संस्मरण

सम्झिरहनु पर्ने एक राजनीतिज्ञ

प्रदीप गिरी बहुमुखी प्रतिभाशाली व्याख्याता हुनुहुन्थ्यो। राजनीति शास्त्र, इतिहास र दर्शनका ठेलीहरु उहाँको मस्तिष्कमा सधैं सल्बलाई रहेका हुन्थे। विरासत र वैयक्तिक स्वतन्त्रताको मोहले गर्दा राजनीतिमा पस्नु भएका उहाँ लोकतन्त्र र समाजवादको उच्च कोटीको व्याख्याता बन्नु भयो। उहाँले आफ्नो जीवनको अधिकांश समय नेपालमा लोकतन्त्रको स्थापना र कार्यान्वयनको अभियानमा लगाउनु भयो। निर्वासनमा बस्नु भयो, काराबास व्यहोर्नु भयो र पार्टी तथा समाजलाई जगाउने काममा समर्पित हुनुभयो। लोकतन्त्र र समाजवादलाई सार्थक तुल्याउन तथा त्यसको अर्थ र उद्देश्य, मर्म र महत्वलाई जनजनमा पुर्याउन सबैभन्दा बढी योगदान गर्ने व्यक्ति, विश्वेश्वर प्रसाद कोइराला पछि, उहाँ नै हुनुहुन्थ्यो। वीपी झै उहाँ पनि ‘समाजवाद’ को पछाडि हाल प्रचलनमा रहेजस्तो ‘लोकतान्त्रिक’ शब्द जोड्ने आवश्यकता ठान्नु हुन्न थियो। उहाँ भन्नुहुन्थ्यो— लोकतन्त्र नभइ समाजवाद आउन सक्दैन र समाजवाद नभइ लोकतन्त्रले पूर्णता पाउन सक्दैन भन्ने इतिहासले प्रमाणीत गरिसकेको छ। समाजवाद भनेको गैरलोकतन्त्रवादीले चलाएको व्यवस्था अथवा कार्ल मार्क्स, लेनिन र माओले भनेको कथित वैज्ञानिक समाजवाद, जनवाद वा साम्यवाद होइन। त्यसले त जनतालाई अधिकार र न्याय दिनु सट्टा शोषण र दमन गर्दछ।

कार्लमाक्र्स र लेनिनलाई प्रदीप गिरी सम्मान गर्नुहुन्थ्यो। माक्र्सले मानिसले भोगीरहेको शोषण र श्रमको महत्वप्रति दुनियाँको ध्यानाकर्षण गराएको तथा लेनिनले सामन्तवादविरुद्ध र समतावादी समाज निर्माण गर्ने बिगुल फुकेर परिवर्तनकामीहरुको मनोबल बढाएकोले समाजवादी आन्दोलनले उनीहरुलाई बिर्सन सक्दैन भन्ने उहाँको राय थियो। माक्र्सले वर्तमान विज्ञान प्रविधिको यस्तो विकास, वर्गसँगै वर्णको भूमिका र विद्यमान समाजका चुनौतिहरुका कल्पना गरेका थिएनन्, त्यसैले माक्र्सवाद अधुरो छ भन्ने पनि उहाँको टिप्पणी  थियो। गिरीले लेनिनबारे एउटा पुस्तक नै लेख्नु भएको छ, धेरै वर्ष अघि।

लेनिनले समाजवादलाई लक्ष्य बनाएर क्रान्ति गरे तापनि सत्ता प्राप्ति पछि आफ्नो प्रतिवद्धता विपरित गएको र नागरिक स्वतन्त्रता नियन्त्रण गरेकोले रुसको क्रान्ति सही दिशाबाट भट्किएर कुख्यात अधिनायकवादमा परिणत भएको इतिहास उहाँ स्मरण गराईरहनु हुन्थ्यो। लेनिनको हतारो र महत्वाकांक्षाले गर्दा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनलाई ठूलो धक्का लागेको र रोजा लक्जेमवर्ग लगायत नेताहरुले देखाएको गल्ती सच्याउँदै लोकतान्त्रीक सिद्धान्त र नैतिक मान्यता अनुसार काम गरेको भए विश्वले धेरै अघि समाजवादको स्वाद पाइसक्ने थियो भन्ने उहाँको ठहर थियो। समाजवादी आन्दोलनमा रोजा लक्जेमवर्गको भूमिकासँग नेपाली समाजलाई परिचित गराउने श्रेय पनि गिरीलाई दिए हुन्छ। उहाँले रोजा र डा. लोहियाबारे चार दशक अघि नै पुस्तकहरु प्रकाशित गर्नु भएको थियो।

गिरी भन्नुहुन्थ्यो— समाजवादको सन्दर्भमा माक्र्स, लेनिन र माओको नाम लिनै पर्दछ, तर महात्मा गान्धी, राम मनोहर लोहिया, रोजा र वीपी कोइरालालाई छोड्न मिल्दैन। यिनीहरुको बाटोमा हिँड्न सकेको भए कम्तिमा नेपाल र भारत पूँजीवादको शरणमा जानै पर्ने थिएन। पूँजीवादले मानिस र समाजको शोषण मात्र गर्दछ, उद्धार गर्दैन। हाम्रो राज्य र समाजको यो अवस्था हुनुमा पूँजीवाद सँगसँगै कम्युनिस्ट पनि दोषी छन्। कम्युनिस्टहरुले समाजवाद, जनवाद वा समानताको नारा दिएर नागरिकको स्वतन्त्रतामा हस्तक्षेप गर्ने, राज्य संचालनमा जनतालाई सहभागी नगराउने, आलोचकहरुको दमन गर्ने, विरोधी दल खोल्न नदिने, बन्दुकको बलमा शासन गर्ने तथा उत्पादनका साधनहरु राज्यको पूर्ण नियन्त्रणमा राख्ने भएकाले प्रतिक्रिया स्वरुप पूँजीवादको विस्तार भएको हो। अन्ततः रुस, चीनजस्ता कम्युनिस्ट शासन प्रणाली अपनाउने देशहरु नै पूँजीवाद सामु लम्पसार परे। यो क्रम झन् झन् बढ्दै छ। त्यसैले विद्यमान समस्याहरुको निदान लोकतान्त्रिक मान्यतामा आधारित समाजवादबाट मात्र सम्भव छ।

