ज्योतिषीको विश्लेषण

‘देउवाको राजयोग मोदीको भन्दा पनि बलियो’ 

udaya niraula 01‘नेपालको अहिले हुन गैरहेको आमनिर्वाचनका ठूला दलका उम्मेदवारहरु, गठबन्धन अनि कसैकसैको ठाउँ बिशेषको जोड हेर्दा गठबन्धन कसैको निर्देशनमा भएको जस्तो लाग्छ। गोरखाको कमजोर उम्मेदवार र  अन्यत्र पनि ठूलाका छेउ उभ्याइएका उम्मेदवारहरू हेर्दा शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र प्रकाशमान सिंहले जितुन्’ भन्ने मनसाय राखिएको भनेर राजनीतिका बिश्लेषकहरूले आँकलन गरिरहेको देखिन्छ। यसबारेमा ठोस तथ्यहरु प्रकाशमा आएका छैनन्। अनुमानहरुमाथि चर्चा भैरहेको देखिन्छ।  

साहित्य साधनासँगसँगै एक ज्योतिषी पनि भएको नाताले मैले यसअघि धेरै भविष्यवाणीहरू गरिसकेको छु। तीमध्ये कति बिषय मिले त्यो जनसमुदायलाई नै थाहा छ, मैले बोली रहन पर्दैन। मैले हेरेका चिञ्हाहरूमा सबैभन्दा ठूलो राजयोग बर्तमान प्रधानमन्त्री देउवाकै हो। उनले बिना चिन्ता चुनाव जित्छन् भनेर भन्न मलाई कुनै संकोच छैन। ग्रहले नै स्पष्ट चित्र देखाईरहेको छ।

अरू कसैको मैले हेरे पनि नहेरे पनि हालको पहिला मिथुनमा र पछि बृष राशिमा भइरहेको र निर्वाचनताका बृषमा हुने बक्रत्व मंगलको र शनिको मकरको भ्रमण हेर्दा मिथुन राशिका वा लग्नका उम्मेदवारले जटिल परिस्थितिको सामना गर्नुपर्नेछ। 

यस्तै कर्कट लग्न र राशि, कन्यालग्न र राशिकालाई पनि अवस्था खराब हुनेछ। यसमा कुनै ठूला उम्मेदवार पनि परेमा पराजित हुन सक्ने अवस्था नआउला भन्न सकिन्न। यो कुरा उनीहरू नै जान्दछन्।

शनि न्यायाधीश भएकाले गठबन्धनको पक्षमा सोचेको अनुसारको परिणाम भने आउने छैन। शनि जनताका साथमा र मंगल गुण्डा, भिलेन अनि सरकारका साथमा छन्। यी दुई ग्रह एकअर्कालाई परम शत्रु मान्ने हुन् तसर्थ चुनावमा अराजकताको सामना पनि गर्नु पर्नेछ। बर्तमान प्रधानमन्त्रीका यी दुई ग्रह बलवान् भएकोले पार्टीभित्र उनका विरोधीहरू पराजित हुनेछन्।

अरू पार्टीका प्रतिस्पर्धिलाई शत्रु मान्न नमिल्ने भएको भए पनि प्रधानमन्त्रीको दल गठबन्धन सहित  कुल मिलाएर प्रथम नै बन्ला, बाँकी त भन्न सकिन्न।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमालेको समानुपातिक समेत मिलाँउदा उस्तै उस्तै हाराहारीमा परिणाम आउला। बाँकी स्वन्त्र उम्मेदवारहरू पनि नपत्याउने खोलाले बगाउने किसिमले आउनेछन् किनकि शनि महाराजको कृपा उनीहरूलाई हुनेछ। अन्यत्र गठजोडमा पनि कहिँकतै ठूलो माछो पछारिएर सानो भनेकाले जित्ने ग्रहको परिवेशलाई नकार्न सकिन्न।

ग्रहरूको अवस्था र राजनीतिका ज्योतिषी अथवा बिश्लेषकका बीच के पनि कुरा मिल्दैन भने उनीहरू भनी रहेछन् ‘अबको प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिपति बाबुराम।’ तर कथंकदाचित चुनाव स्थगित नभएको अवस्थामा पुनः शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने छन्। उनको राजयोग भारतीय प्रधानमन्त्री मोदीको तुलनामा धेरै माथिल्लो स्तरको छ। यति बलियो ग्रहको योग नेपालमा राजाको पनि छैन, थिएन। 

तथापि पनि अब कुम्भमा माघ २ गतेबाट प्रवेश गर्ने शनिले जनताको सरकार बन्ने बिषयमा मैले यस अघि नै लेखिसकेको छु। शनि २०७९ साल माघ २ गते कुम्भमा प्रवेश गरेर १५ डिग्री पार गर्दा नगर्दा त्यो सरकार बन्छ। त्यो जनताले चाहे अनुसारको हुनेछ। यो समयकालागि करिव माघ २ गतेदेखि २०८१ सालसम्म जनताले कुर्नु पर्नेछ। तसर्थ म के चैँ ठोकुवा गरेर भन्न सक्छु भने चुनाव पछि बन्ने सरकार त्यो बेलासम्म मात्र टिक्नेछ। अस्तु।

(निरौला साहित्यकार हुनाकासाथै एक ज्योतिष शास्त्रका अध्येता पनि हुन्। बिगतमा नेपाली राजनीतिमा २०५९ मा लोकेन्द्रबहादुर, तत्पश्चात सूर्यबहादुर थापा, शेर बहादुर देउवासमेतको उनले भविष्यबाणी मिलाएका थिए। कर्मचारीमा धेरैमध्ये बिमल कोईराला, लोकमानसिंह कार्की, सचिव निरञ्जन बराल र प्रहरीतर्फ धेरैमध्ये पूर्व आइजिपी कुबेर रानाको पनि उनीहरुको भविष्यवाणी मिलाएका थिए।)
 

प्रतिक्रिया