बालेनलाई बकपत्र

kedar koiralaफलाम डढेर खरानी हुँदैन। तातेर आकार चैं परिवर्तन हुनसक्छ। आशा, भरोसा, सम्भावना र इमान भएको बालेन शाह हेर्ने अभिलाशा सहित जनअनुमोदन भएका बालेनलाई असफल पार्न नक्सालको पाँचतारे होटलको स्वीट रूममा मिटिङ हुन्छ। बानेश्वर हाइटको मोजोमा प्लानिङ गर्ने युवा जमातले अत्तोपत्तो पाउँदैन। हो, यहिँनेर थाहा हुन्छ ‘कच्चा वैद्यको उपचार, यमलोकको यात्रा’। ‘बालेन बचाउ अभियान’ थालेको होइन मैले। मैले त आफूले झण्डै चारदशक देखि गर्दै आएको पत्रकारिताले सिकाएको अनुभव पोखेको मात्र हो।

यो मुलुकलाई असफल पारेर रजाईं गर्ने लगानीकर्ताले आफ्नो दूत बालुवाटारमा फरक फरक भेषमा पठाउँछन्। कथित विज्ञको आवरणमा बालुवाटार प्रवेश गर्नेको काम, कर्तव्य र अधिकार तय गर्ने लैनचौर र भाटभटेनी मुन्तिरको टुकुवीचको आकार फैलिएर चक्रपथ पुगिसक्यो। यी तिनै केन्द्रविन्दुको परिक्रमा गरेर बसेको छ सोह्रतारे झण्डा। बालेनले नबुझेका पनि होइनन् र बुझ पचाएका पनि छैनन् जस्तो लाग्छ। बुज्जकी जस्तो लाग्छ। त्यै भएर पनि बालेनको नाउँमा यो बकपत्र गरेको हूँ। डोजर आतंक मच्चिएपछि थच्चिएका बालेन क–कसको फन्दामा परेका छन् मलाई फिटिक्कै थाह छैन। तर यति चैं छाती ठोकेर भन्न सक्छु, बागमती सभ्यता, शहरी विकास र भूमि आयोग नामका काउसाहरू बालेनको शाख ध्वस्त पार्न लागिपरेका छन्।

एकजना थापागाउँका पुराना काँग्रेसीले चिया गफमा सुनाएका थिए, बालेनलाई भोट हालेको कथा। काँग्रेसीकै भोटले जितेका हुन् बालेन भन्दा गैरकांग्रेसको मन कटक्क होला। तर, सत्य चैं काँग्रेसीकै विद्रोहको जीत हो बालेन। अरू त थपथाप भएको मात्रै हो। जे होस् अनुमोदित बालेनले काठमाडौं महानगरका जनताले महशुस गर्नेगरि काम गर्नु पर्छ भन्ने सबै मान्यजनको आशा हो। आशा मरिसकेको छैन तर बेलाबखतमा उटुङ्ग्या काम गरेको देखेर दिक्क लाग्छ। 

राजनीतिक दलका हुकुमबासीको आडभरोसामा खोलाकिनार ओगटेर बस्नेहरू पराइ होइनन, चाक्सिवारी र बालकोटका आफन्त हुन्। भर्खरै तुरिएको चुनावमा बालकोटे र चाक्सिवारे उम्मेद्वारले पैसा ओइर्याको पंङ्तिकारले आफ्नै कौसिबाट छर्लङ्ग देखेको हो। मेरो कौसिबाट देखिने दैनिक दृश्यको बयान गर्दा पाठकलाई पट्यार लाग्न सक्छ। छोटकरीमा पढौंपढौं लाग्नेगरि भन्नुपर्दा बागमती किनारका सुकुम्बासी नामका हुकुम्बासी सय रूप्पे प्वाईंन्ट म्यारिज खेल्छन् र कांग्रेस, एमाले र माओवादी भनेर चिरपरिचित दाजुभाइहरू शरीर सुख निम्ति  हाजिर हुन्छन्। 

यसो भनिरहँदा साँच्चैका घरवास नभएका असली सुकुम्बासी माथि ठूलो अन्याय हुन्छ। बागमती किनारको अपरेसन गर्न पहिले बालेन आफैं झोपरपट्टी धाउनु पर्याे। सुकुम्बासीको परिभाषा भित्र पर्ने वेसहाराको तथ्य र तथ्याङ्क संकलन गर्नुपर्याे। शहरी विकासका तिवारी, बागमती सभ्यताका तिमल्सिना र भूमि आयोगका निरौलाबाट आस गर्नु बेकार छ।

यी तीन तिक महाविकले बालेनलाई सहयोग होइन पत्रु पात्र बनाउँछन्, हेक्का रहोस। बालेन बुज्जकी छन्, सालिन छन्, पढेलेखेका हुन् अब बुझाई रहनु पर्दैन। तर खोइके खोइके भनेजस्तो कस्को उक्साहटमा अपरिपक्व कदम चाल्छन्? खोजविन गर्दैछु, चुरो पत्ता लागिसकेको छैन। उक्साहटमै डोजर उचालेर नकाम गरेका बालेनलाई सुझाव छ, कुनै सल्लाह कार्यान्वयन गर्नु अगाडि जनमतको ख्याल गर। तिमी मात्रै जनअनुमोदित हौ, सल्लाहकार होइनन्। तिम्रो असफलता महानगरवासीको असफलता हो।

र अन्त्यमा,

बालेनको टुडिखेल घोषणा–पत्र प्रति मेरो बकपत्रले ठम्याएको चुरो कुरो के हो भने हचुवाको घोषणा–पत्र सार्वजनिक नगरौं। यदि साँच्चै बालेनले उपत्यकाको पार्किङ समस्या समाधानको उपाय पत्ता लगाएर टुडिखेलमा पार्किङको बिकल्प खोजेको होभने उपत्यकावासी खुशी नहुने कुरै भएन। होइन, यो पनि बिना प्लानिङ हचुवामा सस्तो लोकप्रियताको लागि गरिएको हो भने बालेन नगरपिता होइन बालेनको बचपना बालापनमै बित्ने भो भन्ने मेरो ठम्याइ हो। उपत्यकाको क्रोनिक समस्या हो पार्किङ। 

टुडिखेलको तीनतले अण्डरग्राउण्ड पार्किङको बिकल्प छैन। महानगरपिता बालेनसँग प्लान छ भने प्लान घोषणा सहित काम सुरू गरिहालांै लगानी जनताबाटै ओइरो लाग्छ। अन्यथा एकादेशमा बालेन शाह नामको एउटा केटो मेयर भाको थ्यो रे, अल्लारे रैछ सुन्धारामा गुच्चा खेलेर पाँच वर्ष बिताए छ, ज्या है, भन्ने बाहेक कुनै ईतिहास बन्ने छैन। यही बकपत्र गरिदियाँ!
 

प्रतिक्रिया