गिरीले समाजबादबारे अनगिन्ति लेख लेख्नु भयो, सारगर्भित व्याख्यान, प्रवचन र अन्तर्वार्ताहरु दिनु भयो। प्रवचनकालागि प्रेमपूर्बक निम्ता गरेका ठाउँहरुमा जान सकेसम्म प्रयास गर्नु भयो। आफ्नो मन्तब्य टुंग्याउनु अघि उहाँ श्रोताहरुलाई प्रायः एउटा सल्लाह दिन बिर्सनु हुन्नथ्यो। भन्नुहुन्थ्यो– पहिले लक्ष्यमा स्पस्ट हुनु पर्दछ, तर हामीले समयको गति, चुनौती तथा  समाजको आवश्यकता र परिवेश अनुसार सिद्धान्त, नीति तथा  कार्यक्रमको पुनरावलोकन र पुनरपरिभाषा गर्दै योजना बनाउनु पर्दछ। जडसूत्री र लकीरको फकिर बनेर लक्ष्य हासिल हुँदैन। मार्क्स, लेनिन, माओ मात्र हैन गान्धी र बीपी पनि अपूर्ण छन्। तर अग्रजहरुले पुर्याएको योगदानको निम्ति आभारी हुनु पर्दछ र उनिहरुले देखाएको प्रकाशमा हामीले आफ्नो बाटो निर्माण गर्नु पर्दछ।

उहाँ समाजवादको व्याख्याता मात्र हुनु हुन्थेन, उहाँले समाजवादका आदर्श र मान्यताहरुलाई आफ्नो जीवनमा उतार्न पनि सक्दो कोशिश गर्नु भयो। समाजवादको उपयोगिता र चुनौतिबारे व्यापक अध्ययन गर्नु भएका गिरीले आफ्नो पार्टी, नेतृत्व र सरकारलाई अन्योलबाट मुक्त गरी सही बाटो देखाउने अथक प्रयत्न गर्नु भयो। उहाँ गाउँलाई केन्द्रमा राखेर नीति र योजना बनाउन, नयाँ र आधुनिक शहर निर्माण गर्नु सट्टा गाउँलाई नै सुविधा सम्पन्न बनाउन, सरकारले  नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा लिन तथा ठूल्ठूला परियोजना र उद्योगहरुभन्दा अरुमाथि निर्भर हुनु नपर्ने तथा देशको भौगोलिक र प्राकृतिक अवस्थितिमा प्रतिकूल असर नपार्ने उद्यमहरुलाई प्राथमिकता दिन जोड दिनु हुन्थ्यो। भूमण्डलीकरण र खुला बजारको नाराको पछाडि दौडेर हामी गन्तव्यमा पुग्न सक्दैनांै भन्ने उहाँ बारम्बार दोहोर्याउनु हुन्थ्यो। नेपालको विकासको सन्दर्भमा उहाँ वीपी कोइरालाले सोच्नु भएको मोडेललाई नै उपयुक्त ठान्नु हुन्थ्यो। उहाँ प्रष्ट शब्दमा भन्नु हुन्थ्यो—“संविधानमा समाजवाद उन्मुख नीतिलाई मार्गदर्शक बनाउने, तर व्यवहारमा भने पूँजीवादी मार्ग नै पछ्याउने— यो देश र जनतालाई धोका हो। आज सबै पार्टी यही गरिरहेका छन्।” 

आज देशका सबै प्रमुख राजनीतिक दलहरु गलत दिशामा हिँडिरहेको उहाँको गुनासो थियो। भन्नुहुन्थ्यो— २०४७ सालपछि मुलुकलाई सही बाटोमा हिँडाउने मौका काँग्रेसले पाएको हो, तर उ त्यसै अल्मलियो। कम्यूनिस्टहरुको डरले काँग्रेस पूँजीवादी दिशामा गयो। एमालेले काँग्रेसको गल्ती सुधार्नु पर्दथ्यो, तर उसले पनि त्यही सजिलो बाटो अपनायो। जनता यी दुबै पार्टीबाट दिक्क भएको मौका छोपेर जनपक्षीय क्रान्तिकारी नारा दिँदै माओवादी आयो। माओवादीले केही राम्रो गर्न सक्थ्यो। अनावश्यक हिंसा, आतंक र व्यक्ति हत्या गरेर आएको भए पनि जनताले मत दिएर उसलाई सत्तामा पुर्याए। गरीब, निमुखा, उत्पीडित वर्ग—वर्ण र जातिको पक्षमा यसले ठोस कदम चाल्नै पर्दथ्यो। तर उ झन् छिटै बिग्रियो।

गिरीले विद्यमान लोकतन्त्र, जनताको सर्वोच्चता र मौलिक अधिकारलाई कायम राखी संविधानलाई अहिलेसम्मको अनुभवको आधारमा परिमार्जन गर्नु पर्दछ तथा आम नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्ने नीति र कार्यक्रम ल्याएर दृढतासाथ लागु गर्नु पर्दछ भनी अन्तिम समयसम्म संसददेखि सडकसम्म चिच्याइरहनु भयो। अरु पार्टीले जे गरे पनि नेपाली काँग्रेसले चाहिं दलित, महिला, जनजाति, मधेशी र अल्पसंख्यक लगायत उपेक्षित वर्ग र समुदायलाई न्याय र संरक्षण दिलाउन विशेष कार्यक्रम बनाओस् भनी उहाँले निक्कै जोड दिनु भयो। काँग्रेस पार्टीबाट ‘दमजम’ तथा ‘द्वन्द मेटिने, पहिचान भेटिने’ नीति पारित गराउन उहाँको महत्वपूर्ण भूमिका थियो।

