कांग्रेस कमजोर हुनुका तीन मुख्य कारण 

नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई अक्षरशः पालन गरेको छ या आफ्नो सिद्धान्त र आदर्शलाई विर्सेको छ ? भन्ने कुराको मूल्यांकन नेपाली जनताले गरिरहेका छन् । नेपाली कांग्रेस कुन सिद्धान्त र आदर्शलाई जनता सामू लगेर जनतामा स्थापित भएको हो भन्ने कुरा नेपाली कांग्रेसको नेतृत्वले बेला बखतमा विर्सने गरेको तत्थ्य पनि कसैका सामु छिपेको छैन । 

सिङ्गो नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई एकातिर पन्छाएर जनताबीच जाँदाको परिणाम के हुन्छ ? भन्ने कुरालाई बुझ्न हामी धेरै टाढा जानुपर्दैन । विगतका वर्षहरूमा भएका स्थानीय निर्वाचन र संसदीय निर्वाचनका परिणामहरूलाई मात्र हेरे पुग्दछ । 

नेपाली कांग्रेस जननायक विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित सिद्धान्त र आदर्शबाट निर्देशित पार्टी हो । नेपाली कांग्रेसले अबलम्बन गर्ने कुुनै पनि नीति र कार्यक्रम या त जनताद्वारा अनुमोदित हुनुपर्दछ या त जननायक विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित हुनुपर्दछ भन्ने कुरामा कसैको पनि विमती हुन सक्दैन । प्रजातन्त्रको पुनस्थापनापछिका पछिल्ला वर्षहरूमा नेपाली कांग्रेसका कतिपय नेताहरूले बीपीको आदर्श र सिद्धान्तलाई चटक्क बिर्सेको परिणाम आज नेपाली कांग्रेसको यो अवस्था आएको हो । केही महत्वपूर्ण कुराहरू यहाँ यसरी विश्लेषण गरिएको छ ।

१) धर्मनिरपेक्षता

धर्मनिरपेक्षता जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको नेपाली कांग्रेसको सिद्धान्त र आदर्शभित्र पर्दैन । यदि धर्मनिरपेक्षता नेपाल र नेपाली जनताको आवश्यकता थियो भने नेपाली कांग्रेसले पार्टीभित्र र नेपाली जनताबीच छलफल गराएर अनुमोदन गराउन सक्नुपर्दथ्यो । नेपाली कांग्रेसले अहिलेसम्म त्यो पनि गराएको छैन । 

नेपाल र नेपाली जनताका लागि आवश्यक थियो भने नेपाली कांग्रेसले आम कार्यकर्ता र जनतासमक्ष छलफल  गराउनुपर्दथ्यो । त्यो छलफल गराउने हिम्मत नेपाली कांग्रेसको नेतृत्वले किन गरेन । ८० प्रतिशतभन्दा बढी नेपाली जनताले सनातन वैदिक  धर्म र सस्कृतीमा  विश्वास गर्दछन् । यस्तो अवस्थामा मुलुकमा धर्मनिरपेक्षता थोपर्ने काम नेपाली कांग्रेसको नेतृत्वले ग¥यो त्यो नेपाली कांग्रेसले गरेका गल्तीहरूमध्येको ठूलो गल्ती हो ।

२) उग्रवामपन्थी र दक्षिणपन्थीहरूसँगको सहकार्य

जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको नेपाली कांग्रेसको सिद्धान्त र आदर्शमा वामपन्थिहरु सँगको सहकार्यलाई स्वीकार गरिएको छैन । बीपी जीवित छँदै वामपन्थिहरुसँग सहकार्य गरेर नेपालमा प्रजातन्त्र स्थापना गर्ने सन्दर्भमा बीपीले सधै अस्वीकार गरेका दस्तावेजहरू अहिले पनि हेर्न पाइन्छन् । 

