जनयुध्दको उपलव्धि: कमाण्डर प्रचण्डको यात्रा 'क्रान्ति' बाट कम्पनीतिर

काठमाडौं । आज फागुन १ गते, अर्थात् तत्कालीन माओवादीले 'जनयुद्ध' सुरु गरेको दिन। नेपालको राजनीतिक इतिहासमा यो एउटा यस्तो मोड थियो जसले देशको जग नै हल्लाइदियो। तर, आज समय फेरिएको छ। जनयुध्दका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड अहिले त्यही संसदीय व्यवस्थाको 'खेलाडी' बनेका छन् जसलाई उखेलेर फाल्न उनले १७ हजार नेपालीको रगतको मूल्य चुकाएका थिए।

प्रचण्डको 'छलाङ' कि राजनीतिक सौदाबाजी

नेपालमा सुरु भएको दश वर्षे सशस्त्र द्वन्द्वको आज ३१ वर्ष पुग्दा, युद्धका सुप्रिम कमान्डर पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले माओवादको रातो झण्डा बिसाएर 'नेपाली कम्युनिस्ट पार्टी' को नयाँ अवतारमा चुनाव जित्ने दाउपेचमा छन्। हिजो 'सत्ता बन्दुकको नालबाट जन्मन्छ' भन्नेहरू आज 'सत्ता समीकरण र गठबन्धनको अंकगणित' मा रमाइरहेका छन्।

प्रचण्डले के पाए ?

प्रचण्डले जनयुद्धलाई भर्‍याङ बनाएर जे प्राप्त गरे, त्यो कुनै पनि विद्रोही नेताका लागि ईर्ष्याको विषय हुन सक्छ ।

अभूतपूर्व सत्ताशक्ति

प्रचण्डले जंगलबाट सिधै बालुवाटारको यात्रा र पटक(पटक देशको प्रधानमन्त्री बन्ने अवसर पाए । उनले राजनीतिक वैधानिकता पाए, त्यो हो एक 'आतंककारी' को ट्यागबाट विश्वले चिन्ने राजनीतिक नेताको पहिचान। उनले राजनीतिक विरासतको व्यवस्थापन पनि गरे । आफ्ना परिवार र निकटस्थहरूलाई राजकीय पद र शक्तिमा स्थापित गर्ने सुनौलो मौकाको पाईदा उठाउन उनी कतै पछि परेनन्। उनका सहयोद्धा र कार्यकर्ताले के गुमाए भनेर हिसाब गर्दा चित्र अर्कै आउँछ। 

प्रचण्डले सत्ताको स्वाद चाखिरहँदा, उनीसँगै काँधमा काँध मिलाएर हिँड्ने हजारौं कार्यकर्ता र लडाकुहरूको अवस्था भने कहालीलाग्दो छ। शरीरमा अझै गोलीका छर्रा बोकेर हिँड्ने लडाकुहरू आज औषधि उपचार नपाएर छटपटाइरहेका छन् भने अपाङ्गता भएका योध्दाको बेवास्ता गरिएको छ । अयोग्यको बिल्ला भिराईएका लडाकुहरु गाउँ फर्केर बारी जोतिरहेका छन् । ती मध्ये कतिपय अयोग्य लडाकुु को छाप लागेका युवाहरू आज खाडीको तातो बालुवामा पसिना बगाउन बाध्य छन्। जसले 'वर्गविहीन समाज' का लागि रगत बगाए, उनीहरूले आज आफ्नै नेतालाई दलाल पूँजीवादको संरक्षक बनेको देख्नुपरेको छ।

देशले के पायो के गुमायो ?

देशका ऊर्जावान युवाहरूको रगतले माटो भिज्यो, जसको शोधभर्ना कहिल्यै हुन सक्दैन। पूर्वाधारको विनाश- दशकौं लगाएर बनाइएका पुल, सरकारी भवन र सञ्चार केन्द्रहरू ध्वस्त पारिए, जसले देशलाई आर्थिक रूपमा वर्षौं पछाडि धकेल्यो।

सामाजिक विभाजन

जातिय र क्षेत्रीय नाराले नेपाली समाजको सद्भावमा जुन दरार ल्यायो, त्यसको असर अझै मेटिएको छैन। यो युद्ध पूर्णतः निरर्थक भने थिएन। यसले केही आधारभूत परिवर्तनहरू पनि ल्यायो ।