संविधानसभा र गणतन्त्रको प्रश्नमा पार्टीका बरिष्ठ नेताहरु अल्मलिएको बेला गिरीले संविधानसभा र गणतन्त्रको पक्षमा वातावरण निर्माण गर्न कम्मर कसेर लाग्नु भएको थियो। उहाँले पार्टी भित्रका गणतन्त्रका पक्षधरहरुलाई उर्जा प्रवाह गर्नु भयो र नेताहरुलाई लोकतान्त्रिक गणतन्त्रको बाटो नछेक्न दवावपूर्ण आग्रह गर्नु भयो। राजतन्त्र कि गणतन्त्र भन्ने बहसमा गिरी विद्यार्थीकाल देखि नै गणतन्त्रको पक्षमा रहनु भयो। राजनीतिक नेताहरुमा उहाँ बीपी कोइरालासँग बढी प्रभावित हुनुहुन्थ्यो भने सुवर्ण शमसेर, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराईको प्रशंसा गरिरहनुहुथ्यो। भारतीय नेताहरुमा जवाहरलाल नेहरुको अध्यनशीलता र नारी प्रतिको मोहको बढी चर्चा गर्नुहुन्थ्यो भने राजनीतिक दृष्टिले डा. राममनोहर लोहिया, जयप्रकाश नारायण र आचार्य नरेन्द्रदेवलाई वैचारिक गुरु मान्नुहुन्थ्यो। यी भारतीय समाजवादी नेताहरु पनि सत्ता भन्दा सिद्धान्तलाई प्राथमिकता दिन्थे। यिनीहरु पनि सत्तामा जान चाहेनन्। गिरी महात्मा गान्धीलाई ‘महानतम् मानव’ भन्दै आफूलाई गान्धीवादी समाजवादी भन्न रुचाउनुहुन्थ्यो। तर गान्धीको बाटोमा आफू हिँड्न नसक्ने उहाँले सार्वजनिकरुपमै प्रष्ट गर्नुभएको छ। 

 आश न त्रास

प्रदीप गिरी प्रस्ट र प्रखर वक्ता हुनुहुन्थ्यो। उहाँ गहन अध्ययन र विश्लेषण पश्चात आफ्नो धारणा बनाउनु हुन्थ्यो र एउटा निष्कर्षमा पुगेपछि त्यसमा अडिग रहनु हुन्थ्यो। व्यवहारमा उदार हुनुहुन्थ्यो, राजनीतिक मामिलामा ‘छुवाछुत’ को विरोधी हुनुहुन्थ्यो र असहमत पक्षलाई सहमतिमा ल्याउन निरन्तर  प्रयत्न गर्नु हुन्थ्यो। साथी र कार्यकर्ताहरुसँग मात्र हैन आफ्नै पार्टीका नेताहरुसँग पनि निर्भीकतासाथ कुरा राख्नु हुन्थ्यो। कैयौं कुरामा नेताको मात्र हैन आफ्नै पार्टी र संसदकै निर्णयप्रति पनि उहाँले कठोर शब्दमा विमति जनाएको सबैले देखेका छन्। तर यस्ता विरोध र विमति सकारात्मक नतीजाको लागि हुन्थ्यो— विरोधकोलागि विरोध वा चर्चित हुनका लागि होइन। विरोध गर्दा उहाँ समाधान पनि दिनुहुन्थ्यो।

संविधान सभाले संविधान जारी गर्नु भन्दा पहिले, अन्तिम दिनसम्म, उहाँले हतार नगर्न र त्रुटी सच्याउन कठोर ढंगले दबाब दिँदै अन्यथा यो संविधान यथावत रुपमा लामो समयसम्म नटिक्ने चेतावनी दिनुभयो। तर जारी भइसकेपछि उहाँ जननिर्वाचित प्रतिनिधिहरुले बनाएको संविधानलाई बहिष्कार नगर्न र यसलाई कार्यान्वयन गर्दै परिमार्जन गर्दै लैजान सबै पक्षलाई राजी गराउन प्रयत्नशील रहनु भयो। उहाँ अन्तिम समयसम्म पनि संविधानको अधुरोपना हटाउन र अझ न्यायपूर्ण र व्यवहारिक बनाउन जोड दिइरहनु भएको थियो। नेताहरुको संगठन सञ्चालन शैली,  गुटवन्दी र पदमोह देखेर दिक्क मानेर उहाँ बराबर उपहास गरिरहनु हुन्थ्यो।

एकपल्ट केन्द्रीय समितिमै उहाँले नेताहरु सामू “किसुनजीलाई आजीवन सभापति र गिरिजाबाबुलाई आजीवन प्रधानमन्त्री बनाउने घोषणा गरिदिउँ न” भनेर गर्नुभएको ब्यङ्ग्य निकै चर्चिर्त भएको थियो। एक समय प्रधानमन्त्री बन्न सांसदहरुको खरिद विक्री र अपहरण चलिरहेको अवस्थामा कांग्रेसले आफ्ना सांसद्हरुलाई होटेलमा राख्ने निर्णय गरेकोमा गिरीले ठाडै अस्वीकार गर्नुभयो। प्रधानमन्त्रीका प्रत्यासीले प्रदीपजीलाई मनाउन किसुनजीलाई अनुरोध गरे। किसुनजीले सामूहिक निर्णयको पालना गर्न स्नेहपूर्वक आग्रह गर्नुभयो। तर गिरीले आफ्नो अडान छोड्नु भएन। भन्नुभयो– ूयस्तो निर्लज्ज काम पनि  कसैले गर्छ? मलाई किन्न सक्ने शक्ति यो दुनियाँमा कोही छैन, तपाईं ढुक्क हुनुहोस्।ू

गिरीले कतिपय प्रसंगमा वीपी कोइरालासँग पनि हाकाहाकी मतान्तर जनाउनु भएको थियो। वनारसमा उहाँहरुबीच बेलाबेलामा वादविवाद र शास्त्रार्थ भइरहन्थ्यो, राजनीतिक र अराजनीतिक विषयमा पनि। वीपीले २०३० सालमा गरेको सशस्त्र क्रान्तिको आह्वानलाई गिरी ‘मूर्खतापूर्ण’ ठान्नुहुन्थ्यो र उक्त संघर्ष कदापि सफल नहुने भविष्यवाणी गर्नुहुन्थ्यो। यो विचार उहाँले वीपी सामु पनि राख्नु भयो र आफू सहमत नभए पनि पार्टीको कार्यक्रमलाई पूर्ण सहयोग गर्ने वचन दिनुभयो। यो वचन पूरा गर्न उहाँ दिलोज्यानले लाग्नु भयो। गिरी अहिंसाको पक्षधर हुनुहुन्थ्यो। उहाँ महात्मा गान्धीप्रति असीम श्रद्धा गर्नुहुन्थ्यो। आफूलाई “गान्धीवादी समाजवादी” भन्नु हुन्थ्यो। तर वीपी प्रतिको सम्मानले गर्दा उहाँले बम र हतियार किन्न, भण्डारण गर्न र गुप्तरुपमा नेपाल पठाउन पनि सक्रिय रहनुभयो। शक्तिशाली विस्फोटक पदार्थहरु उहाँकै डेरामा पनि राखिएको थियो।

राजनीतिक छलफलमा कोइराला कम्युनिस्टहरुको कडा आलोचक हुनुहुन्थ्यो भने गिरी केही सकारात्मक। कोइरालाको तर्क हुन्थ्यो— ‘उनीहरु अहिले पनि माओभन्दा अगाडि बढ्न सकेका छैनन्। माक्र्सका कुरा पनि राम्ररी बुझिरहेका छैनन्। लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिप्रति प्रतिवद्धता नभएको कम्युनिस्ट पार्टी कुनै पनि बेला राजा वा विदेशीको हतियार बन्न सक्छ। यिनीलाई अस्थिरतावादी र अराजकतावादीले प्रयोग गर्न सक्छन्। हाम्रै बिरुद्ध लाग्न सक्छन्। त्यसैले उनीहरु राजनीतिक रुपमा लोकतन्त्र र नागरिक अधिकारको मामलामा प्रस्ट नभएसम्म सहकार्य गर्नु घातक हुन सक्छ।’ तर गिरी भने कम्युनिस्टसँग कार्यगत एकता गर्दै जाने हो भने उनीहरु बिस्तारै ठीक ठाउँमा आईहाल्छन् नि भन्दै काँग्रेस र कम्युनिस्ट नजिक भएमा राजा डराउने र काँग्रेसको छवि प्रगतिशील बन्ने सम्भावना रहेको विचार व्यक्त गर्नुहुन्थ्यो। प्रदीप वीपीलाई बजारमा आएका नयाँ र उपयोगी पुस्तकहरु उपलब्ध गराईरहनु हुन्थ्यो। एकपल्ट सारनाथ (वनारस) मा झोलाभरि पुस्तक लगेर वीपीलाई दिँदै प्रदीप भनिरहनु भएको थियो– ‘‘कुनै कुनैमा मैले अण्डरलाइन पनि गरेको छु। त्यो जरुर पढ्नु होला। सबै पुस्तक महत्वपूर्ण छन्, पढे जस्तो मात्र नगर्नु होला। कुनैमा अंग्रेजीका नयाँ र क्लिष्ट शब्द पनि छन्, मन परेको कुरा र नबुझेको शब्द अण्डरलाइन गर्नु भए पनि हुन्छ।”

वीपी कोइराला, प्रदीप गिरीलाई आफ्नै परिवारको सदस्यझैं स्नेह गर्नु हुन्थ्यो। हौसला बढाउनु हुन्थ्यो। गिरी पनि मतान्तरका बावजुद उहाँको प्रशंसक हुनुहुन्थ्यो। उहाँका हरेक निर्णय र सल्लाहलाई शिरोपर गर्नु हुन्थ्यो। पछिसम्म पनि राष्ट्रियता, समाजवाद, माक्र्सवाद, सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रताजस्ता विषयमा उहाँका अभिव्यक्तिमा वीपीको प्रतिबिम्ब देखिन्थ्यो। उहाँले लगभग ५० वर्ष अघि नै वीपी कोइरालाको संक्षिप्त जीवनी लेख्नु भएको थियो। गिरीले बनारसमै ‘‘लोकतन्त्रः राजतन्त्र” पुस्तक मार्फत वीपीको परिकल्पना र प्रय्रत्नलाई जनता माझ पुर्याउनु भएको थियो भने २०६६ सालमा ‘विश्वेश्वर प्रसाद कोइरालाका राजनीतिक अभिलेखहरु’ संकलन र प्रकाशन गरेर अध्येताहरुलाई बहुमूल्य उपहार दिनु भयो। वीपीको विचार, व्यक्तित्व र विशेषताहरुलाई उजिल्याउन उहाँले निक्कै प्रयत्न गर्नु भयो। यस धरतीबाट विदा हुनुभन्दा केही अघि पनि उहाँ सार्वजनिक रुपमा भनिरहनु भएको थियो— ‘‘वी.पी. भन्दा ठूलो र आदरणीय मानिस नेपालले बुद्धपछि आजसम्म अर्को जन्माएको छैन। बुद्ध त राजाका छोरा थिए। जनतावीच यति श्रद्धा लायक मानिस नेपालमा अर्को कोही जन्मिएको छैन।”

प्रदीप कुनै पनि नेता, कुनै पनि विचारकको अन्धभक्त हुनुहुन्न थियो। उहाँ कसैलाई पनि पूर्ण सत्य मान्नु हुन्न थियो। हरेक व्यक्ति, वाद र विचारलाई केस्रा केस्रा पारेर परीक्षण र मूल्यांकन गर्नु हुन्थ्यो। कृष्णप्रसाद भट्टराईप्रति उहाँमा अगाध प्रेम थियो। भट्टराईको त्याग, तपस्या, इमान्दारी र देशभक्तिको उहाँ महिमा गाउनु हुन्थ्यो। प्रेम र श्रद्धाको कारण भट्टराईका  कतिपय कमजोरी देखेर पनि उहाँले आँखा चिम्लिदिनु हुन्थ्यो। तर अन्तरंग छलफलमा ‘‘सन्त नेता” प्रति पनि व्यंग्य र टिप्पणी गर्न चुक्नु हुन्न थियो। गिरिजा प्रसाद कोइराला र गिरीको बनारसमा फाटेको मन पछिसम्म पनि जोडिएन। गिरी कोइरालाको कठोर आलोचक हुनुहुन्थ्यो, तर कोइरालाको साहस र संगठन कौशलको प्रशंसा गर्नु हुन्थ्यो। सबै दलका समकालिन सबै नेताहरुसँग उहाँको घनिष्ट सम्बन्ध थियो। तर, उनीहरुले देश र जनताको हित र पार्टीको सिद्धान्तभन्दा सत्तालाई पहिलो प्राथमिकता दिए भनी उहाँ वारम्वार  आक्रोश ब्यक्त गर्नु हुन्थ्यो। उहाँलाई युवाहरुमाथि ठूलो भरोसा थियो। त्यसैले उहाँ युवाहरुको जमात देख्नासाथ त्यसभित्र प्रवेश गरिहाल्नु हुन्थ्यो। व्यक्तिगत र सामुहिकरुपमा भेटेर पनि उनीहरुको रुचि अनुसार राजनीतिक—गैरराजनीतिक, कुनै पनि विषयमा सारगर्भित छलफल गर्नु हुन्थ्यो। उहाँ उनीहरुको भावना सुम्सुम्याउनु हुन्थ्यो र हौसला बढाउनु हुन्थ्यो। ‘‘युवाहरुले आफुले चाहे अनुसारको परिवर्तन गर्न सक्छन्, तर यसको लागि उनीहरुले डर र लोभ त्याग्नु पर्दछ, आनीबानी सुधार्नु पर्दछ,” भन्ने उहाँको सल्लाह  हुन्थ्यो।

समसामयिक राजनीतिको प्रसंगमा प्रदीप गिरीको टिप्पणी हुन्थ्यो– यो व्यवस्थालाई ‘लोकतन्त्र’ भनिएको छ। तर व्यबहारमा ‘लोक’ लाई छोडेर ‘तन्त्र’ चलाउने काम भइरहेको छ। लोकतन्त्र नभएर ‘दलतन्त्र’ छ र दलतन्त्र ‘बृद्धतन्त्र’ मा परिणत भएको छ। कुनै पनि पार्टीमा आन्तरिक लोकतन्त्र छैन। बृद्धतन्त्र अन्त्य नगरेसम्म आन्तरिक लोकतन्त्र आउने छैन र बृद्धतन्त्रका नाइकेहरु युवालाई अवसर दिन चाहँदैनन्। राजनीतिमा अवसर मागेर पाइँदैन, संघर्ष गर्नु पर्दछ। युवाहरुले फोहोर पन्छाएर नयाँ बाटो बनाउँदै हिँड्नु पर्दछ। यो सामथ्र्य र शक्ति हाम्रा युवाहरुमा छ। गिरी युवाहरुको आत्मविश्वास बढाउँदै आह्वान गर्नु हुन्थ्यो— याद गर्नुस्, वीपी कोइराला नेता बन्दा उहाँको उमेर कति थियो? लेनिनले वोल्सेभिक क्रान्ति गर्दा उनी कति वर्षका थिए? बुद्ध कति वर्षका थिए? सिकन्दर कति वर्षको उमेरमा विश्व विजेता बनेका थिए?

स्वतन्त्र जीवनशैली

प्रदीपजीलाई मैले सर्वप्रथम २०३० सालमा बनारसमा भटेको हो। २०२७ सालमा जनकपुरमा राजा महेन्द्रको जन्मोत्सवमा विरोध प्रदर्शन गर्दा राजकाज मुद्दामा करीब एक वर्ष जेल बसेर म रिहा हुनासाथ जनकपुरका हाम्रा तत्कालिन सर्वाधिक सक्रिय नेता बोधप्रसाद उपाध्याय (दादा) ले ‘तिमी बनारस गएर विश्वेश्वर बाबुलाई भेट, अनि त्यहाँ प्रदीप गिरीलाई पनि भेट्नु’ भनेर पठाउनु भयो। वीपीलाई भेटें, तर प्रदीपजी शायद अन्त कतै जानु भएको थियो, भेट भएन। २०३० सालमा सरोजप्रसाद कोइरालाको हत्या भए लगतै जनकपुमा जम्मा भएका शुभेच्छुकहरुमा प्रदीप गिरी पनि हुनुहुन्थ्यो। त्यहाँ देखादेख र परिचय भयो। त्यही रात जनकपुरभरि ‘‘सरोजप्रसाद कोइरालाको हत्यारा जोगिने छैन” भन्ने उत्तेजक पर्चा छरियो। सरोज कोइरालाको हत्यामा तत्कालीन अञ्चलाधीश तथा प्रहरीका उच्च अधिकारीको संलग्नता रहेको आशंका थियो। पर्चाले सनसनी मच्चायो।  त्यो पर्चा प्रदीप गिरीले लेख्नु भएको थियो। उहाँलाई जोगाउन तुरुन्तै जयनगर (भारत) पठाइयो। थप भेट्ने इच्छा अधुरै थियो।