तथापि २०४६ सालको जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसले लिएता पनि नेपाली कांग्रेसले वामपन्थिहरुसँग सहकार्य गरेर प्रजातन्त्रको स्थापना त ग¥यो त्यहीँदेखि नै नेपाली कांग्रेसले गल्तीको शुरूआत गरेको हो भन्ने कतिपय बीपीवादी नेपाली कांग्रेसका नेताहरू अहिले पनि भन्ने गर्दछन ।
प्रजातन्त्रको पुनस्थापनापछिका २९ वर्षमा नेपाली कांग्रेसले सत्ताका लागि आफ्नो पहिचान के हो भन्ने कुरालाई बिर्सेर जुन अपवित्र गठबन्धनमा सामेल भयो त्यो तत्कालीन नेताहरूको क्षणिक स्वार्थपूर्तिका लागि फाइदाजनक भए पनि समग्रमा नेपाली कांग्रेसको सिद्धान्त र आदर्श विपरीत थियो । यो कुरालाई स्वीकार गर्न कतिपय नेताहरू अहिले पनि तयार छैनन् । सत्य सत्य नै हुन्छ सत्य कुरालाई स्वीकार गर्न कोही पनि हिचकिचाउनु हुँदैन । 

नेपाली कांग्रेस सिद्धान्ततः जनताको स्वतन्त्रता र स्वाधीनताका लागि संघर्ष गरेको पार्टी हो । यसले जनताका लागि के गरिरहेको छ र गर्नुपर्दछ भन्ने कुरा नेपाली जनताले मूल्याङ्कन गरिरहेका हुन्छन् । बीपी कोइराला सत्ताका लागि कहिल्यै पनि लालायित हुनुभएन । बीपी सत्ताका लागि लालायित हुनुहुन्थ्यो भने त्यतिलामो निर्वासन र कारावासको यातना सहनुपर्ने थिएन भन्ने कुरा यहाँ दोहो¥याइरहनु नपर्ला । 

बी. पी.को ‘जेल जर्नल’को भूमिकामा गणेशराज शर्माले लेख्नुभएको एक उद्धरण यहाँ चर्चा गर्न चाहन्छु । बी. पी. कोइरालाले गणेशराज शर्मालाई भन्नुभएको रहेछ, ‘मैले नेपाली कांग्रेसको ईतिहास लेख्नु धेरै आवश्यक थियो । अव शक्तिन र शैलजाले त्यो गर्दछे । उसले मेरा कुराहरु वुझेकी छ । म मरेपछि नेपाली कांग्रेसमा मेरो भुमिकाको वारेमा व्यापक भ्रम सृजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर ईतिहासको गलत व्याख्या गरीनेछ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृटिकोणलाई गौण वनाईनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रीक सस्थाहरुको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा, मेरा अडानका निरन्तरता छन् । हिन्दुस्थानको वारेमा , राजाको वारेमा र संसार संगको सम्पर्कका वारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरु मैले सधै उल्लेख गर्ने गरेको छु ।’

book-cover-B-P-Koirala-Jail-Journal-biography

सोही भूमिकामा बिपीले थप भन्नुभएको छ, ‘२००७ सालको क्रान्ती हामिले हिन्दुस्थानवाट संचालन ग¥यौ ।  हामिलाई हिन्दुस्थानले संचालन गर्न खोजेको कुराको मैले सधैभरी र सवभन्दा वढि विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यहि विचार राखेको छु ।  उनको निरंकुस शैलिको मैले सधै र सवभन्दा वढि विरोध गरेको छु । मैले हिन्दुस्थानमा वसेर संगठन गर्दा पनि आफनो राष्ट्रियताको छवि कायम राख्ने  प्रयास गरें । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको  आग्रहमा मैले कहिल्यै समर्पण गरीन । मेरा यी अडानहरुका वारेमा व्यापक भ्रम सिर्जना हुने संभावना मैले देखेको छु । नेपाली कांग्रेसको ईतिहास ति सवै आदर्सहरु र लक्षहरुका साथ भएको संघर्षको ईतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्जल भविश्यका लागी नेपाली कांग्रेसमा ति कुराहरुको निरन्तरता रहनु पर्छ ।  जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफनो अडान छोडनेछ , यो निरर्थक भएर जानेछ ।  जुन दिन यसले प्रजातन्त्रको आदर्शहरु छाडेर केवल सत्ताको राजनीति गर्ने छ , यो निरर्थक भएर जानेछ । नेपाली कांग्रेसलाई उसको अग्रीम एतिहासिक भुमिकाको लागी मेरा दृष्टिकोणहरु अनुरुपको यसको् ईतिहास लेख्नु आवस्यक छ ।’

