कमरेड गन्तव्यको समाजवाद

छोराका प्रत्येक शब्दहरू तीखा वाण बनेर कमरेडको हृदयमा धसिए । प्रत्येक लान्छनाहरूले धारिलो कुठार बनेर छातीमा हानिरहे । उनलाई साह्रै दिग्दार लाग्यो । रिसको झोंकमा उनले भनेका थिए, ‘कमरेड महानिशा र झञ्झावातका छोराहरूले पनि विद्रोहको धम्की दिएका थिए । तर अहिले अमेरिका पुगेर मोज गरिरहेका छन् । तँलाई मैले कमाएको भात लागेको हो । ठूलो घरमा बस्न पाएको छस् । महङ्गा किताब किनेर पढ्न पाएको  छस् । मेरो अगाडि फुर्ति लाउनु पर्दैन ।

bhagwat khanalशुक्रवारको दिन थियो । आमा  सुधीरा , छोरी विद्रोही र छोरो गन्तव्यले साँझ सबेरै खाना खाए । गन्तव्यका पिता कमरेड भवसागर सधै राति बाह्र बजेपछि मात्र घर आउने हुँदा उनलाई कुरिरहनुको प्रयोजन थिएन । गन्तव्य बाह्रको परीक्षा दिएर बसेको थियो । उसका प्रायः सबै साथीहरू शुक्रवारको दिन ‘विकेण्ड’ को रमाइलो गर्न कहिले ककनी, कहिले धुलिखेल त कहिले गोदावरी जान्थे । तर ऊ भने घरमै आमा र बहिनीलाई कथा सुनाएर बस्थ्यो । ‘आज मलाई असल र पितृभक्त पुत्र कस्तो हुन्छ भन्ने कथा सुन्ने मन छ छोरा !’  आमाले सधै यसै गरी विषय छानेर कथा सुन्ने इच्छा गर्ने र छोराले सुनाउने गरेको करिब बाह्र साता बित्यो । ती बाह्र हप्तामा उसले दसओटा जति आफैले रचेका र करिब त्यत्ति नै ऐतिहासिक र पौराणिक कथा सुनाएको थियो ।

गन्तव्यले कथा सुनाउन सुरु गर्‍यो । ‘धेरै पहिलेको कुरा हो । एकादेशमा एक जना वाजश्रवस भन्ने बाहुन बस्दथे । वाजश्रवश विद्यावान, धनवान, गुणी र चतुर थिए । उनको करिब सात - आठ वर्षको नचिकेता नाम गरेको पुत्र थियो । शिक्षा नै जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने सिद्धान्तलाई अङ्गीकार गर्दै आएको परिवारमा जन्मेको हुँदा नचिकेताले शिक्षालाई संस्कारको रूपमा प्राप्त गरेको थियो । ऊ मातापिताको आज्ञाकारी र अनुशासित पुत्र थियो । उसको घरमा प्रायः बौद्धिक र प्राज्ञिक बहसहरू भइरहन्थे । बालक नचिकेताको कुरा सुन्ने धैर्य र विश्लेषण गर्ने क्षमता देखेर पिता वाजश्रवश निकै प्रसन्न थिए ।

एक दिन वाजश्रवशले विश्वजित यज्ञ गर्ने अठोट गरे । नचिकेताले सोधेको थियो, ‘हे पिता ! विश्वजित यज्ञ भनेको के हो ?’  पिताले भनेका थिए, ‘विश्वजित यज्ञ भनेको आफ्नो स्वामित्वमा रहेका हरेक कुरालाई दान गर्ने अनुष्ठान हो । यस्तो यज्ञ गर्ने साहस विरलैले मात्र गर्दछन् ।’ जिज्ञासु बालकले फेरि सोध्यो, ‘ यो यज्ञ गर्नुको उद्देश्य के हो ? यो यज्ञ गरेर प्राप्त हुने फाइदा के हो ?’  बाबु पुत्रको प्रश्न गर्ने शैली र उत्सुकता देखेर साह्रै खुसी भए । उनले छोरालाई काखमा राखेर बडो स्नेहपूर्वक भनेका थिए, ‘यो यज्ञ गर्नुको उद्देश्य महान त्याग हो, एक अनुपम उत्सर्ग । आफूसँग भएका सारा चिजहरू दान गरेर आफू सांसारिक पदार्थ र प्रपञ्चबाट मुक्त  भई वैराग्य प्राप्त गर्नु यसको उद्देश्य हो । यो यज्ञ गर्नेले यस लोकमा यश र परलोकमा परम पद प्राप्त गर्दछ ।’

यज्ञ सुरु भयो । टाढा टाढाबाट दान लिन इच्छुक ब्राह्मण र गरिबगुरुवाहरू आउन थाले । धनधान्यले सम्पन्न वाजश्रवसले आगन्तुकहरूलाई दान दिन सुरु गरे । बालक नचिकेताले पिताका हरेक गतिविधिहरूको सूक्ष्म अवलोकन गरिरहेको थियो । गोठमा प्रशस्त गाईहरू थिए । ऊ के देख्दछ भने पिताले त मोटाघाटा , दुधालु र भविष्यमा गर्भवती हुने सुनिश्चित भएका गाईहरू छुट्टै राख्न लगाएर अन्तिम बेत बियाइसकेका, दाँत झरेका र दुब्लाएर फुकीढल गाईहरू पो दान गरिरहेका छन् ।

