नेपालका १६ लाख गिद्ध घटेर हाल २० हजार

विराटनगर। प्राकृतिक सफाईकर्मी मानिँदै आएको गिद्ध दिनदिनै संकटमा पर्दै गएको छ। लोपोन्मुख प्रजातीमा पर्ने गिद्ध संरक्षण गर्ने उदेश्यले सुन्सरीको बराहक्षेत्रमा गिद्ध संरक्षण कार्य थालिएको छ।

सुनसरीको बराहक्षेत्र–८ मा रहेको रामधुनी सामुदायिक वन सालबन्दीमा जटायु रेस्टुरेन्ट अर्थात गिद्धको रेस्टुरेन्ट सञ्चालन गरेर गिध्द संरक्षणलाई व्यवसायिक रुप दिईएको छ। 

रेस्टुरेन्टमा गिद्धका लागि नियमित रुपमा चारो उपलब्ध गराउने गरिएको छ। गिद्धको चारो व्यवस्थापनका लागि दुई दर्जनभन्दा बढी चौपाया पालिएको छ। पशुपालक किसानहरुले बुढा भएका र बेत बसेका गाईहरु रेष्टुरेन्टका लागि निःशुल्क दिने गरेका छन्।

रेस्टुरेन्टमा चारोका लागि दुई सयभन्दा बढी गिद्धहरु आउने गरेको अनुमान छ। जाडोको मौसममा हिमाली गिद्धहरु तराईतिर झर्ने गर्छन्। फागुन अन्तिमसम्म बसेर गर्मी महिना लागेसँगै उनीहरु फेरि पहाडतिरै फर्किन थाल्छन् भनेर स्थानीय संरक्षण अभियन्ता रबिन घिमिरेले सुनाए।

नेपालका विभिन्न स्थानमा ६ वटा जटायु रेस्टुरेन्ट रहेकामा कोशी प्रदेशमा यही एउटा सञ्चालनमा छ। महामारी वा प्राकृतिक विपद्को बेलामा जथाभावि जीवजन्तु मरे र सम्हाल्नै नसक्ने अवस्था भयो भने गिद्धले सफा गर्ने मानिन्छ। गिद्धलाई पृथ्वीको सफा गर्ने सूचीकार या कुचिकारका रुपमा पनि चिनिन्छ।

रेष्टुरेन्टको सबै व्यवस्थापन रामधुनी सामुदायिक वन सालबन्दीले गरिरहेको छ। संरक्षणको काम गरिरहे पनि यस क्षेत्रको प्रचार प्रसार र लगानी कम भएको जटायु संरक्षण समितिका अध्यक्ष हरिनारायण चौधरीको भनाइ छ।

गिद्ध मांशाहारी भए पनि जिउँदो जनावरमाथि आक्रमण गर्दैन। यसले मरेको जीवजन्तुमात्र मात्रै सेवन गर्छ। स्थानीय जानकारका अनुसार कसैले सिनो फालेपछि सुरुमा काग आउने गर्छन्। कागले कराएर सन्देश टाढा टाढा पु¥याएसँगै गिद्ध आउन थाल्ने विश्वास गरिन्छ।

रेष्टुरेन्टमा गाईबाहेक मरेका बाख्रा, कुकुर, भैंसीहरु पनि स्थानीय बासिन्दाले लगिदिने गरेका छन्। एक पटकमा एउटा हिमाली गिद्धले ८ किलोसम्म सिनो खान सक्ने संरक्षणकर्ताहरुको भनाइ छ।

नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइने जनाइएको छ। तीमध्ये सुनसरीमा मात्रै विभिन्न ७ प्रजातिका गिद्ध पाइन्छन्।

नेपालमा पाइने गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ। डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन्।

एक तथ्यांकअनुसार सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध थिए। तर हाल २० हजारभन्दा कम गिद्ध रहेको अनुमान छ। नेपाल पंक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको थियो। (नेपाल न्यूज बैंक)

 
 

प्रतिक्रिया