बीपीको त्यो आदर्श र सिद्धान्तलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको नेपाली कांग्रेसका नेताहरूले भने प्रजातन्त्रको पुनस्थापनापछिका केही वर्षमै बिर्सिए र सत्ताका लागि अपवित्र गठबन्धन गर्न पनि तयार भएको कुरा यहाँ उल्लेख गरिरहनु नपर्ला । पछिल्लो समयको कुरा गर्ने हो भने स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा उग्रबामपन्थी र उग्र दक्षिणपन्थीहरूसँग भएको सहकार्यमा विभिन्न पार्टीका निर्वाचन चिन्हमा भोट खसाल्नसमेत नेपाली कांग्रेस नेतृत्वले निर्देशनसमेत दियो । यो नेपाली कांग्रेसले गरेका अकेकौं गल्तीहरूमध्ये सबैभन्दा ठूलो गल्ती थियो । जसले गर्दा नेपाली कांग्रेसलाई कमजोर प्रतिपक्षको भूमिका दिएर नेपाली जनताले नेपाली कांग्रेसलाई सबक सिकाएका हुन् । तर पनि यस्तो महागल्तीलाई गल्ती भन्न अहिले पनि नेपाली कांग्रेसको नेतृत्व तयार छैन ।

३) कांग्रेसविरुद्धको षडयन्त्र

नेपाली कांग्रेस आम जनताको पार्टी हो । आम नेपाली जनताको चाहना नै नेपाली कांग्रेसको चाहना हो । आम नेपाली जनताको चाहना बिपरीत नेपाली कांग्रेसको गन्तव्य हुन सक्दैन । तर नेपाली कांग्रेसले किन जनप्रियता गुमाउन पुग्यो, नेपाली कांग्रेस नेपाली जनताबाट किन टाढियो भन्ने कुराको पहिचानका लागि अनुसन्धान गर्दै जाने हो भने कतिपय आन्तरिक एवं बाह्य शक्तिले नेपाली कांग्रेसका केही नेताहरूलाई प्रभावमा पारेर आफ्नो निहीत स्वार्थपूर्ति गरेको भेटिन्छ । 

आन्तरिक र बाहय दलदलमा फँसेका नेताहरू त्यसबाट बाहिर निस्कन कठिन छ । निस्किहाले भने उनीहरूको राजनीतिक भविष्य धरापमा पर्ने स्थिति पनि देखिएको छ । नेपाली कांग्रेसका निष्ठावान् नेता र कार्यकर्ताहरू एकजुट भएर यो षडयन्त्रबाट नेपाली काङग्रेसलाई बाहिर निकाल्न आवश्यक छ । नेपाली कांग्रेसविरुद्ध भएको यो आन्तरिक र बाह्य षडयन्त्रलाई बेलैमा पहिचान गरी नेपाली कांग्रेस र नेपाली जनताका बीच भएरहेको षड्यन्त्रको पर्दालाई उघारेर नेपाली कांग्रेसलाई पुनः आम नेपाली जनताको पार्टीको रूपमा स्थापित गर्नुपर्दछ ।

कांग्रेसको अबको गन्तव्य

देशको आवश्यकता अनुसार नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई परिमार्जित गर्दै लैजानुपर्दछ भन्ने कुरामा कसैको पनि दुईमत छैन । तथापि युगद्रष्टा बीपीले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई यदि परिवर्तन गर्नुपर्ने आवश्यकता देखियो र नेपाली जनताको चाहना पनि त्यही नै हो भने त्यस्ता कुरामा नेपाली कांग्रेसले व्यापक बहसको विषय बनाउनुपर्दछ । त्यस्ता विषयवस्तुलाई नेतादेखि कार्यकर्तासम्म र त्यसक्षेत्रका विशेषज्ञदेखि आम जनताका बीच छलफल गराउनुपर्दछ र निष्कर्षमा पुग्नुपर्दछ । 

उदाहरणको लागि नेपालको संविधान २०७२ निर्माण गर्ने सन्दर्भमा सिद्धान्ततः जनताका विचारलाई संकलन गर्ने उदुघोष गरिएको थियो । अधिकांश नेपाली जनताले नेपाललाई सनातनधर्म सापेक्ष बनाउनुपर्ने अभिमत जायर गरेको यथार्थ कसैका सामु छिपेको छैन तर संविधान जारी गर्दा धर्मनिरपेक्ष राष्ट्र भनेर जारी गरिएपछि नेपाली जनता अत्यन्त निराश भएका छन् । 

