नेप्से परिसूचक ५६.७३ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा लामो समयपछि सोमबार कारोबार मापक नेप्से परिसूचक हरियो भएको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेमा सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५६.७३ अङ्कले बढेर दुई हजार ४१५.५५ अङ्कमा पुगेको हो । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११.३४ अङ्कले बढेर ४६२.५२ मा पुगेको छ । कूल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर  दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ मूल्यमा खरिद बिक्री भए ।

नेप्से बढे पनि कारोबार रकममा भने कुनै वृद्धि देखिएको छैन । आजको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ९६ अर्ब ३२ करोड १३ लाख १० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका सबै १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

बैंकिङ ३२.९१, व्यापार ६९.८२, होटल तथा पर्यटन ५४.०३, विकास बैंंक १३७.८८, जलविद्युत् ३७.९२, निर्जीवन बीमा २०४.३४, उत्पादन १७०.१, अन्य ७०.४९, लघुवित्त ९०.७१, जीवन बीमा २०६.५८, सामूहिक लगानी कोष ०.१२ र लगानी १.४२ अङ्कले बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको १४ करोड ५८ लाख ६९ हजार ४२० बराबरको कारोबार भयो । नबिल बैंक १४ करोड १८ लाख चार हजार २६, नेपाल दूरसञ्चार कम्पनी १० करोड ३९ लाख ३८ हजार २२४, मञ्जुश्री फाइनान्स सात करोड ५५ लाख ६५ हजार २७२ र एनएमबी बैंक छ करोड ४८ लाख २५ हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जानकी फाइनान्स ९.८१, रसुवागढी हाइड्रोपावर ९.२१, ग्रीनलाइफ हाइड्रोपावर ८.२६, र रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.९३ प्रतिशतले कमाए ।

उता, गुर्खाज फाइनान्स ८.८९, नबिल ब्यालेन्स फण्ड ३.५२, तेह्रथुम पावर कम्पनी ३.२६, एनएमबी डिवेञ्चर २.५० र नबिल डिवेञ्चर २०८५ का लगानीकर्ताले २ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकले सोमबार केही वस्तुको आयातमा सीमा लगाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया