न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

टीकापुर। कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउँछिन्। सम्झनाको आमा छैनन्, बुवा रोजगारीका लागि भारत गएकाले घरमा दुई दिदीबहिनी मात्र छन्। उनका लागि विद्यालयमा दिउँसो दिइने खाजा खाना सरह हो।

“घरमा दुई दिदीबहिनी छौँ, दिदीले बिहान रोटी पकाउनुहुन्छ, त्यही रोटी खाएर विद्यालय आउँछौँ”, उनले भनिन्, “दिउँसो स्कुलमा कतिखेर खाजा पाइएलाजस्तो हुन्छ, भोक लागेको खाजाले राहत मिल्छ।”

अर्का छात्रा सिमरन चौधरी पनि बिहान बाबाआमासँगै खाना खाएर विद्यालय आउने गर्छिन्। “बुबाआमा काममा जानुअघि सँगै खाना खान्छौँ, बिहानै खाना खाने हुँदा दिउँसोसम्म भोक लागेको हुन्छ”, चौधरीले भनिन्, “दिउँसो विद्यालयमा खाजा नपाइने भए भोक मेटाउन गाह्रो हुने थियो। जे मिल्छ त्यही खान्छौँ।”

छात्रा मार्थुन डगौराका बुवाआमा पनि ज्यालादारीको काम गर्छन्। बुवाआमा काममा जाँदा बिहान ८ बजे नै खाना खाएर विद्यालय हिँड्नुपर्छ। डगौरालाई पनि दिउँसोको खाजाले भोक मेट्न सहयोग मिलेको छ।

सामुदायिक विद्यालयमा बाल विकासदेखि कक्षा पाँच सम्म अध्ययनरत अधिकांश बालबालिकाको अवस्था सम्झना, सिमरन र मार्थुनको जस्तै छ। शक्तिदेवी आधारभूत विद्यालयका छात्र युवराज चौधरी विगतमा खाजा नपाउँदा चाउचाउ, बिस्कुट खाजाका रूपमा ल्याउने गर्थे। “विद्यालयमा चना, सर्वोत्तम लिटो, हलुवा, फलफूल, जाउलो, कुखुराको अण्डालगायतका खानेकुरा खान दिइन्छ”, चौधरीले भने, “थोरै भए पनि खान पाइएको छ।”

शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्का खाजा कार्यक्रमले बालबालिकालाई विद्यालयमा नियमित उपस्थिति हुन र बालबालिकालाई हुने भोकमा कमी ल्याउन सहयोग मिलेको बताउँछिन्। “यहाँ आउने बालबालिका विपन्न परिवारका छन्, अधिकांशका अभिभावक ज्यालादारी गर्ने, घरमा नभएका छन्”, उनले भनिन्, “विद्यालयको खाजाले भोक मेट्न सहयोग पुगेको छ। भोको पेटले पढाइमा रुचि हुँदैन। खाजा खाएपछि उनीहरूको पढाइमा रुचि बढ्छ।”

खाजा कार्यक्रमले विद्यालयमा बालबालिकाको भोक मेट्न र विद्यालय आधा पढेर छोड्ने दर घटाउन सहयोग भएको कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताए। “हाम्रो विद्यालयमा चार सय विद्यार्थी छन्, विगतमा भोकाएका विद्यार्थी कक्षा छोडेर भाग्थे, कक्षा छोड्ने दर घटेको छ”, उनले भने, “तर प्रतिविद्यार्थी रु १५ मात्र सरकारले दिने भएकाले खाजा व्यवस्थापन गर्न विद्यालयलाई निकै गाह्रो छ। यसले पोषणका दृष्टिले पर्याप्त खाजा खुवाउन कठिनाइ भइरहेको छ।”

नेपाल सरकारले आव २०७७/०७८ देखि विद्यालयमा बालविकास देखि कक्षा पाँच सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु गरेको हो। बालबालिकाको वृत्ति विकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिवृद्धि हुने, विद्यालय छाड्ने दर घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वास गरी सुरु गरिएको खाजा कार्यक्रम प्रभावकारी भए पनि पोषणका दृष्टिले पर्याप्त हुन सकेको छैन।

सरकारले विद्यालयलाई पोषण मापदण्ड तथा स्थानीय परिवेश, संस्कृति र प्रचलनलाई आधार बनाएर स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्री प्रयोग गरी दैनिक परिकारको सूची बनाएर विद्यालय दिवा खाजामा समावेश गरेको छ। 

टीकापुर नगरपालिकामा मात्र दिवा खाजा खाने विद्यार्थी पाँच हजार एक सय ३७ छन्। कतिपय विद्यालयमा पाँच सय बढी बालबालिकालाई एकैपटक खाजा पकाउनुपर्ने हुन्छ। दिवा खाजा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको महत्वपुर्ण पाटो हो तर न्यून मूल्यमा बालबालिकालाई आवश्यक पोषणयुक्त खाना खुवाउन समस्या रहेको टीकापुरका शिक्षा अधिकृत नरेश अवस्थीले बताए। 

“रकम थोरै छ। खाजा खुवाउन अधिकांश विद्यालयमा भान्सा छैन, पकाउने जनशक्तिको समस्या छ”, उनले भने, “सामूहिक रूपमा खुवाउने भएकाले व्यवस्थापन भइरहेको छ। हामीले गुणस्तर सुधारका लागि अनुगमन गरिरहेका छौँ। रकम वृद्धिका लागि माग गर्दै आएका छौँ।”

दिवा खाजाका लागि सरकारले दिने रु १५ मात्रले पोषणयुक्त खाजा खुवाउन नपुगेको भन्दै पालिकाले रु १५ थप गर्ने गरी छलफल भइरहेको टीकापुर नगरपालिका-४का वडाध्यक्ष लालविर चौधरीले बताए।

“आगामी नगरसभाबाट स्वीकृत गर्ने तयारी थालेका छौँ, रु १५ सङ्घीय सरकार र रु १५ स्थानीय सरकारले थपेर पोषणयुक्त खाजा खुवाउनुपर्छ भनेका छौँ”, उनले भने, “बालबालिकाको पोषण र स्वास्थ्यका कुरामा सबै जिम्मेवार छौँ।” (रासस)

प्रतिक्रिया