नेपाली कांग्रेसले नेपाली जनताको यो आवाजलाई आफ्नो आवाजको रूपमा स्थापित गरी नेपाली जनताको पक्षमा वकालत गर्ने जुन अपेक्षा नेपाली जनताले लिएका थिए त्यो अपेक्षामा तुषारापात भएपछि नेपाली जनता नेपाली कांग्रेसप्रति निराश देखिएका हुन् । जसको परिणामको रूपमा नेपालको संविधान २०७२ जारीभएपछिका निर्वाचनमा नेपाली कांग्रेसले पाएको जनमतलाई लिनुपर्दछ । 

यो अवश्य हो नेपाली कांग्रेसले नेतृत्व नलिएको भए दोस्रो संविधान सभाले पनि संविधान दिन सक्ने थिएन ।  नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानमा नेपाली कांग्रेसबाट नेपाली जनताले जुन आसा र अपेक्षा राखेका थिए, त्यो आसा र अपेक्षामा तुषारापात भएपछि नेपाली जनताले यो मत परिणाम नेपाली कांग्रेसलाई दिएका हुन् । 

जसलाई कदर गर्दै नेपाली जनताको यो भावनालाई मूर्त रूप दिनका लागि आगामी दिनमा नेपाली कांग्रेस क्रियाशील हुनुपर्दछ । नेपाली कांग्रेस विगतमा गरेका गल्तीलाई सच्याएर पुनः जनताका बीच जानका लागि हिचकिचाउनुहुँदैन । यही नै नेपाली कांग्रेसको अबको गन्तव्य हो । संविधान निर्माणको सन्दर्भमा आएका सुझावलाई आत्मसात गर्न नसक्ने कुनै पनि पार्टीको भविश्य छैन भन्ने कुरालाई आत्मसात गर्दै अगाडि बढ्नु आजको आवश्यकता र नेपाली कांग्रेसको भावी गन्तव्य हो भन्दा अत्युक्ति हुने छैन ।

उपसंहार

नेपालमा प्रजातन्त्रको स्थापना गरी नेपाली जनतालाई सुख, समृद्धिका साथ नेपालको विकास गर्ने महान् लक्ष्यका साथ वि.सं. २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस विगत सातदशकको अवधिमा अनेकौं प्रकारका उकाली–ओराली, भञ्ज्याङ र चौतारीहरू पार गर्दै आएको छ । खास लक्ष्य र सिद्धान्तका साथ हिडेको पार्टीको यात्रा कहिल्यै पनि पूर्ण हुँदैन । मुस्किलले कुनै लक्ष्यमा पुगियो भने फेरि अर्को पहाड आइपुग्दछ र त्यसलाई छिचोल्नका लागि नयाँ योजनाहरू बनाउनुपर्ने हुन्छ । 

नेपालका अन्य राजनीतिक दलहरूको भन्दा नेपाली कांग्रेसको यात्रा भिन्न छ र हुनु पनि पर्दछ । विगतमा भएका कमी कमजोरीहरूबाट पाठ सिकेर नेपाली कांग्रेसले आफ्नो लक्ष्य निर्धारण गर्न ढिला भइसकेको छ । पार्टी नेतृत्वले गरेका कमी–कमजोरीका सम्बन्धमा पार्टीभित्र खुल्ला बहस चलाइनुपर्दछ र गरेको गल्तीलाई गल्ती हो रहेछ भन्ने कुरा महसूस पनि गर्नुपर्दछ । विगतमा भएका गल्तीहरूका सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्दछ । नेपाली कांग्रेसले अबलम्बन गरेको सिद्धान्त र व्यवहारका सम्बन्धमा व्यापक विचार विमर्श गरी नेपाली कांग्रेसलाई नेपाली जनताको प्रिय पार्टी बनाउन सबै दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने महान् उद्देश्य लिएर बीपी विचार राष्ट्रिय समाज क्रियाशील छ । 
(लेखक प्रा. डा. खनालले ‘बिपी विचार राष्ट्रिय समाज, बर्दिबास, महोत्तरीमा आयोजित विचार गोष्ठीमा प्रस्तुत गरेको कार्यपत्रको सम्पादित अंश) 

प्रतिक्रिया