एउटा बेवारिस कविता  

तिमीझैं म पनि कतै टाढा जान चाहन्छु

कथित नाता सम्वन्धका पर्खालबाहिर

दुर्लङ्घ्य पहाडहरु नाघेर।

जान त जानु तर कहाँ थन्क्याएर जानु

घरिघरि दुधे शिशुझैँ रोइरहने मनलाई !

कहाँ लगेर थुपार्नु अन्त्यहीन सम्झनाहरु

कहाँ कसलाई गोठालो राख्नु

मनमा फुलिरहने फूल र त्यसमा रमाउने

हजारौंहजार पुतलीहरुको रखवारी गर्न !

कहाँ लुकाउनु र कसरी सुकाउनु

आफ्नो आँसुका दहहरु

कसले स्याहारिदिन्छ बेवारिस सपनाहरु

दरिद्र कविका असंख्य कविता

अनाथ भएझैँ अलपत्र पारेर

लास जस्तो शरीर घिसारेर कहाँ लानु ?

भन्न त सजिलो छ परित्यागको परिभाषा

चटक्कै बिर्सेर निर्जन ठाउँमा

एक्लै बाँकी जीवन बिताउने

अभिलाषा पनि दुर्लभ छ अब ।

कोलाहल, क्रोध, उपेक्षा र अपमान

जीवन हुँदै होइन, थाहा छ

तर मजदुर आमाका पछिपछि

रुँदैरुँदै पछ्याउने नानीहरू जस्तो

अनेक छायाँहरुले पछ्याउँछन् मलाई ।

सबैभन्दा कठोर सत्य सुन्ने साहस छ?

जब म सबैलाई बिर्सेर कतै टाढा जान खोज्छु

तिम्रा सुन्दर नयनहरु

बाटो छेक्न आउँछन् र

म फर्किन्छु ठेगाना फेला नपरेको

हुलाकीको झोलाभित्रको चिठी बनेर।

        @@@@

 

प्रतिक्रिया