‘त्यसपछि के भयो ?’ आमासँगै बसेर कथा सुनिरहेकी सोह्रवर्शे छोरी विद्रोहीले जिज्ञासा प्रकट गरी ।

‘वाजश्रवसको गोठमा एक से एक नवयौवना कोरली र लैना गाई छन् भन्ने सुनेर दान प्राप्तिको अभिलाषाले दूर देशबाट आएका मानिसहरूको मनमा ठूलो दिलासा र उत्कण्ठा थियो । दान थाप्न इच्छुक बाबुको पछि लागेर आएका केटाहरूको मन पनि उमङ्गले ओतप्रोत  थियो । अब हाम्रो घरमा पनि एउटा दुहुनु गाई हुनेछ । अब हाम्रो आँगनमा  पनि एउटा सुन्दर बाछो नाच्नेछ । अब पोषणको अभावमा कृशकाय भएकी हजुरआमाले अमृत समान गाईको दूधले घाँटी भिजाउन पाउनेछिन् । कुपोषित आमाका सुकेका लाम्टा चुस्न अभिशप्त बहिनी पनि गाईको दूग्धपान गरेर मोटीघाटी हुनेछ । फेरि त्यो गाई ब्याउने छ । हाम्रो घरमा गोधनको वृद्धि हुनेछ । हामी पनि समाजका हुनेखाने र इज्जतदार परिवारको दर्जा प्राप्त गर्न सफल हुनेछौं । अनि  हाम्रा पिता पनि सांसारिक सुखबाट तृप्त भएर दानी वाजश्रवसले जस्तै आफ्नो स्वामित्वमा रहेका हरेक कुरा दान गर्नेछन् ।

केही समयपछि कमरेड पनि आइपुगे । पितापुत्रको बोलचाल फुकेको थिएन तापनि उनी छोराको सामुन्नेमा गएर बसे । अकस्मात गन्तव्यको मुखबाट निस्क्यो, ‘अभिवादन ड्याड !’  कमरेड भवसागर छोरालाई अङ्गालो हालेर रोए । गन्तव्यले बाबुको आँसु पुछिदियो । उसले भनेको थियो, ‘म ठूलो भूलमा थिएँ ड्याड ! मलाई माफ गर्नुहोस् । अब मैले सबै कुरा बुझें । बरु एउटा कुरा गर्नु थियो ।’ कमरेड भवसागर आज गदगद थिए । उनलाई थाहा थियो, प्रिय पुत्र के माग्दैछ । उनले  भने, ‘भन् छोरा ! तेरो हरेक इच्छा पूरा गर्न कमरेड भवसागर सक्षम र तत्पर छ ।’  गन्तव्यले भनेको थियो, ‘ड्याड ! मलाई मिटिङ खर्च चाहिन्छ ।’

 परन्तु केटाहरू के देख्छन् भने वाजश्रवस त उनीहरूका पितालाई बेत पसिसकेका, लखतरान र मरन्च्यासे वृद्ध गाईहरू दान गरिरहेका छन् । उनीहरूको सपना त चकनाचुर भयो नै, त्यसमाथि राम्रोसँग पाइला चाल्न नसक्ने लुला खुट्टा भएका गाईहरूलाई धकेल्दै र घचेट्दै लैजानुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने भयो । बालकहरू बुढी र जीर्ण गाईहरूलाई पछाडिबाट घचेटिरहेका थिए । गाईहरू भने आफूले सारा जीवन गुजारेको प्यारो आँगनबाट बाहिर जानै मन गरिरहेका थिएनन् । दान पाउने गरिब बाहुनका आँखा रसिला भए । वाजश्रवस जस्तो नामुद मानिससँग प्रतिवाद गर्ने हिम्मत थिएन । उता जीवनभरि दूध दिएर वाजश्रवसलाई ऐश्वर्यवान बनाएका गौमाताहरूका आँखाबाट समेत आँसुका बलिन्द्र धारा बगिरहेका थिए ।

बाबुको त्यो निन्दनीय कार्य देखेर नचिकेता अत्यन्तै दु:खी भयो । आफ्नै थातवासमा मर्न उत्सुक ती निरीह गाईहरू, दुहुनु गाई दानमा पाइएला भन्ने उत्कट भावनाले टाढा टाढाबाट आएका ती अकिञ्चन  बाहुन र दानकामी अन्य गरिबहरू, मनमा अनेक सुखद कल्पना गरेर उत्फुल्ल हुँदै बाबुको अनुगमन गर्दै आएका ती निर्दोष बालकहरू र निकै दानवीर भएको अभिनय गर्दै माथ ठाडो पारेर अभिमान गर्ने लोलुप पितालाई देखेर ऊ साह्रै निराश भयो । नचिकेता विस्तारै बाबु बसिरहेको आसनको नजिकै गयो । अत्यन्त पुत्रमोहले ग्रसित भई आफ्नो प्रतिज्ञा बिर्सेका पिता वाजश्रवसले छोरालाई काखमा राखे । उनको हृदय पुत्रस्नेहले द्रवीभूत भयो । आसक्तिको असीमित प्रभावले आफ्नो अठोट भुल्न पुगेका उनले पुत्रको तालु सुँघेर सुखानुभूति गरे ।