प्रदीप गिरीलाई भेट्ने जो पनि उहाँको बौद्धिकताको चर्चा गर्थे। २०३० सालमा वीपीलाई भेट्न जाँदा खोजेरै उहाँलाई भेटें। २०३१ देखि ३३ सालसम्म म वीपीको निर्देशन अनुसार भारतमा—धेरैजसो बनारसमा—बस्दा भने प्रदीपजीसँग निकटता बढ्यो। पहिलो भेटमै उहाँले आकर्षित गर्नुभयो। त्यसबेला म २१–२२ बर्षको थिएँ भने प्रदीपजी म भन्दा करिब ८ वर्ष जेठो हुनुहुन्थ्यो।

प्रदीपजी वीपीले मलाई नेपाली काँग्रेसको मुखपत्र ‘तरुण’, जसको सम्पादक शैलजा आचार्य हुनुहुन्थ्यो, को सम्पादक मण्डलमा सामेल गरेपछि बस्न थालिएको दुध विनायक नजिकको ब्रह्मघाटस्थित आर्यभूषण प्रेसमाथि रहेको हाम्रो डेरामा आइरहनु हुन्थ्यो। त्यहाँ ४—५ जना वस्थ्यौं। सबैको कोठा छुट्टाछुट्टै थियो। गिरीले अन्तै छुट्टै फ्ल्याट लिनु भएको थियो। कुरा गर्दागर्दै  रात पर्याे भने उहाँ अलि टाढा रहेको आफ्नो सुविधासम्पन्न आवासमा नगएर मेरो कोठामा सुत्नु हुन्थ्यो। राती दुई—तीन बजेसम्म अनेक विषयमा धाराप्रवाह देश–दुनियाँका गफ गर्नु हुन्थ्यो। मलाई निद्रा लागेको देख्नासाथ टक्क रोकिनु हुन्थ्यो र ‘‘तपाईँ सुत्नुस्ू भनेर बत्ती निभाउनु हुन्थ्यो र एक्कैछिनमा बालेर दिउँसो किनेर ल्याएका पुस्तक पढ्न  थाल्नु हुन्थ्यो। बिहान पख सुतेर उहाँ १२–१ बजे उठ्नु हुन्थ्यो।

कहिले बजार घुमाउन लैजानु हुन्थ्यो, सिनेमा वा नाटक देखाउनु हुन्थ्यो, कुनै पुस्तक पसलमा घण्टौं विताउनु हुन्थ्योे, पुस्तक छानेर। कतिपय  पसलेले उहाँलाई रुचिकर लाग्ने प्रकारका नयाँ पुस्तक पहिले नै छुट्याएर राखिदिएका हुन्थे। उहाँ छानीछानी झोलाभरि पुस्तक हाल्नु हुन्थ्यो र पैसा दिनु सट्टा भन्नु हुन्थ्यो— ‘‘पहिलेको उधारो खातामा यो पनि थपिराख्नुस् है, हप्ता दश दिनमा सबै चुक्ता हुन्छ।” साथीहरुलाई खानपिन गराइरहने उहाँको सौख थियो, आफु सधैं शाकाहारी रहनु भयो तर रेस्टुराँमा खाजा खाँदा मलाई माछा(मासुसमेत मगाएर कर गरिगरि ख्वाएको अझै संझिन्छु। आफु प्रायः चिउराको पुलाउ, गाजरको हलुवा, पकौडी आदि फर्माइस गर्नु हुन्थ्यो। उहाँको अर्को स्वभाव (साँझ रेष्टुरामा पसेको छ भने पसल बन्द हुने बेलासम्म बस्नु हुन्थ्यो, चिया खाएर। चिया सेलाइ सकेपछि मात्र कप आफुतिर तान्ने बानी दुइ घुट्की खाएपछि ‘‘ए, यो त सेलाई सकेछ, अर्को तात्तातो ल्याउ” भन्ने र त्यसलाई पनि सेलाइसके पछि मात्र छुने।  यसैगरि घण्टौं त्यहाँ बित्थ्यो। आलुको टिक्का, चाट र गोलगप्पाको पसल देख्नै नहुने। ग्राहक कम छन् भने पसिहाल्ने र स्वाद लिइलिइ टन्न खाने। कहिलेकाँही चाट नै डिनर हुन्थ्यो। उहाँ दिनभरीमा एक मुठ्ठी सुपारी खानु हुन्थ्यो। खाँदा बस्दा जुन बेला पनि अर्थपूर्ण गफ हुन्थ्यो। रोचक, ज्ञानवद्र्धक। उहाँले गर्ने गफ राजनीतिक मात्र हुँदैनथे।

राजनीतिका अतिरिक्त साहित्य, इतिहास, दर्शन, धर्म, सामाजिक रीतिथिती, संस्कार–सम्यता, संस्कृति, व्यक्ति व्यक्तित्व, कृष्णचरित्र, महाभारत, रामायण, विश्वयुद्ध, वीपी कोइराला, महात्मा गान्धी, नेहरु, लोहिया, जयप्रकाश नारायण, विवेकानन्द, आईन्सटाइन, नित्से, फ्रायड, चर्चिल, काँग्रेस र कम्युनिस्ट पार्टीका राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरु, सिनेमा, नाटक, गजल, शायरी, दोहा, संगीत, प्रेम, गीता, भागवत, वेद, कुरान, बाइबल, भानुभक्त, तुलसी दास, टि.एस. इलियट, टायनवी, मिर्जा गालिब, फैज अहमद फैज, इकबाल, रविन्द्रनाथ, लिलाधर जगुडी, दुश्यन्त कुमार आदि इत्यादी। यस्तो लाग्दथ्यो, उहाँले नपढेको र नजानेको कुनै विषय छैन। पढेको, सुनेको र जानेको सबै कुरा उहाँको जिब्रोको टुप्पोमा हुन्थ्यो। बेजोड स्मरण शक्ति। उहाँको व्याख्यान कला झन रोचक र प्रभावकारी थियो। उहाँले महभारत सुनाउँदा सञ्जय वा ब्यासले भन्दा जीवन्त ढंगले वर्णन गर्नुहुन्थ्यो। दोस्रो विश्वयुद्धको इतिहास, पृष्ठभूमी र घटनाक्रम यसरी सुनाउनुहुन्थ्यो कि लाग्थ्यो, उहाँपनि त्यसबेला कुनै ट्यांकभित्र आफैं बसेर  लडाईँ हेरिरहनुभएको त थिएन! प्रत्यक्ष प्रसारण जस्तै वर्णन! तर जे विषयमा कुरा गरेपनि जहिले पनि उहाँ प्रायः सकारात्मक पक्षलाई बढी उजागर गर्नुहुन्थ्यो। ठोस आधार र प्रमाण बेगर उहाँले कसैको आलोचना गर्नुभएन।

