गौरीशंकर संरक्षण क्षेत्रको चामरु जंगलमा ३ दिनदेखि डढेलो

रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा रहेको उमाकुण्ड गाउँपालिकाको वडा नं १ मा रहेको गुम्देलअन्तर्गतको चामरु क्षेत्रको जंगलमा ३ दिनदेखि डढेलो लागिरहेको छ । जुन जंगल गौरीशंकर सरक्षण क्षेत्रभित्र पर्दछ । आगो नियन्त्रणका लागि स्थानीय, स्थानीय स्तरमा कार्यरत् प्रहरी, सेनाका जवानहरु लागि परेका भएपनि आगो नियन्त्रण हुन सकेको छैन ।

माघ १५ गते मध्यान्ह्बाट लागेको आगो ठूलो क्षेत्रमा फैली नसकेको भए पनि नियन्त्रणमा नआएकाले ठूलो विनास गर्ने खतरा देखिएको छ । जंगलले ढाकेको २० औँ वर्ग किलोमिटर क्षेत्रभित्र आगो फैलिने सम्भावना देखिएको छ । हिमाली पारिस्थितिक प्रणालीमा रहेका जैविक विविधता र वानस्पातिक विविधताले युक्त सयौँ जीवजन्तु, हजारौँ वनस्पति र लाखौँ सूक्ष्म जीव र सूक्ष्म वनस्पतिसमेत नष्ट हुने सम्भावना बढेको छ ।

डढेलोबाट चामरुका १३ घर शेर्पा बस्ती, सानो बाल्दिङमा रहेका ९ घर कार्की परिवार, ज्याम्दे कुडार क्षेत्रमा रहेका मध्ये ८-१० क्षेत्री परिवारलाई निकै खतरा रहेको छ ज्याम्दे, च्यार्सा लगायतका बस्तीमा पनि असर पर्ने सम्भावना छ । ती परिवारको सुरक्षाका लागि वडा कार्यालय गुम्देलले सचेत गराँउदै पत्राचार गरेको थियो । त्यस क्षेत्रमा सयौँको संख्यामा चरिचरणमा रहेका चौरी गाई, बाख्रा अन्यत्र सार्नु पर्ने छ ।

 गत आश्विनको शुरुदेखि नै पानी नपरेकाले  पत्कर र ढुङ्ग्यान क्षेत्रमा रुखविरुवा र घाँस सुकेको छ । सुख्खा ग्रस्त मौषममा आगोलागी भएको हँुदा डढेलो आफै रोकिने कुनै सम्भावना तत्काल देखिँदैन । एक स्थानमा देखिएको डढेलो हावा र जंगलमा सल्किएका मुढा लड्दा फैलिन गई धेरै ठाउँबाट आगो लाग्न शुरु भएको छ । समुद्र सतहबाट २३०० मिटर उचाइमा लागेको आगो  निकै माथिसम्म फैलिने सम्भावना देखिएको छ ।

यदी त्यसरी डढेलो फैलिएमा महिनौ आगलागी हुन सक्दछ । त्यस क्षेत्रमा जोडिएका अन्य सामुदायिक वनहरु पनि त्यस डढेलोबाट जोखिममा पर्ने खतरा उत्तिकै रहेको छ । आगो कसरी लाग्यो भनेर भन्न सकिएको छैन । चामरु बस्तीको तलतिरबाट डढेलो शुरु भएकाले बस्ती खतरामा परेको छ । आगो लागेको थाहा पाउने वित्तिकै नजिकै रहेको बस्ती चामरुका स्थानीय शेर्पाहरु आगो नियन्त्रणका लागि खटेको कुरा भोर्जुङ (क) सामुदायिक वनका अध्यक्ष फुरी लामाले बताएका छन् । 

हिमाली क्षेत्र जैविक विविधताले युक्त छ । यस क्षेत्रमा अन्य सामुदायिक वनहरु पनि छन् । भुर्जुङ्ग सामुदायिक वनसँग सीमाना जोडिने त्यस क्षेत्रमा लालीगुराँस, खस्रु, चिमल, ठिङ्ग्रे सल्लो, ढ्याङ्ग्रे, लोठसल्लो बाँच, पैयुँ, उत्तीस, घुर्मिसो, कटुस, अर्खौलो, सेतीकाठ आदि प्रजातिका रुखहरु त्यस जंगलमा प्रशस्त रहेका छन् । झाडी बुट्यानहरु निकै बाक्लो छ । मच्छिनो, ऐशेलु, घँगारु, चुत्रो, अर्गेली, लोक्तो लगायतका आयुर्वेदिक महत्वका जडिबुटीहरुका प्रजातिहरु प्रशस्त रहेका छन् । हिमाली क्षेत्रका जंगली जनावरहरुको पनि मुख्य बासस्थान त्यही क्षेत्र नै हो ।