किन्तु पुत्रलाई त्यो असीम पितृस्नेहको कुनै प्रभाव परेन । घृणा गर्नु त आफ्नै पिता हुन् , स्नेह गर्नु त त्यो दुर्जनता ! नचिकेताले दान गरिसकेका तर आँगन छाडेर जान नमानिरहेका टिठलाग्दा गाईहरू र मौन बसेर अश्रुपात गरिरहेका ब्राह्मणहरूतर्फ देखाउँदै सोधेको थियो, ‘हे पिता ! यो म के देख्दैछु ? यिनै गाईहरूको दूध खाएर म हुर्केको हो कि होइन ? यिनै गोधनको आडमा तपाईंको प्रतिष्ठा कायम भएको हो कि होइन ? आज यिनै गाईहरू कमजोर र अनुत्पादक भए भनेर खेदेर पठाउन लाग्नुभयो । हेर्नुहोस् त !  ती दरिद्र ब्राह्मणहरू कसरी रोइरहेका छन् । ती गोमाताहरूको आँखाबाट बगिरहेको आँसुलाई हेर्नुहोस् त प्यारो पिता ! अनि ती निर्दोष बालकहरूमा  तपाईंले प्रहार गरेको कुठारबाट लागेको मानसिक चोट देख्न सक्नुहुन्छ ? अनि ती गोठभरि रहेका नवयौवना कोरली र अन्य दुधालु गाईहरू दान गर्नु पर्दैन ?’

पुत्रको कुरा सुनेपछि पिताले भने, ‘ती नवयौवना र दुधालु लैना गाईहरू तेरा लागि साँचेर राखेको हो मैले । मलाई तेरो भविष्यको चिन्ता छ । आफ्नो सन्तानको भविष्य सुनौलो बनाउनु प्रत्येक पिताको कर्तव्य हो ।’   पिताको तर्कले नचिकेताको चित्तलाई शान्त पार्न सकेन । उसले फेरि सोध्यो, ‘विश्वजित यज्ञमा आफ्नो स्वामित्वभित्रका सबै कुरा दान गर्नुपर्छ भन्ने कुरा मैले तपाईंबाटै थाहा पाएको हुँ । पुत्र भएको नाताले म पनि तपाईंको स्वामित्वमा छु र दान हुने वस्तुमा पर्छु । जब म नै दान भएर जाँदैछु भने ती  मेरा लागि भनेर राखेका गाईको के प्रयोजन ? बरु भन्नुहोस् मलाई दान गरेर कसलाई दिने विचार गर्नुभएको छ ?’ पिताले स्नेहपूर्वक भने, ‘तेरो  यस्ता कुरा सोच्ने र सोध्ने बेला भएकै छैन । म प्यारो पुत्रलाई दान गरेर पठाउने छैन’ उनी अज्ञानी बालकको कुरा के सुन्नु भनेर आफ्नो काममा लागे ।

नचिकेताको मनमा तूफान उठिरहेको थियो । आज यो के गर्दैछन्  मेरा पिता ? यो तरिकाले त यिनको यो लोकमा अपयश फैलिने मात्र होइन , परलोक समेत बरबाद हुने भयो । जब दान गर्नु थिएन त विश्वजित यज्ञको अनुष्ठान गर्नुको के अर्थ ? ऊ फेरि पिताको नजिक गएर उभियो । ‘हे पिता ! मलाई कसलाई दान दिएर पठाउनुहुन्छ ?’  पिताले नसुनेको बहाना गरेकेा देखेर नचिकेताले फेरि सोध्यो, ‘मलाई कसलाई दान दिने विचार छ ? म जहाँ पठाए पनि जान तयार छु ।’  छोराले अविरल त्यही प्रश्न गर्न थालेपछि वाजश्रवसलाई साह्रै रिस उठ्यो । क्रोधको उन्मादमा सहसा उनको मुखबाट निस्क्यो, ‘म तँलाई मृत्युकहाँ दान दिएर पठाउँछु ।’

‘अहो कस्तो मन छुने र हृदय रुने कथा  ! ती वाजश्रवस ब्राह्मण त हाम्रो बाबा कमरेड भवसागर जस्तै रहेछन् दादा ।’ विद्रोहीले बिचैमा भनेकी थिई । 

आमा सुधिरा - के भन्छे यो ? आफ्नो बाबालाई त्यस्तो फटाहा वाजश्रवससँग तुलना गर्ने हो ? तेरो यो लुलो हात बनाउन कति खर्च भयो थाहा छ ?

विद्रोही - मेरो अपाङ्गता मैले रोजेर लिएको होइन आमा । अर्को कुरा, मेरो जन्म पनि मैले रोजेर भएको होइन । मेरो काबुभन्दा बाहिरको र संयोगले भएको घटनामा मेरो जिम्मेवारी छैन । यो अपाङ्गताले म आफै दु:खी छु । आज खर्चको कुरा गरेर मेरो कहिल्यै सन्चो नहुने घाउमा खुर्सानी दलिदिने काम गर्नुभयो । बाबाले त बारम्बार ‘यो लुलीको स्याहार गर्दै जिन्दगी जाने भयो’ भनिरहनुहुन्छ । आज तपाईं पनि त्यसको मतियार हुनुभयो । छोरा र छोरीमा फरक व्यवहार गर्ने मातापिता पनि साम्यवादी रे ! म अब सानी र अबुझ छैन आमा । हात लुलो भए तापनि मेरो हृदय लुलो छैन । मेरो छाती मेरा पिता कमरेड भवसागरको भन्दा दरो छ । सर्वहारा भनेको के हो थाहा छ ?

सुधीरा - सर्वहारा भनेको सबैथोक खोसिएको, सबैथोक गुमाएको, शोषण, वञ्चना र उत्पीडनमा परेको जुनसुकै व्यक्ति हो ।

विद्रोही -  साम्यवाद भनेको के हो ?