गणतन्त्र र संघीयता

२४० वर्षको राजतन्त्र अन्त्य भई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो। समावेशिता- राज्यको मूलधारमा दलित, जनजाति, महिला र मधेसीको प्रतिनिधित्व सुनिश्चित गर्ने चेतना र कानुनी व्यवस्थाको सुरुवात भयो। राजनीतिक जागरण- गाउँ-गाउँका मानिसहरूमा आफ्ना अधिकारका बारेमा बोल्न सक्ने साहस पैदा भयो।
 
'क्रान्ति' बाट 'कम्पनी' तिर

प्रचण्डले माओवाद त्याग्नु र नयाँ दल खोल्नु भनेको 'सिद्धान्तको मृत्यु र सत्ताको मोह' बाहेक केही होइन। हिजो जुन संसदीय व्यवस्थालाई 'खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल' भनिन्थ्यो, आज प्रचण्ड त्यही पसलका मुख्य सेल्सम्यान बनेका छन्। यो ती शहीदहरू प्रतिको सबैभन्दा ठूलो बेइमानी हो, जसले सुन्दर भविष्यको सपना देखेर आफ्नो वर्तमान आहुति दिए।
 
समयको चक्र यस्तो घुम्यो कि हिजोका विद्रोही कमान्डर आज सत्ताको मखमली ओछ्यानमा बसेर आफ्नै विगतलाई गिज्याइरहेका छन्। माओवादको लालझण्डालाई सत्ताको अगेनोमा सेलाएर प्रचण्ड अहिले 'नेपाली कम्युनिस्ट पार्टी' को नयाँ ब्यानरमुनि चुनावी अंकगणित मिलाउन व्यस्त छन्।

जनयुद्धबाट के प्राप्त भयो भनेर सोध्ने हो भने त्यसको जवाफ बालुवाटार र सिंहदरबारका भित्ताहरूमा ठोक्किएर आउँछ। प्रचण्डले जे पाए, त्यो व्यक्तिगत र गुटगत रूपमा असीमित छ। तीन-तीन पटक प्रधानमन्त्री, सत्ताको चाबी, र राज्यका हरेक अंगमा आफ्ना मान्छे। तर, प्रश्न यो हो— के १७ हजार गरिबका छोराछोरीले प्रचण्डलाई 'नयाँ राजा' बनाउनका लागि ज्यान दिएका थिए ?

हिजो एउटै म्याटमा सुत्ने र एउटै थालमा खोले खाने सहयोद्धाहरू आज कहाँ छन् कोही खाडीको तातो बालुवामा ५० डिग्रीको गर्मीमा पसिना बेच्दैछन्, कोही शरीरमा युद्धका छर्रा बोकेर ह्विलचेयरमा खुम्चिएका छन्। जब प्रचण्डले 'माओवाद' त्यागेर नयाँ दलको घोषणा गरे, तब ती हजारौँ शहीदका सपनाहरूको पनि विधिवत् हत्या भयो। हिजो 'बुर्जुवा शिक्षा' भन्दै स्कुल भत्काउनेहरू आज आफ्ना सन्तानलाई विदेशका महँगा विश्वविद्यालयमा पढाइरहेका छन्।

देशले एउटा पुस्ताको ऊर्जा गुमायो। अर्बौंको भौतिक संरचना स्वाहा भयो। वैदेशिक हस्तक्षेपका लागि ढोका खुल्यो र समाजमा कहिल्यै निको नहुने गरी जातिय र क्षेत्रीय विद्वेषको बिउ रोपियो।

कागजमा गणतन्त्र आयो, तर व्यवहारमा 'नयाँ सामन्त' हरूको जन्म भयो। समावेशिताको नारा लाग्यो, तर त्यो केवल आफ्ना मान्छेु भर्ने माध्यम बन्यो।

आज 'जनयुद्ध' दिवस मनाइरहँदा खुसी हुनेहरू सत्ताको वरिपरि हुने थोरै मान्छे मात्र हुन्। बाँकी तिनै निमुखा जनता हुन्, जो अझै पनि न्याय र परिवर्तनको पर्खाइमा छन्। प्रचण्डको नयाँ दल 'नेपाली कम्युनिस्ट पार्टी' केवल चुनाव जित्ने मेसिन मात्र बन्ला, तर यसले ती टुहुरा बालबालिका र एकल महिलाको आँसु पुछ्ने नैतिक साहस राख्दैन।


 

प्रतिक्रिया