चीन। लेशान जायंट बुद्ध संसारका सबैभन्दा विशाल पत्थरमा कुँदिएका बुद्ध मूर्तिमध्ये एक हो। चीनको सिचुआन प्रान्तमा पहाडको काखमा बसेको यो विशाल बुद्धलाई हेर्दा आज पनि मानिसहरू अचम्ममा पर्छन्। तर यसको कथा केवल एउटा मूर्तिको कथा होइन ।
यो हजारौं मानिसको जीवन बचाउने आशा, विश्वास र साहसको कथा हो। धेरै सय वर्षअघि, चीनको त्यस क्षेत्रमा तीन ठूला नदीहरू मिसिन्थे। वर्षायाममा ती नदीहरू अत्यन्त उग्र बन्थे। ठूलो बाढी आउँथ्यो, डुंगा डुब्थे, व्यापारीहरू हराउँथे र सयौं मानिसको ज्यान जान्थ्यो। स्थानीय मानिसहरू डरले त्यो नदी पार गर्नै मान्दैनथे। त्यही समयमा त्यहाँ एक बौद्ध भिक्षु थिए- हाइ थोंग। उनले नदीको भयावह रूप आफ्नै आँखाले देखेका थिए। हरेक वर्ष मानिसहरू मरिरहेको देख्दा उनको मन दुख्थ्यो। एक दिन उनले प्रण गरे- “यदि यहाँ विशाल बुद्धको मूर्ति बनाइयो भने यो स्थान शान्त हुनेछ।” धेरैले उनको कुरा पत्याएनन्। कसैले भने- “यति ठूलो पहाड काटेर बुद्ध बनाउने? असम्भव”। तर हाइ थोंग पछि हटेनन्। उनले गाउँ–गाउँ गएर सहयोग माग्न थाले। मानिसहरूले थोरै- थोरै पैसा दिए। वर्षौंसम्म उनले चन्दा संकलन गरे।
कथाअनुसार, एकपटक केही भ्रष्ट अधिकारीहरूले त्यो पैसा लुट्न खोजे। त्यसबेला हाइ थोंगले क्रोधित हुँदै भने- “मेरो आँखा निकाल्न सकिन्छ, तर बुद्ध निर्माणको पैसा लुट्न सकिँदैन।” भनिन्छ, उनले आफ्नो दृढता देखाउन आफ्नै आँखा निकाल्ने प्रयाससमेत गरेका थिए। त्यसपछि अधिकारीहरू डराएर फर्किए। सन् ७१३ तिर विशाल मूर्ति निर्माण सुरु भयो। सयौं कामदारहरूले पहाड काट्न थाले। काम निकै कठिन थियो। वर्षौंदेखि ढुंगा काटिँदै गयो। बिस्तारै पहाडभित्रबाट विशाल बुद्धको आकृति देखिन थाल्यो। निर्माण पूरा हुन करिब ९० वर्ष लाग्यो। हाइ थोंग भने त्यो मूर्ति पूरा हुनुअघि नै संसार छोडेर गएका थिए। तर उनका शिष्यहरूले उनको सपना पूरा गरे।
जब मूर्ति बन्यो, एउटा अनौठो कुरा भयो। पहाड काट्दा नदीमा खसेका ढुंगामाटोले नदीको बहाव केही शान्त बनायो। पानीको गति कम भयो र डुंगा दुर्घटना घट्न थाले। मानिसहरूले विश्वास गर्न थाले- “बुद्धले नदीलाई शान्त पारे।” आज ७१ मिटर अग्लो लेशान जायंट बुद्ध संसारकै महान ऐतिहासिक चमत्कारमध्ये एक मानिन्छ। यसको एउटा कान मात्र मानिसभन्दा ठूलो छ। बुद्धको खुट्टामा सयौं मानिस उभिन सक्छन्।
टाढाबाट हेर्दा यस्तो लाग्छ, मानौँ विशाल बुद्ध शान्त भएर नदीलाई हेरिरहेका छन्। अझ रोचक कुरा, स्थानीयहरू भन्छन्, कहिलेकाहीँ बुद्धको अनुहार मौसमअनुसार बदलिएको जस्तो देखिन्छ। दु:खद घटना हुँदा अनुहार उदास देखिने, खुसीको समयमा मुस्कुराएको जस्तो देखिने कथाहरू आज पनि सुनाइन्छ। सायद यही कारणले लाखौं मानिस आज पनि त्यहाँ पुगेर केवल एउटा मूर्ति होइन, मानव विश्वास र धैर्यको जीवित इतिहास हेर्छन्।
प्रतिक्रिया