सुधीरा - सबै बराबर हुने अवस्था । त्यहाँ कोही पनि शोषित हुँदैन । गरिबी, शोषण र उत्पीडनबाट मुक्ति नै साम्यवाद हो ।

विद्रोही - हाम्रो परिवार पनि सर्वहारा हो ?

सुधीरा - केही वर्ष अघिसम्म हामी पनि सर्वहारा थियौं ।

विद्रोही - हामीले मुक्ति पायौं होइन त आमा ? हाम्रो बाबाले सर्वहारालाई शोषण, पीडन र वञ्चनाबाट मुक्ति दिनुभयो । होइन त ?

गन्तव्य - हामीले यस्ता कुरामा आमासँग बहस गर्न हुँदैन विद्रोही । आमाले सर्वहारा, क्रान्ति, साम्यवाद र मुक्ति जस्ता कुराबारे पाल्तु सुगाले जस्तै मात्र भन्न सक्नुहुन्छ । एक जनाले सुगा पालेको थियो । उसले त्यो सुगालाई ‘सिताराम,  रामराम र कुरीकुरी’ यति तीन शब्द मात्र सिकाएको थियो । सुगाले कोही  पाहुना आउँदा सीताराम भन्थ्यो र बिदा भएर  जाने  बेलामा रामराम । उसले बालबालिका देख्ने बित्तिकै कुरीकुरी भनेर जिस्क्याउँथ्यो । मानिसहरू त्यो सुगालाई बडो विद्वान जस्तो मानेर प्रशंसा गर्थे । यहाँ धेरै कम्युनिस्ट नेताहरूले सर्वहारा, शोषण, उत्पीडन, सामन्ती, विस्तारवाद, साम्यवाद र मुक्ति जस्ता शब्द मात्र जानेका छन् ।  त्यति शब्द भन्न जानेबापत वामपन्थी विचारकको बिल्ला भिरेका पनि धेरै छन् यहाँ । त्यस्ता धेरै जना देश हाँक्ने ठूलाठूला पदमा पुगिसके । आज मैले आफूलाई त्यही सुगाले कुरीकुरी भनेर जिस्क्याउने गरेको किशोर जस्तै महसुस गरिरहेको छु ।

विद्रोही - किन नि दादा ?

गन्तव्य - हेर विद्रोही ! आमा हाम्रो बाबाले पिञ्जरामा थुनेर राखेको सुगा जस्तै हो । बाबाले जे भन्नुभयो , आमाले त्यसैलाई सत्य ठान्नुभयो । त्यसैले त आमाको नाम सुधीरा हो । कम्युनिस्ट विचार राख्ने व्यक्तिहरू सत्तामा नपुग्दासम्म सही अर्थमा विद्रोही हुन्छन् । उनीहरूलाई के गरौँ र कसो गरौं भन्ने हुटहुटी हुन्छ । हाम्रो बाबा पनि कुनै समयमा वास्तविक कम्युनिस्ट हुनुहुन्थ्यो । त्यही उन्मादमा बाबाले मेरो नाम गन्तव्य र तिम्रो विद्रोही राख्नुभयो । एउटा कुरा तिमीले बुझ्न सकिनौ विद्रोही । वास्तवमा बाबाले तिमीलाई निकै माया गर्नुहुन्छ । किन्तु उहाँमा पैसाको अभिमान सवार भएको छ । भित्री मनमा कतै लुकेर बसेको अहङ्कार तिम्रो उपचारमा खर्च भएको रकमको रूपमा प्रकट भएको मात्र हो  । हाम्रो बाबाले कमाएको धन परिश्रमको आम्दानी होइन विद्रोही ।

उहाँले आफ्नो विद्रोहकालमा जनतासँग गरेको कबुल बिर्सनुभयो । उहाँले आफूलाई उचालेर माथिसम्म पुर्‍याउने जनतालाई धोका दिनुभयो । जनतालाई जे दिउँला भनेर कबुल गर्नुभएको थियो, त्यो सबै आफैसँग राख्नुभयो । उहाँले पनि वाजश्रवस ब्राह्मणले जस्तै प्रतिज्ञा भुल्नुभयो । उहाँ पनि आफ्नै सन्तानलाई धनी र विलासी बनाउने ध्याउन्नमा प्रवृत्त हुनुभयो । हाम्रो बाबा नातावाद, कृपावाद, मित्रवाद, गुटवाद, भौतिक सुखवाद र सर्वोपरि कुरा पुत्रमोहमा डुब्नुभयो । हाम्रो बाबाको गन्तव्य बदलियो ।

सुधीरा - कथा भन्दाभन्दै कहाँकहाँ पुग्छ यो । त्यसपछि के भयो ? के वाजश्रवसले वास्तवमै पुत्र नचिकेतालाई मृत्युलाई दान दिएर पठाए ?

