साइकलमा सरर मदन भण्डारीको जबज

मृत्यु पश्चात् बाँचेका अग्रजहरूको गन्तीमा मदन भण्डारी अग्रस्थानमा दर्ज भएको नाम हो। ब्यक्तित्वको बयान नगरी भन्नुपर्दा मदनको उच्च राजनीतिक सोच आदर्श राजनीतिको मियो बन्नुपर्दथ्यो। राजनीतिमा कुलंघारहरूको बाहुल्य आदिमकालदेखिकै सत्य हो। इमान, जमान र निष्ठाको राजनीति, परीक्षणकाल कष्टकर हुनु भनेको राजनीतिमा निखार आउनु हो। बामपन्थको दौड नेपालको राजनीतिक भूमिमा कालिझारझैं मौलाउनु र फाँडिनु निष्ठाको अभाव हो भन्ने सत्यसँग जानिफकारहरू टाढा छैनन्। स्वार्थको भुमरीमा रूमल्लिएका बामपन्थी नै मदनको अवसानको कारण बनेको यथार्थसँग दुर्घटना जोडिनु बर्तमान राजनीतिक कालखण्डको दुर्दसा हो।

मैले चिनेका मदन काठमाडौं नक्सालको अग्लो घरमा भाडामा बस्थे। नेपाल जागरण साप्ताहिकमा कार्यरत रहँदा अन्तर्वार्ता लिन पुगेको त्यो क्षण अहिले पनि मेरो मानसपटलमा ताजै छ। खिरिलो ज्यानकी पत्नी विद्या भण्डारी र दुइटी ससाना छोरीसँगै नक्सालको त्यो कोठामा मदनसँग मैले एकघण्टा बिताएको थिएँ। मेरो टेपरिकर्डर झोलाबाट निकाल्ने बितिक्कै मदनले मलाइ सोधे, के विषयमा कुरा गर्ने? समसामयिक राजनीतिक विषयमा भन्ने बित्तिक्कै मदनले भने, पहिला च्या पिउँ अनि कुराकानी सुरू गरौंला हुन्न भन्दै मदनले मेरो जन्मघर र पत्रकारितामा आवध्द भएकोबारेमा सोधे।

खाटमा बसेका मदनले पत्नी विद्यालाई च्या बनाउ भनेपछि विद्याले कुनामा राखेको स्टोप तानिन् र स्टोपमा दम दिन थालिन्। दुइटै छोरी अर्काे कुनामा किताब अगाडि राखेर कहिले मतिर कहिले बाबाको मुखतिर हेर्थे। मदनको र छोरीको आँखा जुध्यो भने किताबतिर घोप्टिहाल्थे। च्या सँगै हाम्रो परिचयात्मक पाटो पनि सकियो। 

‘ल सुरू गरौं मलाइ पाटन च्यासल पुग्नुछ’ भन्दै मदन तयार भए अन्तर्वार्ताको लागि। ‘तपाईंको राजनीतिक पाठशाला कुन हो र तपाईंले देखेको नेपाल कस्तो हो?’ मैले सुरू गरेको प्रश्नको उत्तर नै मदनले जबज (जनताको बहुदलीय जनवाद) बाट सुरू गरे। जवाफमा उनले भनेका थिए– ‘जनता स्वतन्त्र हुनुपर्छ र राज्यले जनतालाई हेर्ने नजरमा फुलो पर्नु हुन्न.....।’

अन्तर्वार्ता सकियो।

नेपाल जागरणको सम्पादक थिए आदित्यमान श्रेष्ठ। ‘ल्याउनुभो अन्तर्वार्ता?’ आदित्य सरले सोधे। ‘ल्याएँ सर’ भनेपछि ‘गुड ल उतार्नाेस्’ 

कागजमा आदित्य सरको आदेश पालना गर्नु त छँदैथ्यो। आइतवारको दिन सोमवार पत्रिका निस्कने टेपरिकर्डरबाट सुनेर कागजमा लेख्नु कम्ता झन्झटिलो थिएन। बसन्तपुरमा नेपाल जागरणको कार्यालय वरपर उर्जा केन्द्रहरू लस्करै थिए। नगिचैको उर्जा केन्द्रमा छिरेर उर्जावान भैयो अनि बसेर लेख्न थालें। “साइकलमा सरर मदन भण्डारीको जबज” सुरू भो। नेपाल जागरणको त्यो कपि निकै समालेर राखेको थिएँ, डेरा सर्दा कता छुट्यो छुट्यो। पत्रिका बन्द भएकै तीन दशक भन्दा बढी भैसक्यो। आज पुनर्ताजगी डे मनाउन यी दुइचार शब्द कोरकार गरेको मात्रै हूँ ती आदर्शवान कमरेडको सम्झनामा। मदन परिवारसँग मेरो अलि खरो र पिडादायक घटना पनि जोडिएको छ।

कथा नेपाल टेलिभिजनमा कार्यरत हुँदाको हो। “समाचार सार” ब्यानरमा म नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँथें। काठमाडौंबाट प्रकाशित हुने हरेक अखबारको हेडलाइन सहित मानव चासोका समाचार छनोट गरि पढ्ने कार्यक्रम थ्यो त्यो। समाचार छनोट गर्नेदेखि प्रस्तुत गर्ने अधिकार मैमा थियो। युगसम्बाद साप्ताहिकले एयरप्यानलमा बक्स समाचार छापेको रहेछ। शीर्षक थ्यो “सांसद पाण्डेका भाइ जापानमा कुखुरा भुत्ल्याउँदै।” सांसद विद्या भण्डारीका भाइ देवेन्द्र पाण्डे मोहन गोपाल खेतानको पिए बनेर जापान छिरेका रहेछन्। खेतान फर्के देवेन्द्र उतै लुकेछन्। पत्रिकाले थाहा पायो समाचार बन्यो। 

समाचार पत्रिकामा छापियो मलाइ त्यो  ह्यूमेन इन्ट्रेसको समाचार लाग्यो, मैले आफ्नो कार्यक्रममा कुर्लि कुर्लि पढें। एकाबिहानै आएर प्रस्तुत गरेको त्यो समाचारले मेरो टेलिभिजनको जागिरै चैट भयो। यो घटनाका साक्षी थिए पत्रकार दुर्गानाथ शर्मा, अब उनी हाम्रावीच रहेनन्। जिउँदा साक्षीका रूपमा त्यतिखेर नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष किशोर नेपाल, बिहानी प्रशारणकी प्रमुख रमा सिंह र प्रताप अधिकारीलाई यो घटनाको सम्झना ताजै हुनुपर्छ। २०५३ सालको यो घटना आजपनि मेरो मानसपटलमा ताजै छ किनभने यो घटनामा मदन भण्डारीकी धर्मपत्नी जोडिएकी थिइन्। यदि यो लेख विद्या भण्डारीसम्म पुग्यो भने सायद उनलाई पनि त्यो क्षणको सम्झना पुनर्ताजगि हुनेनै छ।

मैले हृदय देखि मनपराएको ब्यक्तित्व तर उनको जबजमा मेरो रूचि नभएको प्रसंग वामपन्थी नेता मदन भण्डारीका लागि श्रध्दासुमन स्वरूप।

 ॐ नम शिवाय!
 

प्रतिक्रिया