त्यस क्षेत्रमा बाह्रै महिना कालो भालु, काठेभालु, सेतो ढेडु, बाँदर, थोप्ले चितुवा, निगाले चितुवा, चरीबाघ, मलसाप्रो, थार, मृग, घोरल, झारल, स्याल, वनविरालो, फ्याउरो, काला, लोखर्के, न्याउरी, विभिन्न प्रजातिका छेपारो, पाण्डा, होब्रे लागायतका सयौँ प्रजाति बसोबास गर्दछन् । काइ, झ्याउ, लेउ, विभिन्न प्रजातिका च्याउहरु लगायतका हिमाली फ्लोरा र फाउनाहरु प्रशस्त रहेका छन् । पंक्षीहरुमा गिद्ध, चिल, हुचील, बाज, भ्याकुर, काँडेभ्याकुर, डाँफे, मुनाल, ठूलोटाउके काग, भद्राइ, जुरेली, हलेसो, न्याउली, चिबे, धोवी, कोइली, लाटोकोसेरो, कल्चौडो, ढुकुर, कालिज, मयुर लगायत सयौँ प्रजातिका पंक्षीहरुको बासस्थान रहेको छ । चौरीको मुख्य चरण क्षेत्र त्यही नै हो । 

ग्लोबल हाइड्रो पावर लि. को गुम्देल बेशमा रहेको नेपाली सेनाको वर्दबहादुर गणको सैनिक टोली पनि स्थानीयसँग साथमा रहेर आगो नियन्त्रणको प्रयासमा लागेको थियो । बाम्ती प्रहरी चौकीबाट पनि प्रहरीको टोली सो क्षेत्रमा पुगेको थियो । आगो नियन्त्रणको लागि स्थानीय बासिन्दा, स्थानीयस्तरमा कार्यरत प्रहरी तथा सेनाका जवानहरु खटेपनि प्रभावकारी रुपमा अग्नी रेखा बनाउन नसकिएको, वरिपरि स्थानीय बस्ती र मानिसहरुको बसोबास कम भएकाले ठूलो जनमास नियन्त्रणमा पुग्न नसक्ने देखिएको छ । आगोलागी भएको क्षेत्र जिल्लाको सदरमुकामबाट ८० किलोमिटर टाढा रहेको छ । स्थानीयस्तरमा निर्माणाधीन जलविद्युत आयोजनाबाट पनि आगो नियन्त्रणका लागि चासो राखेर समन्वय गरिराखेको जानकारी इन्द्रजीत कार्कीले जानकारी गराउनु भयो ।

वर्षै भर हरियाली देखिने हिमाली वन क्षेत्रमा आगोलागी हूदा जनजीवन निकै प्रभावित हुने र जैविक विविधता र वानस्पतिक विविधताको नाश हुने चिन्ता आगो नियन्त्रणका लागि खटिने स्थानीय बासी सानोबाल्दिङका रमेश कार्कीले व्यक्त गरेका छन् । विविधताको धनी र विविधताको भण्डार तथा त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जिविकोपार्जनको सन्धीसर्पणमा रहेको त्यस क्षेत्रमा आगलागी हुनु आमजनमानसमा निकै ठूलो चिन्ताको विषय बनेको छ । 

स्थानीयहरु आगो नियन्त्रणका लागि आकाशमा बादल आउँछ कि भनेर दैविक आशमा छन् र नियन्त्रणका लागि पनि खटिरहेका छन् । तर, पानी पर्ने कुनै संकेत देखिदैन । लामो समयको खडेरी पछि संरक्षण क्षेत्रको जंगलमा लागेको आगो नियन्त्रण नआएको खण्डमा कैयौँ वर्षदेखि अस्तित्वमा रहेको प्राकृतिक सम्पदा नष्ट हुन लागेको भान हुन्छ । 

wild fire

प्रतिक्रिया