वनारसमा त्यहाँका मानिसलाई उहाँ त्यहीको हो जस्तो लाग्थ्यो। भारतीय राजनीति र त्यहाँका नेताहरुबारे स्थानिय राजनीतिक कार्यकर्ता र बुद्धिजीवीहरुभन्दा उहाँ ज्यादा जानकार  मानिनु हुन्थ्यो। समाजवादीहरु त उहाँलाई आफ्नै पार्टीको सिद्धान्तकार युवा नेता ठान्दथे। समाजवादी धारका युवा नेताहरु उहाँलाई गुरु र नेता सरह सम्मान गर्दथे, खुट्टा छोएर अभिवादन गर्थे। नेपाली छात्र संघ र  वनारस हिन्दु विश्वविद्यालयको युनियनको निर्वाचनमा उहाँको निर्णायक भूमिका हुन्थ्यो। कैयाँै वरिष्ठ लेखक–साहित्यकार र वुद्धिजिवीहरुसँग उहाँको घनिष्ठ सम्बन्ध थियो। दिल्ली लखनउतिरबाट आएका कतिपय वुद्धिजिवी र लेखकहरु उहाँसँग लामै समय बिताउन खोज्थे। कहिलेकाहीँ त उहाँ एकान्त खोज्दै आएका कविलाई आफ्नो फ्ल्याटको साँचो दिएर आफूचाहीँ अरु साथीकहाँ बस्न जानुहुन्थ्यो। त्यस्तो साथीमध्ये म पनि एक थिएँ।

यस्तै बेला उहाँले आफू र शैलजा आचार्यवीच प्रेम सम्बन्ध रहेको बताउँदै हाल त्यसमा व्यवधान उत्पन्न भएको रहस्य पनि खोल्नु भएको थियो। उहाँका अनुसार दुवैजनाको त्यो पहिलो प्रेम थियो। त्यस समय शैलजा वीपीसँगै सारनाथमा बस्नु हुन्थ्यो। मलाई लाग्छ, वीपीले ज्यादा भेट्न नचाहेपनि प्रदीपजी पुस्तकहरु लिएर उहाँ कहाँ जानुको अन्तर्यमा सायद दुई कारण थिएः पहिलो, वीपीलाई रिझाउनु र अर्को शैलजासँग भेट्ने आशा। तर वीपी गिरीलाई प्राय बैठक कोठाबाटै बिदा गरिदिनु हुन्थ्यो। 

वनारसमा रहेका नेपाली युवा विद्यार्थीहरु उहाँसित झुम्मिन्थे। काँग्रेसका युवा नेताहरुमा सबैभन्दा लोकपृय उहाँ नै हुनुहुन्थ्यो। तर पछि उहाँको त्यहाँ बसाई सुखद रहेन। कतिपय कारणले उहाँ केही तनावमा पर्नु भयो। वीपी कोइरालासँग कुनै अराजनीतिक कारणले सम्बन्ध चिसिएपछि गिरी झन्नै एक्लो जस्तै हुनुभयो। आफ्नो पार्टीकै  साथीबाट उहाँले अपमान र आक्रमण झेल्नु पर्यो। गिरी एकपल्ट वीपीसँग चित्त दुखाएर फन्केर वनारसबाट कतै जानु भयो। केही समयको अज्ञातवास पश्चात जयप्रकाश नारायणको नेतृत्वमा बिहारमा चलेको “सम्पूर्ण क्रान्ति” मा उहाँ प्रकट हुनुभयो।

२०२६  सालमा गिरफ्तार भएर १८ महिनापछि  नख्खु जेलबाट रिहा हुनु भएका उहाँमाथि पंचायतकालमा  धेरैवटा मुद्दा थिए, त्यसैले तत्काल नेपाल आउन सम्भव थिएन।   उहाँ २०३६ सालको जनमत संग्रहताका वातावरण केही खुकुलो हुनासाथ स्वदेश फर्कनु भयो।

प्रदीप गिरी आफ्नो ज्ञान, अनुभव र धारणा अरुलाई बाँड्न सदैव तत्पर रहनु हुन्थ्यो। उहाँले वुद्धिजिवी र प्रेस जगतको महत्व बुझ्नु भएको थियो। भारतमा रहँदा र नेपाल आएपछि पनि उहाँको वौद्धिक समाज र पत्रकारहरुसँग आत्मीय सम्बन्ध रह्यो। नेपालमा पठन–संस्कृतिको विकास नभएकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो। विचार प्रधान पठनीय प्रकाशन नभएकाले समाजवादी विचारधारालाई जनजनमा पुर्याउने ध्येयले २०३८ सालपछि आफैंले पत्रिका निकाल्ने पनि जमर्को गर्नु भयो। श्रीमती भारती सिलवाल गिरीको सहयोगले प्रेस स्थापना गर्नुभयो साप्ताहिक ‘अक्षर’ र मासिक  ‘समता’ को प्रकाशन प्रारम्भ गर्नु भयो।  उहाँका भाइ शेखर गिरीले अक्षरको सम्पादक बनेर सक्दो सहयोग गरे।

समाजवादी साहित्यलाई बढावा दिन एउटा बलियो प्रकाशन गृह नै चलाउने गिरीको धोको थियो। शुरु पनि गर्नु भयो– समता प्रकाशन तर व्यवहारिक कारणले गर्दा त्यो धेरै अघि बढ्न सकेन। भारतबाट नेपाल फर्केर काठमाडौँलाई मुख्य कर्मक्षेत्र बनाउने निधो गरेको केही समय पश्चात तत्कालीन संचारकर्मी भारती सिलवालसँग भएको भेटघाट छोटो समयमै हार्दिकतामा परिणत भयो। सँगै बस्न थालेपछि दुवै प्रेममा बाँधिए र लामो सहकार्यपश्चात श्रीमान–श्रीमती घोषित भए। तर घर गृहस्थी तथा परम्परागत पारिवारिक परिधिमा सीमित हुन दुबैले चाहेनन्। अनि फेरी शुरु भयो गिरीको आफ्नै शैलीको दिनचर्या!