गन्तव्य - यी बिचबिचमा घुसेका कुरा पनि त्यही कथाकै अंस हुन् आमा । पिताको कुरा सुनेर नचिकेता आश्चर्यचकित भयो । परन्तु पिता भनेका पिता हुन्  । ऊ पिताको वचन खेर जान दिने पक्षमा थिएन । क्रोधको आवेगमा बोल्नै नहुने शब्द बोल्न पुगेका वाजश्रवसलाई अत्यन्तै पश्चात्ताप भयो । उनले बालक पुत्रसँग क्षमा मागे । परन्तु नचिकेता आफ्नो पिताको प्रतिष्ठामा थप हानी हुन दिने पक्षमा थिएन । ऊ बारम्बार प्रतिज्ञा गर्दै र त्यसबाट विमुख हुँदै जाने लबस्तरो पिताको पुत्र भन्ने परिचय बोकेर जिउन चाहँदैनथ्यो । ऊ सरासर यमलोक पुगेर मृत्युका देवता यमराज बस्ने भवनको द्वारमा खडा भयो । यमराज घरमा थिएनन् । उनी तीन दिनका लागि कतै गएका थिए ।

यम भवनका द्वारपालहरूले नचिकेतालाई फिर्ता पठाउने प्रयास गरे,  किन्तु उसले मानेन । केही सीप नलागेर उनीहरूले नाचिकेतालाई खानेकुरा र पानी दिए । तर नचिकेताले ऊ यमराजकहाँ दान भएर आएको र यमराज नै उसका स्वामी भएको हुँदा स्वामीको आदेश नहुँदासम्म कतै नाजाने र पानी पनि नपिउने प्रतिज्ञा गरेर त्यहीँ द्वारमा सत्याग्रह गरेर बस्यो । तीन दिनपछि घर फर्केर आएका यमराज बालक नचिकेताको कुरा सुनेर अत्यन्त प्रभावित भए । यमराजले भने, ‘हे बालक ! तिमीले तीन अहोरात्रसम्म पानी पनि नखाई मेरो प्रतीक्षा गरेर बसेको थाहा पाउँदा म अत्यन्त प्रभावित भएको छु । म तिमीलाई तीन वरदान दिन्छु  । जे माग्ने इच्छा छ माग ।’

आज अचम्म भयो । कमरेड भवसागर दसै बजे घर आइपुगे । अब उनको जीवनको परम लक्ष्य छोरो गन्तव्यलाई नेपालकै सबैभन्दा प्रख्यात डाक्टर  बनाउने थियो । उनले भने, ‘अब त तेरो रिजल्ट प्रकाशन हुने बेला पनि हुन लागिसक्यो । म कामको आतुरीले गर्दा दिनभरि घरमा बस्न पाउँदिन । अहिलेसम्म के के पढिस् ?’

गन्तव्य - यो तीन महिनामा मैले धेरै अध्ययन गरें बाबा । मैले उपनिषद पढें । प्राचीन वैदिक , ग्रीक र रोमन सभ्यता पढें । कार्ल मार्क्सको पुँजी र कम्युनिस्ट घोषणापत्र पढें । विश्वप्रसिद्ध केही साहित्यिक कृति पढें । फ्रान्स, अमेरिका, रुस र चीनको क्रान्ति पढें । तर आज भने मैले केही पढिन पढिन । आज म ढुङ्गा हान्ने कार्यक्रममा गएँ बाबा।

छोराको कुरा सुनेर कमरेड भवसागर हतप्रभ भए । ‘तँलाई कसले ढुङ्गा हान्न पठायो ?’

गन्तव्य - तपाईंले ।

कमरेड भवसागरले छोराको गालामा एक थप्पड हाने । गन्तव्य गाला मुसार्दै मुस्कुरायो । ‘हो बाबा तपाईंले ! आज तपाईंको पार्टीले आह्वान गरेको ढुङ्गा हान्ने कार्यक्रम थियो । हो कि होइन ? त्यहाँ जुम्ला, दार्चुला, सल्यान, कपिलवस्तु, झापा, सिन्धुली र ताप्लेजुङसम्मका किशोर किशोरी तपाईंहरूको आह्वानलाई सिरोपर गरेर ढुङ्गा हान्न आएका थिए । दुनियाँका छोराछोरी मेरो पिताको आह्वानलाई सम्मान गरेर आएको कार्यक्रममा म नै नजानु पिताको अपमान हो भन्ने ठानेर म पनि गएँ ।’

मेरो पार्टी र अन्य सबै पार्टीका सिनियरहरूले श्रीमती,  छोराछोरी, मावली, ससुराली र मित्रका सन्तानलाई समेत उँभो लगाउने प्रतिस्पर्धा गरिरहेका छन् । बाहिर लडेको देखिए तापनि एकान्तमा भेट हुँदा उनीहरू भन्ने गर्छन्, अब देशको लागि केही गर्न नसकिने भयो । देशको लागि केही गर्न नसक्ने भएपछि कमसेकम सन्तान र कुटुम्बको भलो गर्नुपर्छ ।

कमरेड भवसागर - त्यो त  राजनीतिको एउटा अङ्ग पो हो । हेर् छोरा ! आफ्नो सन्तानको भविष्य बिगार्न को चाहन्छ ? मेरा अन्य कमरेडहरू पनि आफ्ना सन्तानको भविष्य सपार्नेतर्फ नै लागेका छन् । अरू पार्टीका नेताले पनि कसैले भारतीय दूतावास, कसैले चिनियाँ दूतावास, कसैले अमेरिका, कसैले बेलायत रिझाएर र कसैले नेपालकै नामुद कलेजलाई थर्काएर आफ्ना सन्तान पढाएका छन् ।

गन्तव्य - ल अब तपाईंको भाषणको अडियो सुन्नुहोस् बाबा ।

अडियो बज्न थाल्यो - उपस्थित आदरणीय जनसमुदायहरू, तपाईंका सन्ततिहरू हाम्रो भविष्यका सपना हुन् । सामन्तवादले लागू गरेको शिक्षापद्धति बेरोजगार उत्पादन गर्ने कारखाना हो । त्यस्तो शिक्षा दिएर केही फाइदा छैन ....।

