बाजुरा । बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।
हिउँदे वर्षा वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट पहिरो खस्दा ठुलो क्षति पुर्याएको हो । पहिरोले पावर हाउस मात्र नभई नहर समेत बगाएको उपभोक्ता समितिका सचिव भक्त विकले जानकारी दिए । संरचनामा क्षति पुगेसँगै अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको विकले बताएका छन् । २०६९ चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजना मार्फत करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए । नहर र पावर हाउसमा क्षति भए पछि ३५० घरधुरी प्रभावित भएका छन् ।
वडा अध्यक्ष गोरख बोहराले तत्काल गौमुल सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताएका छन्।स्थानीयलाई सेवाबाट वञ्चित हुन नदिन तत्काल समन्वय र सहकार्य गरी विद्युत् सेवा सञ्चालन गर्न पहल गरिने बताए । पहिरोका कारण संरचना सँगै उपकरणमा समेत क्षति पुगेको कर्मचारी भीम बहादुर रोकायाले बताए । विपतका कारण ठुलो क्षतिको सामना गर्नु परेको बताउँदै उनले तत्काल मर्मत तथा पुन: निर्माणका लागि सम्बन्धित निकायसँग पहलको माग गरिएको जानकारी दिए ।
बाजुरामा बर्सेनि बाढी पहिरोले ठुलो धनजनको क्षति गर्ने गरेको छ । विभिन्न आयोजनाका साथै यहाँका नौं वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती पहिरोको उच्च जोखिम छन्। चैत्रमै पहिरो बग्न थालेपछि स्थानीय त्रसित समेत बनेका छन् । बाजुरामा झन्डै १३५ बढी गाउँबस्ती पहिरोको उच्च जोखिममा छन् ।
प्रतिक्रिया