अर्थतन्त्र नकारात्मक नरहेको गभर्नर अधिकारीको दावी

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रको अवस्था नकारात्मक नरहेको बताएका छन् । 

देशको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको जानकारी दिँदै गभर्नर अधिकारीले निजी क्षेत्र र सरकार सबै मिलेर नयाँ प्रोजेक्टहरु कार्यान्वयनमा लानुपर्ने सुझाव पनि दिए। 

अधिकारीले भने, ‘देशको अर्थतन्त्रको अवस्था त्यस्तो नकारात्मक छैन। निजी क्षेत्र र सरकार मिलेर प्रोजेक्टको कार्यान्वयनमा लाग्नुपर्छ। प्रोजेक्ट सुरु भएको छ, योजना आयोगले बनाएको छ, सरकारले गर्दैछ भनेर दशौं वर्ष एउटै प्रोजेक्टमा लाग्ने होइन, छिटोभन्दा छिटो टुङ्गाउन आवश्यक छ। यसबाट रोजगारीको सिर्जना पनि हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ।’

नयाँ प्रोजेक्टहरुको काम कारबाही बढाउने र शिथिलतालाई हटाउनु पर्ने भन्दै अधिकारीले त्यसबाट नै आर्थिक क्रियाकलाप र बैंकहरुको पैसा परिचालन हुने विश्वास व्यक्त गरे। उनी नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै थिए। 

यस्तै, उनले बैङ्किङ् क्षेत्रको कुरा गर्दा विश्वका बैंकहरुमा समस्या आए पनि नेपालमा कुनै बैंकहरु समाप्त हुने अवस्थामा नपुगेको भन्दै बैङ्किङ् व्यवस्था सुरक्षित रहेको बताए। 

त्यस अवसरमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान परम्परागत तरिकाले नहुने भन्दै त्यसका लागि सबै पक्षहरु एकै ठाउँमा आउनु पर्ने बताए। 

ढकालले भने, ‘निजी क्षेत्रले राखेका सुझावहरुलाई सुझावहरु मात्रै भनेर सोचिएको कारणले अहिले अप्ठ्यारो अवस्था आएको हो। यसलाई समाधान गर्नको लागि सबै पक्षहरु एकै ठाउँमा आएर समस्याबाट कसरी बाहिर निस्किन सकिन्छ भनेर सोच्न आवश्यक हुन्छ। यसले आउने दिनमा आर्थिक कारोबारलाई प्रभावकारी बनाउन मद्दत पुग्छ।’ (नेपाल न्यूज बैंक)

प्रतिक्रिया