युद्धको छाँयामा युएन महासभा

न्युयोर्क। न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभाकाे पहिलो दिन नै बैठक हलमा तनावकाे स्थिति बनेको छ। युएन महासचिव आन्टोनियो गुटारेसले महासभालाई सम्बाेधन गर्ने क्रममा जलवायु परिवर्तन र महिला अधिकारको मुद्धासँगै युक्रेन युद्धको कुरा अगाडि सारे। 

उनको सम्बाेधनलगत्तै अन्य सदस्य राष्ट्रले एकपछि अर्को गर्दै रुसतर्फ औला उठाए। अमेरिका, रुस, चीन, भारत र इरानका प्रतिनिधिभन्दा अगाडि जर्मनी, फ्रान्स, सेनेगल र फिलिपिन्सका नेताले आमसभालाई सम्बाेधन गरेका थिए। 

पुटिनविरुद्ध युराेपको आक्रोस

जर्मनी चाञ्सलर ओलाफ शाँल्त्सले रुसमाथि साम्राज्यवाद लाद्न खोजेको आरोप लगाए। उनले भने, ‘पुटिनले आफ्नो यो युद्ध तथा आफ्नो साम्राज्यवादी महत्वाकांक्षालाई त्यतिबेला छोड्ने छन्,जब उनलाई महसुस हुनेछ कि यो युद्ध जित्न असम्भव छ।’

जर्मनी विश्वको चाैथाे र युराेपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। जर्मनी पनि लामो समयदेखि संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने अभियानमा छ। न्युयाेर्कको युएन महासभाको मञ्चमा अन्तर्राष्ट्रिय समुदायलाई सम्बाेधन गर्दै शाँल्त्सले भने, ‘उनी (पुटिन) युक्रेनलाई मात्र ध्वस्त पार्दै छैनन्, आफ्नो देशलाई पनि बर्बाद गरिरहेका छन्।’

जर्मनी चाञ्सलरले भविष्यमा युक्रेनलाई अझ् बढी मद्धत गर्ने घोषणा गर्दै भने, ‘हामी वित्तिय, आर्थिक, च्यारेटी र हतियारमार्फत पूर्ण रुपमा युक्रेनलाई सहयोग गर्न तयार छौं।’ शाँल्त्सले न्युयोर्क उड्नुअघि नै जर्मन सरकारले जर्मनी सेनाको स्टकबाट युक्रेनलाई बढी हतियार उपलब्ध गराउने बताएका थिए। युक्रेनलाई उपलब्ध गराउने नयाँ हतियारमा ४ प्राेपेल्ड हाेभित्जर पनि समावेश छ। 

विश्वका अन्य नेतासँग अपील गर्दै शाँल्त्सले भने, ‘याे महत्वपूर्ण हुनेछ, विश्वका १४१ राष्ट्रले यहाँ एउटै स्वरमा रुसको हमलाको निन्दा गरौं।’

फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोले पनि युक्रेन हमलाको विषयमा भने, ‘नयाँ जमानाकाे साम्राज्यवाद र उपनिवेशवादको आगमन।’ फ्रेञ्च राष्ट्रपतिले पनि अहिले युद्ध गर्ने समय नभएको बताएका छन्। उनले भने, ‘यो पूर्व र पश्चिम अथवा उत्तर र दक्षिणबीच कुन पक्षको छनोट गर्ने विषय हाेइन। यो जिम्मेवारी उठाउने कुरा हो।’

विकासशील देशको चिन्ता

पश्चिमी देशहरु विकासशील देशले पनि रुसको आलोचना गरुन् भन्ने चाहेका छन्। तर विकासशील देश युक्रेनलाई उपलब्ध गराइएको अर्बौ डलरको पश्चिमा हतियारलाई लिएर निकै चिन्तित छन्। युएन महासभालाई सम्बाेधन गर्ने क्रममा सेनेगलका राष्ट्रपति माकी सालले भने, ‘अफ्रिकाले इतिहासको बाेझलाई धेरै झेलिसकेकाे छ।’ 

सेनेगल हाल अफ्रिकी युनियनकाे अध्यक्ष राष्ट्र हो। उसले युक्रेन मुद्धालाई कुराकानी र मध्यस्थताबाट तय गरिनुपर्ने अपील गरेकाे छ। 

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले महासभामा अमेरिका र चीनको बढ्दो तनावको मुद्धा उठाए। मार्कोजले भने, ‘ एशियामा बढ्दो रणनीतिक र विचारधारा सम्बन्धि तनावका कारण ठूलाे उपलब्धिपछि हामीले प्राप्त गरेको शान्ति र स्थिरता खतरामा पर्ने समस्या देखिएको छ।’

युक्रेनमा रुसको जनमत संग्रह

महासभामा रुसी विदेश मन्त्री सेर्गेइ लाभराेभ पनि सहभागी छन्। लाभराेभ र उनको अधिकारी जतिबेला महासभामा उपस्थित थिए, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हमलालाई तिब्रता दिने घोषणाा गरेका थिए। पुटिनले आफ्नो सेनालाई अगाडि बढ्न आदेश दिएका छन्। उनले धम्की पनि दिएका छन्, रुसी क्षेत्र रक्षाका लागि हरसम्भव प्रयास गरिने छ।

पूर्वी तथा दक्षिण पूर्वी युक्रेतकाे क्षेत्र अहिले पनि रुसकाे कब्जामा छ। रुसले आफूले नियन्त्रणमा लिएको क्षेत्रमा जनमत संग्रह गराउने घोषणा गरिसकेको छ। युक्रेन र पश्चिमा राष्ट्रले जनमत संग्रहको कडा आलोचना गरेका छन्। रुसकाे भनाई छ– पूर्वी युक्रेनकाे लुहान्स्क र डाेनेत्स्क र दक्षिणकाे खेर्साेन तथा जापाेरित्सियामा २३ सेप्टेम्बर २०२२ मा पाँच दिनसम्म जनमत संग्रह गरिने छ।

–एपी।एएफपी

 

 

 

 

प्रतिक्रिया