कमरेड भवसागर - यो राजनीति हो । राजनीतिमा यस्तो सबै चल्छ । तँलाई यी सबै लफडामा लाग्न कसले सिकायो हँ ? म जे गर्दैछु सबै तेरो भविष्यको लागि गर्दैछु ।

गन्तव्य - शान्ति बाबा शान्ति ! म ढुङ्गा हान्न गएको थिइन । मैले त तपाईंको प्रवृत्तिको कुरा मात्र गरेको हुँ । म ढुङ्गा बर्साएर सार्वजनिक सम्पत्तिको सर्वनाश गर्ने प्रवृत्तिको विरोधी हुँ । परन्तु हेर्नुहोला ! यहाँ एउटा विद्रोह हुनेछ र त्यो तपाईंहरूको विरुद्धमा हुनेछ । जब त्यो विद्रोह सफल हुनेछ, हामी कुलङ्गार र देशद्रोही बाबुका सन्तनको रूपमा कहलिने छौं । आज सदाभन्दा छिटो घर आउनुभएको छ र शुक्रबार पनि हो । बरु नचितेकेताको कथा सुन्नुहोस् ।

कमरेड भवसागर - को हो त्यो ?

गन्तव्य - यमराजको वचन सुनेर नचिकेता अत्यन्तै प्रसन्न भयो । उसले पहिलो वरदान पितृपरितोष माग्यो ।

‘मेरा पिता मसँग सदासर्वदा प्रसन्न रहून्, क्रोधहीन होउन् र मलाई पूर्ववत माया गरून् ।’ नचिकेताको कुरा सुनेर यमराज आश्चर्यचकित भए । उनले भने, ‘तिमी आफूलाई मृत्युलोक पठाउने पिताको परितोष माग्दैछौ ?’

नचिकेता -  म त्यही माग्दैछु प्रभु । हो मलाई मेरो पिताको प्रवृत्ति मन परेन । परन्तु उनी मेरा पिता हुन् । विद्रोह गर्नु त कसरी गर्नू  ? मेरा पिता कमसल छन् भनेर कसलाई कसरी सुनाउनू ?  बाबुको प्रवृत्ति गलत छ भन्दै कहाँ जाने ? यस्तो विकल्पहीन  नाता जो बदल्न सकिन्न । यस्तो वेदना जो बाँड्न सकिन्न । यस्तो आँसु जो चुहाउन सकिन्न । यस्तो घृणा जो व्यक्त गर्न सकिन्न । रगतको यस्तो नाता जो साट्न मिल्दैन । यस्तो भाग्य जो फेर्न मिल्दैन । सड्न थालेको यस्तो अन्न जसलाई बिस्कुन बनाएर घाममा सुकाउन मिल्दैन । विधिको यस्तो विधान जसको अर्को विकल्प छैन ।

यमराजले नचिकेतालाई अविरल हेरिरहे । उनलाई गलत कुरामा प्रवृत्त भएको बाबुको सज्जन छोराको अवस्था कस्तो  हुन्छ भन्ने महसुस भयो । उनले बालकको सिरमा हात राखेर भने ‘तथास्तु ।’   फेरि नचिकेताले भन्यो, ‘हे प्रभु ! स्वर्गलोकमा भय, रोग, वृद्धावस्था, दु:ख,  मृत्यु र शोक हुँदैन रे । मेरो पृथ्वीलाई पनि त्यस्तै बनाइदिनुहोस् ।’  बालकको लोककल्याणकारी सोच देखेर यमराज निकै खुसी भए । उनले नचिकेतालाई स्वर्गमा जस्तै सुख दिने  साधन अग्निविज्ञानको  वरदान दिए । तर मर्त्यलोक कर्मभूमि भएको हुँदा स्वर्गमा झैं बसिबसी खान मिल्दैन । मनुष्यले कर्म गर्नुपर्छ ।

कमरेड भवसागर - मलाई तेरो भविष्यको चिन्ता लाग्न थाल्यो छोरा । तेरो भविष्य बरबाद हुनेभयो, मेरो सपना बरबाद हुनेभयो ।

गन्तव्य - तपाईंको सपना के हो बाबा ?

कमरेड भवसागर - तँलाई विदेशको सबैभन्दा राम्रो विश्वविद्यालयमा पढाएर विश्वप्रसिद्ध डाक्टर बनाउने ।

गन्तव्य - बाबा मलाई तपाईंको असाध्यै माया लाग्छ । म चाहन्छु, कि मैले मेरो पिताको नाम लिंदा छाती गर्वले फुलोस् । यो दोहोरो चरित्रको जीवनले शान्तिसँग बाँच्न दिदैन बाबा ! सार्वजनिक रूपमा एउटा सपना बाँड्नुहुन्छ, पारिवारिक जीवनमा अर्कै । यस्तो पाखण्ड गर्दा असहज लाग्दैन बाबा ? मलाई कुनै विश्वप्रसिद्ध डाक्टर बन्नु छैन । तपाईंले मेरो नाम गन्तव्य र बहिनीको नाम विद्रोही राख्नुभयो । त्यसबेला तपाईंको गन्तव्य समाजवाद थियो । तपाईं भन्नुहुन्थ्यो,  त्यो प्राप्त गर्न विद्रोह गर्नुपर्छ । तपाईंले आफ्नो गन्तव्य बिर्सनु भयो बाबा ।