प्रदीपजीले न कहिले सुख खोज्नु भयो, न कहिले दुःख महसुस गर्नु भयो। जस्तो वातावरणमा पनि मस्त।  जेलमा होस् वा निर्वासनमा, वनारस होस् वा काठमाण्डु, सधैं आफ्नै विवेकको जीवन जिउनु भयो। उहाँ वैयक्तिक स्वतन्त्रताको कट्टर पक्षधर मात्र हुनुहुन्न थियो, आफ्नो विचारलाई जीवनमा उतार्न सक्दो प्रयत्न पनि उहाँले गर्नुभयो। निश्छलता र खुलापन उहाँका विशेषता थिए। छलफल र विमर्शमा उहाँको असाध्य रुचि थियो। उहाँ कहाँ पार्टीका कार्यकर्ता र विचार मिल्ने वा नमिल्ने  साथी र बुद्धिजीवीहरुको जमघट भइरहन्थ्यो। कहिले त घरमा खाने सामग्री भए नभएको थाहै नभइ साथीहरुलाई ‘‘डिनर समेत गर्ने गरी” डाक्नु हुन्थ्यो। निम्तालु आइसकेपछि तिनलाई आफूले खाने गरी बोलाएको संझिनु हुन्थ्यो। अनि रमाइलोसँग भन्नुहुन्थ्यो– ‘घरमा त चामल, दाल र  आलु मात्र रहेछ, के गर्ने? तपाईहरुसँग अलिअलि पैसा होला नि? ल, तपार्इं एक बोतल हिव्स्की किनेर ल्याउनुस्, तपार्इंले स्न्याक्स ल्याउनु पर्यो र तपाईंले भोलि औषधी किन्न अलिकति पैसा त्यो केटालाई दिएर जानु होला। आज मसँग पैसा पनि छैन भन्ने यादै रहेन!’ सबैजना खुशीसाथ आफूलाई जिम्मा दिए भन्दा बढी नै योगदान गर्दथे। उहाँको खुला ह्रदय देखेर सबै रमाउँथे। रमाइलो वातावरणमा रात बित्दथ्यो। सबै कामना गर्दथे– यस्तो अवसर बारम्बार आइरहोस्!

कुनै सभा होस् वा कोठे जमघट, ती ठाउँमा प्रदीप गिरी पुग्नासाथ वातावरणमा अर्कै  प्रकारको रौनक छाउँथ्यो। उहाँले लोकतन्त्रवादी र बामपन्थी राजनीतिकर्मीहरुलाई औपचारिक प्रशिक्षण पनि दिनुभयो। उहाँ साहित्यिक–सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदा निकै रमाउनु हुन्थ्यो र कुनै पनि विषयमा रोचक व्याख्यान दिएर सबैलाई मन्त्रमुग्ध पार्नु हुन्थ्यो मञ्चमा जो सुकै भए पनि सबैको आँखा गिरीमा केन्द्रित हुन्थ्यो। र, उहाँको मन्तव्यले हरेक दुबिधा, अन्योल, द्वन्द र निराशालाई चिरेर एउटा नयाँ क्षितिज उघारी दिन्थ्योः  उहाँको वाणी, तर्क र विमर्शमा अँध्यारो कुनालाई पनि झिलिमिली पार्ने ताकत थियो। त्यसैले प्रदीपजीलाई, उहाँको नामझैं, अन्धकारमा उज्यालो छर्ने ज्योतिपुञ्ज भन्नु अत्युक्ति नहोला।

उहाँले कृत्रिमतालाई आफ्नो जीवनमा पटक्क स्थान दिनु भएन। खानपिनमाझैं पहिरनमा पनि सजिलो, सुविधा र सादगी उहाँको रोजाइमा पथ्र्यो। उहाँमा अभिमान, अहंकार र देखावटीपन किंचित थिएन। उहाँले आफ्नो मौलिकता अन्तिम समयसम्म कायम राख्नु भयो। समाजमा चलिआएका कतिपय परम्परालाई तोडेर विवेक र समाजवादी मान्यतालाई अनुशरण गर्न प्रोत्साहित गर्नु भयो। अपरिग्रह उहाँको एउटा अनुकरणीय विशेषता थियो। उहाँले आफ्नो निम्ति कुनै पनि कुरा जम्मा गर्नु भएन, पुस्तकहरु बाहेक। उहाँ कुनै पनि लोभ र आकर्षणबाट टाढा रहनु भयो। एउटा सच्चा साधुको सोच र स्वभाव थियो उहाँको। गृहस्थ भेषमा रहेको जोगी, सन्यासी, फकीरजस्तो। पिता–पूर्खाको वारेशको हैशियतले प्राप्त सम्पतिप्रति समेत उहाँले मोह राख्नु भएन। सधैं सरल, सहज र स्वतन्त्र जीवन जिउनु भयो। समाजवाद भनेको राजनीतिक र आर्थिक पद्धति मात्र नभएर सबैको जीवनशैली र संस्कृति पनि हो भन्ने पाठ दिएर तथा प्रेम र श्रद्धा लिएर २०७९ साल  भदौ ४ गते जानु भयो प्रदीप गिरी!

देश, जनता र सिद्धान्तप्रति समर्पित नेतालाई उहाँको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जलि!                                                                        

 


 

प्रतिक्रिया