङ्गदेन !

मलाई सम्झना छ– आलोक साप्ताहिकको ‘प्रसङ्ग कतिपय’ व्यंग्य या प्रथम पृष्ठमा छापिएको पञ्चायती भण्डाफोरको प्रसङ्ग होस् ‘राम्रो छ भरत दाई’ भन्दै हात जोड्ने अनि प्रशासनको कौतुहलताको बिषय बनेको‘अव्यय’ छद्म नामबाट साप्ताहिक विचारमा मुक्त पातो लेख्ने कृष्ण धरावासीसँग भेट्दा प्रसासनलाई पोल लाउनुको साटो कानमा सुस्तरी ‘दरो ठोक्नु भएको छ दाई, बधाई छ’ भन्ने राजेन्द्र ०४६ को जनआन्दोलनको क्रममा राम थापाको 'हत्यारा' साबित हुन पुगे !

राजेन्द्रहरुले हारे ! बहुदल आयो ! ‘मण्डले चोर देश छोड’ भन्दै चिच्याउँदै हिँडेको मलाई संसारै जितेको भान भो ! बहुदल जिन्दावाद भन्दै घोक्रो फुलाएँ ! जोडले ताली बजाएँ !! मेरा नेता देश बनाउन तम्सिए, म पनि पाखुरा सुर्किदै पछि दौडीएँ ! देश बनाउने क्रममा  मण्डलेले बिदेशीसँग दान मागेर ठड्याएका कलकारखाना ध्वस्तबाट मुलुक निर्माणको श्रीगणेश हुँदा फेरि ताली बजाएँ !! 

मुलुक निर्माणको क्रम बढ्दै गयो ! पञ्चायतकालमा भरत गुरुङ्गलाई तस्कर देख्ने म बोर्डरमा सुपारीको बोरा र रक्तचन्दनको बिटो बोक्न पाउँदा नेताको जयजयकार गाउँदै सगर्व ताली बजाउन पुगें !

पञ्चायतकालमा डलर काण्ड, गलैंचा काण्ड आदिका लागि मुर्दावाद चिच्याउँदा फुलेको मेरो घोक्रो लाउडा, धमिजासम्म आईपुग्दा सुकेर खोक्रो भैसक्दा समेत जिन्दावाद नै गाइरहें ! ताली बजाउँदै रहें !!

पञ्चायती निषेधित निर्दलिय राजनीतिलाई मुर्दावाद भन्दै सुरु भएको मेरो राजनैतिक यात्राको क्रममा कैयौं बर्ष जेल जीवन बिताएका आफ्नै काका बाउहरुलाई निषेधको षड्यन्त्रबाट पाखा लाउँदा समेत मेरो धुर्त नेता विरुद्ध आवाज नउठाउनु मेरो परम कर्तव्य भित्र पथ्र्याे ! उसकै जिन्दावाद गाउँदै रहें ! प्रष्ट छ– यस पटक पनि तालि पड्काएँ !!

एउटा राम थापाको हत्या आरोप खेपेको राजेन्द्रलाई जिल्लामा रत्नाकार देख्ने म केन्द्रमा राजाको गृहमन्त्रीको रुपको हत्यारालाई वाल्मीकी मानेर पुज्दै गर्दा आफ्नै पार्टीभित्रका सैकडौं राम थापाहरुको हत्या हुँदा समेत थपडी बजाउँदै बुर्कुसी मार्दै रहें !!

मेरा नेताले नदी बेचे, नाला बेचे ! हिमाल बेचे तराई बेचे ! बेच्ने पनि बेचे नबेच्ने पनि बेचे ! हुँदाहुँदा गणतन्त्रका नाममा रहेसहेको हिन्दुत्व समेत बेचे !! ताली बजाउनु मेरो परम कर्तव्य थियो ! कर्तव्य निर्वाहमा ब्यस्त रहें !!

यी अनि यस्तै यस्तै घटनाबाट राजेन्द्रहरुलाई मुर्दावाद भन्दै देश छोड्ने उर्दि जारी गर्ने म आज आएर आफ्नै पार्टी भित्रका निष्ठाका प्रतीकलाई पाखा लाउँदै आफ्नो जितको आत्मरतिमा रमाउँदैछु ! राजेन्द्रहरु त आफ्ना ईतरलाई मात्रै निषेध गर्थे ! म त आफ्नैलाई सिध्याउन लागिपरेको छु ! राजेन्द्रले त आफ्नै नेताको गलत कर्तुत विरुद्ध मुर्दावाद चिच्याउने साहस बोकेको थियो तर आज कुनै समय राजेन्द्रको नाङ्गो पिठ्यँुलाई मुर्दावाद कुर्लिने म आफ्नै नेताको नाङ्गो चाकको जिन्दावाद गाउने भजन मण्डलीको प्यादा भएको छु !

राजेन्द्रसँग मेरो मत कहिल्यै मिलेन ! अझै पनि मिल्दैन ! किमार्थ मिल्दैन ! तर उसले उठाएका आरक्षण लगायत कतिपय कुरामा हिन्दुत्वको मूल मुद्धामा भनें मन मिल्छ !  हिन्दुत्वको सवालमा जनमतसंग्रह भए मत पनि मिल्छ ! मिल्नु पनि पर्छ !!

यसरी कुनै समय राजेन्द्रलाई मण्डले चोर देश छोड भन्दै चिच्याउने म कतिबेला कसरी महामण्डले भैसकेछु ? पत्तै भएन ! आज आएर बुझ्दैछु कि – मण्डले भनेको नाम,  ब्यक्ति  विशेषण हैन ! यो त चरित्र हो जो आज मसँग जोडिएको छ ! म माथि थोपरिएको छ !!

कुनै समय मैले खेदेको दानव चेलो समय परिस्थितिले आज नेता भएको छ अनि उसलाई खेद्ने महामानव चेलो म चैं  टोले गुण्डा हुँदै  महामण्डले हुन पुगेछु !!

खैर ! बधाइ अनि शुभकामना ! एउटा भूतपूर्व 'मण्डले'लाई अर्को बर्तमान 'महामण्डले'को !

प्रतिक्रिया