छोराको कुरा सुनेर कमरेड भवसागर मर्माहत भए । उनले भनेका थिए, ‘मेरो पार्टी र अन्य सबै पार्टीका सिनियरहरूले श्रीमती,  छोराछोरी, मावली, ससुराली र मित्रका सन्तानलाई समेत उँभो लगाउने प्रतिस्पर्धा गरिरहेका छन् । बाहिर लडेको देखिए तापनि एकान्तमा भेट हुँदा उनीहरू भन्ने गर्छन्, अब देशको लागि केही गर्न नसकिने भयो । देशको लागि केही गर्न नसक्ने भएपछि कमसेकम सन्तान र कुटुम्बको भलो गर्नुपर्छ । मैले कतै पढेको थिएँ, गरिब भएर जन्मनु  खराब कुरा होइन, तर गरिब रहेरै मर्नु खराब हो । म गरिब घरमा जन्में  र गरिबीमै हुर्कें। तेरो सौभाग्यले आज यति राम्रो घरमा बस्न पाएको छस् । के खाऊँ के लाऊँ भन्ने समस्या छैन । अरू सबै नेताका छोराछोरी खुसीले गदगद छन् । तँ भने मेरै खोइरो खन्छस् ।

गन्तव्यले बाबुको विवश अनुहारमा हेर्‍यो । त्यहाँ कुनै कमरेडी तेज र प्रताप थिएन । त्यहाँ कुनै आभा, ओज र चमक थिएन । दोहोरो चरित्रको दास भएको मुहार प्रभाहीन र कान्तिहीन देखिन्थ्यो । उसले भनेको थियो, ‘बाबाले भनेको कुरा ठिकै होला । परन्तु जसरी वाजश्रवस ब्राह्मणले पुत्रमोहको पासोमा परेर आफ्नो प्रतिज्ञा र गन्तव्य  बिर्सेका थिए , त्यसै गरी तपाईंले पनि आफ्नो कर्तव्य बिर्सनुभयो । अब म सङ्गठन गर्छु बाबा ! यस्तो सङ्गठन, जसले वास्तविक विद्रोह गरेर राष्ट्रको गन्तव्य तय गर्नेछ ।’ छोराका प्रत्येक शब्दहरू तीखा वाण बनेर कमरेडको हृदयमा धसिए । प्रत्येक लान्छनाहरूले धारिलो कुठार बनेर छातीमा हानिरहे । उनलाई साह्रै दिग्दार लाग्यो । रिसको झोंकमा उनले भनेका थिए, ‘कमरेड महानिशा र झञ्झावातका छोराहरूले पनि विद्रोहको धम्की दिएका थिए । तर अहिले अमेरिका पुगेर मोज गरिरहेका छन् । तँलाई मैले कमाएको भात लागेको हो । ठूलो घरमा बस्न पाएको छस् । महङ्गा किताब किनेर पढ्न पाएको  छस् । मेरो अगाडि फुर्ति लाउनु पर्दैन ।’

गन्तव्यले भन्यो, ‘तपाईं मेरो पिता हुनुहुन्छ । जस्तोसुकै भए तापनि पिता पूज्य नै हुन्छ । उपनिषदमा ‘अमृतस्य पुत्रा:’  भनिएको छ । पिता पुत्रको रूपमा जन्म  लिएर अमर बन्दछ । परन्तु म मेरो इच्छाले तपाईंको घरमा जन्मेको होइन बाबा । मेरो जन्म मेरो काबुभन्दा बाहिरको घटना हो । जुन कुरामा मेरो भूमिका नै थिएन त्यस कुरामा न त प्रफुल्ल हुनुको तुक छ न त दु:खी हुनुको नै । एउटा राजाको छोरा भएर जन्मनु गुण होइन, संयोग हो । एउटा दरिद्रको घरमा जन्मनु पनि कुनै दुर्गुण नभई संयोग मात्र हो । तथापि जन्मले धेरै मात्रामा भाग्य या दुर्भाग्यको मार्ग तय गर्दछ । हो, मलाई खाने लाउने सुविधा छ । राम्रो घरमा बस्छु । तर यो देशका म जस्ता कति किशोर किशोरीहरू यस्तो घरमा बस्छन् ? मलाई सुविधासम्पन्न घरमा बस्न पाएकोमा कुनै गर्व छैन बाबा । जहाँसम्म किताब पढ्ने कुरा छ, तपाईं पढ्दै नपढिकन नेता हुनुभयो । त्यसको क्षतिपूर्ति म पढेर गर्दैछु ।

गन्तव्यले राजनीतिक नेताका छोरा नातिहरूलाई भेटेर आफ्नो कुरा राख्यो । उसले सबैलाई भनेको थियो, ‘अब हामीले घरबाटै विद्रोह गर्नुपर्छ । केटाहरूले उसको समर्थन गरे । अब एउटा सङ्गठन गर्नुपर्छ । हामीले यस्तो सन्देश दिनुपर्छ,  कि अब नेपालको कुनै पनि उच्चपदस्थ व्यक्तिको सन्तानले सदाचार पालन नगर्ने मातापिताको तिरस्कार गर्नेछ । केटाहरूले मिटिङ गर्न थाले । कमरेड भवसागर र गन्तव्यको बोलचाल बन्द भएको एक महिना पुगिसकेको थियो तापनि पिताले पुत्रको प्रत्येक गतिविधिको सूक्ष्म अवलोकन गरिरहेका थिए ।

एक दिन विद्रोह गर्न तम्सिएका नवयुवकहरूका पिताहरूको बहुदलीय गोप्य बैठक बस्यो । त्यहाँ आपसमा विरोध गर्दै हिँड्ने सबै प्रमुख नेताहरूको उपस्थिति थियो । उनीहरूले सर्वसम्मतिबाट एउटा निर्णय गरे । उता युवकहरूको भेटघाट पनि निरन्तर चलिरह्यो । उनीहरूको समूह वृहत हुँदै गयो । बडो राम्रो काममा लाग्नुभएछ भन्दै अपरिचित युवायुवतीहरू पनि बैठकमा आउन थाले । त्यहाँ विद्रोहका कुरा हुन्थे, गन्तव्यका कुरा हुन्थे । त्यही तातो बहसबिच युवतीहरूले चिसो बियर सर्भ गर्न थाले । दुई चार दिनसम्म त गन्तव्य लगायत केही युवकले बियर पिउनमा चाख दिएनन् । किन्तु युवतीहरूको हाउभाउ,  कटाक्ष र सुमधुर मुस्कानले सबैलाई मोहित बनायो । इन्द्रले पठाएकी मेनकालाई देख्दा जसरी ऋषि विश्वामित्र कामुक बनेका थिए, त्यस्तै हालत भयो विद्रोहीहरूको ।

बैठकहरू बसिरहे । छलफलहरू भइरहे । योजनाहरू बनिरहे । बोतलहरू आइरहे । सिगरेटहरू सल्किरहे । प्रेमोन्मादहरू भइरहे । बैठकीय जीवन मनमोहक र रमणीय बनिरह्यो । एउटा यस्तो नशा, जसले गन्तव्यको मार्ग मोडिएको पत्तै नपाउने बनाइदियो । ती विश्वामित्र त तपस्याको बिचमा विचलित भएका थिए । परन्तु यी विश्वामित्रहरू भने तपस्या गर्न वनमा नपुग्दै बाटोमै विचलित भए । ऊ विश्वामित्रलाई विचलित पार्ने एक जना मात्र इन्द्र थियो, किन्तु यी विश्वामित्रलाई विचलित पार्ने इन्द्रहरूको संख्या ठूलो । गन्तव्य टन्न बियर खाएर साँझ अबेर घर पुग्न थाल्यो । बाबुछोरा लगभग सँगै घर पुग्थे । कमरेड भवसागर मदमस्त छोरालाई देखेर दङ्ग पर्थे ।

एक दिनको कुरा हो । त्यो दिन विशेष रमाइलो भयो । खानपिन र प्रेमालापको अन्त्यमा युवतीहरूले सबैलाई सावधान गराए । उन्मत्त अवस्थामै बैठक बस्यो । एक जना युवती उठेर बडो गम्भीर स्वरमा भनिन्, ‘साथीहरू ! हामीसँग भएको सबै पैसा सकियो । अब हुने बैठकमा तपाईंहरूले नै खर्च गर्नुपर्छ ।’  प्रस्ताव सर्वसम्मतिले पारित भयो । गन्तव्य राति अबेर घर पुग्यो । बहिनी विद्रोही उसलाई कुरेर बसिरहेकी थिई । आमा सुधीराले कथा सुन्न नपाएको दस हप्ता पुगेछ । मदोन्मत्त गन्तव्य केही नबोली सोफामा बसिरह्यो । बहिनी विद्रोही दाजुतर्फ हेर्दै अविरल रोइरही । ऊ केही पनि बोलिन । बोल्ने प्रयोजन समाप्त भएको थियो ।

केही समयपछि कमरेड पनि आइपुगे । पितापुत्रको बोलचाल फुकेको थिएन तापनि उनी छोराको सामुन्नेमा गएर बसे । अकस्मात गन्तव्यको मुखबाट निस्क्यो, ‘अभिवादन ड्याड !’  कमरेड भवसागर छोरालाई अङ्गालो हालेर रोए । गन्तव्यले बाबुको आँसु पुछिदियो । उसले भनेको थियो, ‘म ठूलो भूलमा थिएँ ड्याड ! मलाई माफ गर्नुहोस् । अब मैले सबै कुरा बुझें । बरु एउटा कुरा गर्नु थियो ।’ कमरेड भवसागर आज गदगद थिए । उनलाई थाहा थियो, प्रिय पुत्र के माग्दैछ । उनले  भने, ‘भन् छोरा ! तेरो हरेक इच्छा पूरा गर्न कमरेड भवसागर सक्षम र तत्पर छ ।’  गन्तव्यले भनेको थियो, ‘ड्याड ! मलाई मिटिङ खर्च चाहिन्छ ।’

कमरेड भवसागरको हर्षको सीमा थिएन । उनले भनेका थिए, ‘क्याबात छोरा ! आउने चुनावमा तँ  मेयर बन्नुपर्छ ।’

विद्रोहीले चुपचाप कमरेड भवसागर र कमरेड गन्तव्यको ‘समाजवाद’  सुनिरही । उसलाई फिटिक्कै निद्रा लागेन । विद्रोहीले रुँदै रातभरि लगाएर एउटा सुन्दर कथा लेखी । कथाको शीर्षक थियो, ‘जितेको सुद्धोदन र हारेको सिद्धार्थ’ । विद्रोही गन्तव्यको नसा उत्रेको समय छोपेर यो कथा सुनाउने प्रतीक्षा गरिरहेकी छ ।

प्रतिक्रिया